उत्तर झमकलाई (तिम्रो शान्ति)

उत्तर झमकलाई (तिम्रो शान्ति)

Pashupatiमहाभारतको युद्ध पनि पढिएकै हो
जहाँ लाखौ लाख मान्छे काटिएर
रक्त कुण्डको जगमा हस्तिनापुरमा
धर्मराजको जन्म भएको छ ।
रामायणको युद्ध पनि सुनिए कै हो
जहा हजारौ हजार गिडिएर
रक्त मुच्छेल आहालको जगमा राम राज्य जन्मेको छ ।
हिन्दुस्तान मा और गन्जेव, चङ्गेज खाँ, सिकन्दर, वावर
टिपुसुल्तान र साहजहाको कथा पनि सुनिएकै छ पढिएकै छ
जहाँ लाखौ लाख मान्छेको चिहान खनिएको छ ।
अँग्रेजले भारतमा शासन गर्दा
रानी लक्ष्मीवाई देखि चन्द्रशेखर आजादसम्म
हजारौ हजारको रगत पसिना बगेको छ
करोडौ घरवार विहीन भएका छन्
र असंख्य सिन्दुर पुछिएका नारीका आशुका जगमा
महात्मा गान्धीको जन्म भएको छ ।
अमेरीकामा मान्छेले मान्छेलाई हिजो अस्तिसम्म
किनवेच गर्ने चलन छदै थियो
युरोपमा अस्तिसम्म गोला बारुदको
गन्ध र धुवाले अन्धकार छाएकै थियो
एसियामा एटम वम, अणु वम मानव
बस्तीहरुमा हानिएकै थियो
सिंगो अफ्रिकामा मावनहरुले नारकिय जीवन वाँच्नु परेकै छ
युथोपियामा खान नपाएर मान्छे मरेको मरेकै छ
इजरायल र प्यालेस्टाईन लडेको लडे कै छन
खाडीमा हिसांले मान्छे मरेको मरे कै छ ।
थाहा छ तिमीलाई
न मार्ने कमरेड थिए न त मर्ने नै थिए कमरेड
न तिमीले भने जस्तै शान्ति ।
फगत युटोपियाको शान्तिको कुरा गर्न
कुनै आईवार पर्खनु पर्दैन
आफू सर्वाङ्ग भएर सभ्यताको प्रवचन दिन
कुनै नैतिकताको गीता गाई रहनु पर्दैन
निर्लज्जताको नत कुनै उपदेश छ नत औषधि नै ।
थाहा छ तिमीलाई तिमीले भनेको शान्तिको शहरमा
प्रत्येक घरहरु एक एक चिहान माथि ठडिएका छन्
हेक्का राख ईतिहासमा त्यति मान्छे मारिएका छन् ।
फगत कल्पनाको तरेलिमा कोमल संवेदनालाई खेलाएर
कामनाको मन्दिरमा अगरवत्ति जलाउदैमा
शान्तिको आगमन हुने भए
यहाँ एक थोपा रगत पनि किन बग्थ्यो र ?
त्यसैले यदि सार्थक शान्तिको कुरा गर्ने हो भने
विभेदका पर्खालहरुलाई ध्वस्त पार्नु पर्छ
शोषणको जालोलाई च्यातचुत पार्नु पर्छ
अत्याचारका नङग्राहरुलाई फुकाली दिनु पर्छ
मान्छेले मान्छेलाई घृणा गर्न वन्द गर्नुपर्छ
सबका सबले बाँच्न पाउने अधिकार ग्यारेन्टी गर्नुपर्छ
अनि नत कोही रहरले कमरेड बन्छ ?
नत कोही कमरेड रहरले युद्ध लड्छ ?
अब भो छाडी देउ निरपेक्ष शान्तिको कुरा गर्न
त्यसैले आउँ सार्थक शान्तिलाई पुरा गर्न
त्यसैले आउँ सार्थक शान्तिलाई पुरा गर्न ।।

ईटहरी–५, सुनसरी