काठमाडौं । बैंक अफ काठमान्डू र लुम्बिनी बैंकले मर्जरपछि बैंक अफ काठमान्डू लुम्बिनीका नामबाट एकीकृत कारोबार सुरु गरिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बैंक अफ काठमान्डू लुम्बिनीको नयाँ कर्पोरेट लोगोको अनावरण गरेपश्चात एकीकृत कारोबार सुरु गरेको हो ।
९ पुस २०७२ मा मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुवै बैंकले नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त आवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकले २६ चैत २०७२ मा मर्जरको लागि सैद्धान्तिक सहमति दिएको थियो । त्यसपछि दुबै बैंकले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी २७ वैशाख २०७३ मा लुम्बिनी बैंकले तथा १७ जेठ २०७३ मा बैंक अफ काठमान्डूले मर्जरसम्बन्धी प्रस्ताव आ–आफ्ना वार्षिक साधारण सभाबाट पारित गराएका थिए । राष्ट्र बैंकले २४ असार २०७३ मा मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरबाट एकीकृत संस्था बैंक अफ काठमान्डू लुम्बिनीको कुल चुक्तापूँजी ४ अर्ब ५७ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुगेको छ । साथै, गाभ्ने बैंक अफ काठमाडौं तथा गाभिने बैंक लुम्बिनी बैंकको सेयर सट्टा अनुपात १ बराबर शून्य दशमलब ८२८१ कायम गरिएबाट एकीकृत संस्थामा ३९ करोड ५५ लाख ३४ हजार ६ सय ८० रुपैयाँको पुँजीगत जगेडा कोषसमेत कायम भएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रयमासको अन्तसम्म बैंक अफ काठमान्डूको कुल निक्षेप तथा कर्जा क्रमशः ४० अर्ब ७२ करोड र ३४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने सोही अवधिमा लुम्बिनी बैंकको कुल निक्षेप तथा कर्जा क्रमशः २२ अर्ब ९४ करोड रुपैयाँ र २० अर्ब ३५ करोड रुपैयाँ रहेको सम्बद्ध स्रोतले जनाएको छ ।
बैंकको सञ्चालक समितिले अध्यक्षमा सत्यनारायण मानन्धरलाई निर्वाचित गरेको छ भने प्रमुख कार्यकारी अधिकृतमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ ।