काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई धोका दिएको भन्दै ओलीले दाहाललाई प्रधानमन्त्री नबनाउने दाउमा कांग्रेस फुटाउने प्रयत्न गरेका छन् ।
तर ओलीले बुधबार टेलिफोनमार्फत् गरेको त्यस्तो प्रस्ताव आफूलाई पौडेलले अस्वीकार गरिदिएका छन् । उनले सदासयताका लागि ओलीलाई धन्यवाद दिएको बताए । दाहाललाई देखाइदिन भन्दै ओलीले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेका थिए । पौडेलले भने आफू पार्टीको सिपाही भएकाले पार्टी निर्णय विपरित नजाने जवाफ दिएको बताए ।
प्रधानमन्त्री ओलीले पौडेललाई जस्तै कांग्रेस सभापति शेरवहादुर देउवालाई पनि प्रधानमन्त्री बन्न समर्थन गर्ने प्रस्ताव गरेका थिए । देउवाले अवस्वीकार गरेपछि ओलीले पौडेललाई फकाएका हुन् ।
कांग्रेसकै समर्थनमा माओवादी केन्द्र ओली नेतृत्वको सरकारबाट मंगलबार बाहिरिएको छ । माओवादी अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय कांग्रेसले बुधबार सर्वसम्मत रूपमा गरिसकेको छ । पार्टीको संस्थापन पक्षले आफू अल्पमतमा परीसकेपछि ओलीले पौडेललाई प्रधानमन्त्रीको प्रस्ताव गरेर कांग्रेस भित्रै खेल्न खोजेको आरोप लगाएको छ ।
एमाले संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री ओलीले विहीबार मात्रै संसदीय दलको बैठकमा केही दिनमा ठूलो खेल हुन सक्ने भन्दै उनले आफूले उपयुक्त कदम चाल्ने जानकारी गराएका थिए ।