काठमाडौं । प्रा.डा. गोविन्द केसीले सुरु गरेको आठौं पटकको अनशनप्रति अनेरास्ववियू (क्रान्तिकारी) ले ऐक्यवद्धता जाहेर गरेको छ ।
क्रान्तिकारीका केन्द्रीय संयोजक सेवन्तराज भण्डारीले विहीबार अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर केसीको अनसनप्रति ऐक्यवद्धता जनाएका हुन् ।
उनीहरुले केसीको आठौ पटकको अनशनस्थलमा उपस्थित भई उनको अनशन र उनले उठाएका जायज मागहरुप्रति पूर्ण समर्थन र ऐक्यवद्धता जाहेर गरेका छन् । स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा रहेको विसंगति र विकृति अन्त्यका लागि डा. केसीले ५ दिन अघिदेखि आमरण अनशनमा छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘न्यायोचित उद्देश्यसहित सुरु गरिएको अनशनप्रति राज्य र त्रि.वि. प्रशासनले देखाएको रबैयाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण समेत भएको छ ।
के.सी.लाई त्रि. वि. शिक्षण अस्पताल प्रशासनले अनशन बस्ने स्थान नदिने र आमरण अनशनमा बसेको बेला स्लाइन पानी जस्तो सामान्य चिकित्सकीय सुविधासमेत नदिन गरेको हर्कतप्रति हाम्रो घोर आपत्तिसमेत रहेको छ’ ।
यसका साथै डा. के.सी.ले उठाएका जायज मागहरु अबिलम्ब सम्बोधन गर्न र उनको जीवन रक्षाका लागि आवश्यक कार्य गर्न सरकार र सरोकारवाला पक्षहरुसँग जोडदार आग्रह पनि गरेको छ ।