काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आयोजनामा “साम्राज्यवाद र आत्मसमर्पणवाद विरुद्ध संयुक्त प्रतिरोध आन्दोलनको सवाल र क. पुस्पलाल” विषयक विचारगोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले साम्राज्यवाद र दलाल पुँजीपतिवर्गका विरुद्धको संघर्षमा जोड दिएका छन् । नेकपाका संयोजक समेत रहनु भएका लोकनारायण सुवेदीले विषय शीर्षकमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी र र सुझाब राख्ने क्रममा वक्ताहरुले साम्राज्यवाद र दलाल पुँजीपति वर्गका विरुद्धको संघर्षलाई निर्णायक रुपमा अगाडि बढाउन समान विचार राख्ने कम्युनिस्ट पार्टीहरुबिच वृहत् एकतामा समेत जोड दिएका थिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले राष्ट्रिय आत्मसमर्पणवादी र दलाल पुँजीपतिवर्ग एउटै नभएको र नेपालमा साम्राज्यवादविरुद्धको संघर्षको कुरा गर्दा घरेलु प्रतिक्रियावादी वर्ग अर्थात् साम्राज्यवादकै संरक्षणमा रहेको दलाल पुँजीपतिवर्गका विरुद्धको संघर्षमा जोड दिनुपर्ने बताउनु भएको थियो । उहाँले कार्यपत्रमाथि टिप्प्णी गर्दै क्रान्तिविना कम्युनिस्टहरुले भन्ने गरेको शान्ति स्थापित नहुने कुरामा जोड दिनुभएको थियो । उहाँले क्रान्ति र शान्तिको द्वन्द्वात्मक सम्बन्धमाथि चर्चा गर्नुभयो । उहाँले ठोस परिस्थितिको विश्लेषणका आधारमा शान्तिको कार्यनीति लिन सकिने भन्दै बुद्ध जन्मेकै देश भएकोले शान्ति क्षेत्रको प्रस्ताव अगाडि सार्नुपर्ने तर्क र संयुक्त राष्ट्रसंघबाट समेत सहयोग लिने कुरा अलि अमिल्दो भएको टिप्पणी गर्नुभएको थियो । उहाँले आजको साम्राज्यवादी नाइके अमेरिका रहेको र उसका विरुद्ध संघर्ष गर्दा उसैको एउटा संगठनको रुपमा रहेको युएनबाट सहयोग प्राप्त हुने अपेक्षा राखिनु गलत हुने पनि उहाँको तर्क थियो । उहाँले बरु साम्राज्यवादविरोधी पार्टीहरुबिचको सहकार्यलाई वृहत् बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले साम्राज्यवाद तथा क्षेत्रीय प्रभुत्ववादविरुद्धको संघर्ष र वर्गसंघर्ष पुष्पलाल मार्ग निर्देशन रहेको स्पष्ट पार्नुभयो । उहाँले पुष्पलालले अगाडि सारेका नीति त कार्यक्रमको सान्दर्भिकता अझ बढेको चर्चा गर्दै नेपालमा अब संसदवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टी गरी दुईवटा पार्टी भए पुग्ने पनि बताउनु भयो । उहाँले खुल्लमखुल्ला वैदेशीक हस्तक्षेप बढेको र नेपालको राष्ट्रिय स्वधिनता खतरामा परेकोले सबै कम्युनिस्टहरु एक भएर प्रतिरोध गर्नुपर्नेमा जोड दिनु भयो ।
पुष्पलालको ४८ औं स्मृति दिवसको अवसरमा श्रेष्ठले राष्ट्रिय स्वाधीनता, जनताको स्वतन्त्रता र जनजीवीकाका साथै नेपालको परराष्ट्र नीति निर्माणमा पुष्पलालको विशिष्ठ योगदान रहेको चर्चा गुर्नभयो। पत्रकारको एक प्रश्नको उत्तरमा श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर संसदले एकैमतले पारित गरेको नेपालको राजनीतिक मानचित्र कसैले पनि हटाउन नसक्ने बताउँदै भन्नुभयो,“बालेनको केटाकेटी लहडले हटाउन कोशिस गरे गम्भीर रष्ट्रघात ठहर्छ ।”
संयुक्त मोर्चाका संयोजक सन्तबहादुर नेपालीले विगतमा सत्तामा रहँदा कम्युनस्टहरुकै कमजोरीको कारण लामो समयपछि देश ‘घोर दक्षिणपन्थी’हरुको हातमा गएको आरोप लगाउनु भयो। उहाँले देशमा बढ्दो वैदेशीक हस्तक्षेप र सरकारको जनविरोधी कदमकाविरुद्धमा सबै कम्युनिस्टहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यपत्र प्रस्तोता लोकनारायण सुवेदीले राष्ट्रिय स्वाधीनतालाई जोगाउन सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट र आन्दोलित हुनुपर्नेमा जोड दिए । सुवेदीले नेपाली कम्युनिस्ट आन्दोलनका आदर्श तथा संस्थापक वैचारिक नेता पुष्पलालको नीतिको आवश्यकता र महत्व झन बढेर गएको दाबी गरे ।
‘लाखौं–लाख झुपडीको एकता नेपालको राष्ट्रियता हो भने, तिनै झुपडीको हकहित नै जनताको जनवाद हो’ भन्ने पुष्पलालको वैचारिकता नै कम्युनिस्ट आन्दोलनको विषयलाई जनताकोबीचमा पुर्याउनुपर्छ र बुद्धको शान्ति र पञ्चशीलको सिद्धान्तलाई जोडेर लैजानु पर्छ” सुवेदीको भनाइ थियो ।
कार्यपत्रमाथि टिप्पँणी गदै वरिष्ठ अर्थ विज्ञ डा.डिल्लीराज खनालले वर्तमान सरकारले कर आतंक मच्चाएर जनतालाई त्राहीत्राही पारेको जिकिर गर्नुभएको थियो । “आहिलेसम्मका आन्दोलनहरुले नेपालको उत्पादन सम्बन्धमा आमुल परिवर्तन ल्याउन नसकेकोले नेपालको परनिर्भता बढ्दै गयो, जसका कारण देशको अर्थतन्त्र साम्राज्यवादको अधिनस्थ हुँदै गएको छ” डा.खनालले बताउनु भयो।
वरिष्ठ अधिवक्ता डा.दण्डपाणी पौडेलले सुवेदीद्वारा प्रस्तुत कार्यपत्र वर्तमान समयानुसार निकै सान्दर्भिक भएको उल्लेख गर्दै, त्यसलाई थप समृद्ध गरी निर्णायक शान्तिका लागि प्रयुक्त गर्नुपर्नेमा जोड दिनुभयो।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले समग्रमा कार्यपत्र सही रहेको बताउँदै, साम्रज्यवादका विरुद्ध सम्पूर्ण कम्युनिस्ट घटकहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
मोर्चाका घटक तथा नेकपा मार्कसवादी पुष्पलालका अध्यक्ष मानध्वज गुरुङले नेपालको आधारभूत वर्ग ‘किसानका समस्या हाल नभई राष्ट्रका समस्य हल हुँदैन’ भन्ने पुष्पलालको कथनलाई विशेषरुपमा स्मरण गर्नुभएको थियो।
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल घटक नेकपाका सचिवालय सदस्य नारायण शर्माले पुष्पलालका बिचार, नीति र सिद्धान्तलाई सही ढंगले बझेर कार्यान्वयन गर्न सके मात्रै नेपालको परिवर्तनलाई सार्थकता दिन सकिने बताउनु भयो।






























