महाअष्टमी

महाअष्टमी

कविता

ज्युँदाको करले पुग्दै पुगेन
लासको पनि कर चाहिन्छ
तलबको तरले पुग्दै पुगेन
भत्ताको पनि भर चाहिन्छ
कर उठाऊ टन्न खाऊ
दुई तिहाइको डर देखाऊ
प्रत्येक दिन तिम्रा लागि
दशैँको अष्टमी छ ।

बलिमा चढेका जेन्जीको
कसैले टाउको समाऊ
कसैले हेँकुलो उछिट्याऊ
कसैले मुटुकलेजो
कसैले रगतको
भोज पकाऊ
त्यतिले पुगेन होला
सम्पत्ति बेचेर
अस्पताल भर्ना भएका बिरामी
शिशुकेन्द्रका नानीहरूबाट
सक्दो कर उठाऊ
आफ्नो भत्ता बढाऊ
टन्न खाऊ
तिमीहरूलाई अष्टमी आएको छ ।

भोज गर
मोज गर
कसैले चुइँक्क बोल्यो भने
जेल तिम्रै हातमा छ
नेल तिम्रै साथमा छ
बन्दुक तिम्रै इसारामा चल्छ
चपक्क समाऊ
कैदी बनाऊ
अश्लील गाली
छाडा बोलीको
वर्षा गराऊ ।
अराजक र तर्कहीन
एल्गोरिदम शिक्षाको
हाँगाबिगा र जरा फिजाऊ
सत्ताको भत्तामा राज चलाऊ
जति खानु छ खाऊ
तिमीलाई महाअष्टमी आएको छ
खाऊ र उठाऊ ।
२०८३/०४/०४, मुसीकोट, रुकुम