राष्ट्रियता, प्रतिरोध र सर्वहारा वर्गीय मानवतावादको त्रिवेणी : ‘जङ्गे पिलरहरू’ कवितासङ्ग्रह

राष्ट्रियता, प्रतिरोध र सर्वहारा वर्गीय मानवतावादको त्रिवेणी : ‘जङ्गे पिलरहरू’ कवितासङ्ग्रह

समीक्षा

जङ्गे पिलरहरू (२०६७) प्रगतिवादी कवि पूर्णबहादुर अधिकारी (२०१२) को गद्य कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा कविता, तान्का र हाइकु गरी तीन किसिमका साहित्यिक सामग्री रहेका छन् । प्रस्तुत कवितासङ्ग्रहमा पञ्चायतकालदेखि जनयुद्धोत्तर कालसम्मका सामाजिक, आर्थिक, सामाजिक राजनीतिक विषयवस्तुको प्रस्तुति पाइन्छ । यस सङ्ग्रहमा नेपाली समाजमा विद्यमान वर्गीय असमानताको कलात्मक चित्रण गरिएको छ । समीक्ष्य कवितासङ्ग्रहमा पञ्चायतकालदेखि प्रजातन्त्र पुनर्बहालीकाल र जनयुद्धकालसम्म राज्यले नागरिक र राजनीतिकर्मीमाथि गरेका दमन, अन्याय, अत्याचार, विभिन्न खालका प्रताडनाको यथार्थपरक चित्रण गरिएको छ । नेपालमा विगत लामो समयदेखि जनमुक्तिका लागि लडेका सहिदका सपना बाम नेतृत्व पङ्क्तिका अवसरवादी मानिसका कारण पूरा हुन नपाएका तथ्यको प्रकटीकरण पाइन्छ । नेपाल भूगोलमा सानो भए पनि यसको आफ्नै गरिमा रहेको कविको ठहर छ ।

कवि अधिकारीले कविताका माध्यमबाट राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानका विषयवस्तुको कलात्मक प्रयोग गरेको पाइन्छ । उनका कवितामा जन्मभूमिप्रतिको अगाध श्रद्धाभाव प्रकट भएको पाइन्छ । यस सङ्ग्रहभित्रका धेरै कवितामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’को रागात्मक गायन पाइन्छ । कविले यसअन्तर्गतका कवितामा नेपालका साँध सिमानाका पिलरहरू सारिएर देशको भूगोल साँघुरिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । कविताहरूमा छिमेकी राष्ट्रको हेपाहा र मिचाहा व्यवहारको घोर विरोध गरिएको छ । यस सङ्ग्रहका कवितामा राष्ट्रप्रेमको महिमागान गरिएको पाइन्छ । आलोचनात्मक चेत भएका कवि अधिकारीले कवितामार्फत् सामन्त, शासकवर्ग, साम्राज्यवादी र विस्तारवादी शक्तिका सशक्त प्रतिरोध गरेका छन् । उनका कवितामा नेपालको पारिवारिक राजतन्त्रात्मक शासन पद्धतिको प्रखर विरोध गरेको पाइन्छ । प्रस्तुत कवितासङ्ग्रहका कवितामा नागरिकका उन्मुक्ति र जनवादका लागि प्राणोत्सर्ग गर्ने सहिदका त्याग र बलिदानीको मुक्तकण्ठले प्रशंसा गरिएको छ । वर्गशत्रू विरुद्धका आँट, साहस, मुक्तिगामी चेत, जोदाहापन, र जोखिमपूर्ण सङ्ग्राम लड्ने सहिदहरूलाई ग्रीकको मिथकीय पात्र प्रमिथसको संज्ञा दिइनु उनीहरूकाप्रति उच्च मूल्याङ्कनका साथै सम्मान पनि हो । जनमुक्तिका लागि लड्दै गरेका योद्धालाई तत्कालीन राज्यसत्ताले क्रुर, नृशंस र अमानवीय व्यवहार गरी हत्या गरेकाले तत्कालीन राज्यसत्ताप्रति घृणाको भाव प्रकट भएको छ ।

समीक्ष्य कवितासङ्ग्रह भित्रका कवितामा स्वदेशी तथा विदेशी शासकवर्ग र साम्राज्यवादी, विस्तारवादी शक्ति राष्ट्रका असमान र मानवद्वेषी व्यवहारप्रति वितृष्णाका साथै सशक्त प्रतिरोधी भाव अभिव्यञ्जित भएको छ । पश्चिमा साम्राज्यवादी शक्तिराष्ट्रहरूले सामरिक शक्तिको प्रयोग गरेर मध्य एसियाली राष्ट्रहरूमा प्रभुत्व विस्तार गरी अधीनस्थ राष्ट्रका प्राकृतिक स्रोतसाधनको बेरोकटोक दोहन गरेकाप्रति कविको आक्रोश भाव मुखरित भएको छ । शक्तिराष्ट्रका बलप्रयोगका कारण कमजोर राष्ट्रका बालबृद्ध, वनिता कष्टकर जीवन बाँच्न बाध्य भएका र शान्ति खलबलिएको तथ्यको खोलुवा गरिएको छ । यस सङ्ग्रहभित्रका कवितामा विश्वका कुख्यात, मानवताका कट्टर शत्रूका घटिया र मानवताविरोधी गतिविधिको खुलेर विरोध गरिएको छ । कविले इतिहासमा मानव र मानवताका भद्दा मजाक उडाउने क्रुर शासकहरू अतीतका गर्तमा विलीन भइसकेका तथ्य प्रस्तुत गरेका छन् । उनका कतिपय कवितामा वैश्विक तहमा चिरशान्तिको कामना गरिएको पाइन्छ । हत्या, हिंसा, आगजनी, लुटजस्ता आततायी घटनाहरूले मानवहित नहुने कविको निष्कर्ष रहेको छ । समाज, राष्ट्र र वैश्विक स्तरमा समेत शासकवर्गले आधारमा कब्जा जमाएकाले सामाजिक न्याय हुन नसकेको कविको ठहर रहेको छ ।

कवि अधिकारीले समाज, राष्ट्र र वैश्विक तहका शोषित, उत्पीडित सर्वहारावर्गको सत्ता आवश्यक रहेको कवितामार्फत् बताएका छन् । कविले सर्वहारा वर्गीय मानवतावादको पक्षमा वकालत गरेको पाइन्छ । यस सङ्ग्रह भित्रका कवितामा वर्गविचलन र वर्गहन्ताप्रति रोष प्रकट गरिएको छ । समीक्ष्य कवितासङ्ग्रह भित्रका धेरैजसो कवितामा उत्पीडित, सर्वहारावर्गको हितका लागि सशक्त किसिमबाट कविता रचिएको छ । समीक्ष्य कवितासङ्ग्रहमा ताङ्का शीर्षकमा विविध विषयका १२ वटा ताङ्का समाविष्ट छन् । त्यसैगरी यस सङ्ग्रहमा हाइकु शीर्षकमा फरक फरक विषयवस्तुका १० वटा हाइकु रचिएका छन् । बिम्ब र प्रतीकका प्रयोगले कविताका वैशिष्ट्यमा वृद्धि गरेको छ । कवितामा अन्तरलयको उचित प्रयुक्तिले शब्दनिनादमा वृद्धि गरेको छ । ताङ्का र हाइकुबाहेक ३३ वटा विविध शीर्षकका गद्ध कविता समाविष्ट प्रस्तुत कवितासङ्ग्रह पठनीय र सङ्ग्रहणीय रहेको छ ।