काठमाडौं । आज मुलुक राष्ट्रियता, जनतन्त्र र जनजीविकाका हिसाबले जर्जर अवस्थामा छ । मुलुकलाई एउटा ग्राण्डडिजाइनमार्फत् भूटानीकरण हुँदै सिक्किमीकरणको दिशामा लैजाने खेलहरु भइरहेका छन् । भर्खरै सम्पन्न नेपाल–भारतका प्रबुद्ध समुहकों बैठकपछि भारतीय प्रबुद्ध समूहका संयोजक भगतसिंह कोसियारीले दिएका दुईवटा अभिव्यक्तिले यो डिजाइनतर्फ संकेत गरेको छ । उनले भनेका छन्– ‘भारतीय शासकवर्ग नेपाललाई भूटानजस्तै खुसी देख्न चाहन्छ । भारत नेपालको सीमामा जंगे पिल्लर राख्न नपरोस् भन्ने चाहन्छ ।’ यी भनाइ निकै गम्भीर प्रकृत्तिका छन् । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वभीमानमाथि आँच आउने कोसियारीले यति ठूलो आक्रमण गर्दा पनि कतैबाट त्यसको संस्थागतरुपले विरोध नहुनु बडो विडम्बनापूर्ण स्थिति छ ।
मुलुकलाई एउटा ग्राण्डडिजाइनमार्फत् भूटानीकरण हुँदै सिक्किमीकरणको दिशामा लैजाने खेलहरु भइरहेका छन् ।
हाम्रो दक्षिणी छिमेकी असाध्यै दुष्ट छ । नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न र नेपालको परराष्ट्र नीति आफूले भनेजस्तो गरी संचालन गर्न गराउन ऊ नेपालमा सुक्ष्मतहसम्ममा हस्तक्षेप बढाइरहेको छ । उसले नेपालमा राजनीतिक पार्टी, नेता, कर्मचारी, प्रहरी प्रशासन, नेपाली सेना, पत्रकार, वकिल लगायत सबै ‘प्रोफेसन’भित्र दलालहरु पैदा गराएर ती सबै निकायलाई आफ्नो स्वार्थनुकूल ‘प्रयोग’ गर्दै आएको छ । यसैकारण ००७ सालयता नेपालको राजनीतिमा स्वतन्त्र धारको विकास हुन सकेको छैन । मुक्ति सेना बनाएर लडेको कांग्रेसदेखि जनमुक्ति सेना बनाएर लडेको माओवादीसम्मको नेतृत्वमा भएका संघर्षहरु अन्ततः भारतीय शासकवर्गको स्वार्थमै अल्झिएर विसर्जित हुन पुगे । पछिल्लो कालखण्डमा नाकाबन्दीदेखि मधेश आन्दोलनसम्म भारतको अमानवीय व्यवहारबाट आम नेपाली भुक्तभोगी छन् ।
नेपालमा राष्ट्रिय पुँजीको गला भारतीय एकाधिकार पुँजीले निमोठेको छ । जसरी स्वतन्त्र राजनीतिले स्थान ओगट्न सकेको छैन, त्यसैगरी राष्ट्रिय पुँजीलाई पनि टाउको उठाउन दिएको छैन । ‘राजनीतिक क्रान्ति सकियो, अब पालो आर्थिक क्रान्ति’ भनेर चिच्याउनेहरुमा प्रायः भारतकै दलालहरुको बिगविगी छ । राष्ट्रिय पुँजीको विकास नगरी कसरी नेपालमा आर्थिक विकास सम्भव छ ? राष्ट्रिय पुँजीको विकास गर्न भारतीय एकाधिकार पुँजी अर्थात् दलाल पुँजीलाई नियन्त्रणसहित निषेध गर्न अनिवार्य हुन्छ । खोइ त्यस विषयमा कोही बोलेको ? जग नबसाल्ने अनि घर बनाउने भनेर हल्ला गर्नेको कुरा पत्याउने आधार के ? नेपालको आजको शताब्दीमा जुन दुर्गती छ, त्यसको मुख्य कारक भनेको भारतीय एकाधिकार पुँजीवाद हो र त्यो एकाधिकार पुँजीलाई नेपालमा भित्र्याउने र मलजल गर्ने भारतीय दलालहरु नै हुन् । सत्ता फेरबदलमा पनि भारतीय एकाधिकार पुँजीवादले नै भूमिका खेलिरहेको छ ।