‘रगतले इतिहास लेख्नेहरु’नामक पुस्तक यतिबेला बजारमा आएको छ ।
चितवनका लेखक कमरेड नारायण शार्मा विपिनले सम्पादन गर्नु भएको यो पुस्तक मलाई पनि सरसरती अध्ययन गर्ने अवसर मिल्यो । यो पुस्तकले चितवन जिल्लामा जनयुद्धमा भएका बलिदान, त्यतिबेलाका शासकहरुले दिएको यातना, पीडाहरु स–विस्तार उल्लेख गरिएको छ । यसबाट जनयुद्धलाई समाप्त गर्न त्यतिबेलाका शासकहरुले देखाएको कुरुर व्यवहार स्पष्ट बुझ्न सकिन्छ । गणतन्त्र प्राप्तिको निम्ति बगेको रगतको मुल्य बुझ्न पनि कमरेड विपिनको सम्पादनमा तयार भएको पुस्तक अतिनै महत्वपूर्ण छ र एकपटक युवावर्गहरुले समेत पढ्न आवश्यक छ । यो पुस्तकमा मोटामोटी चितवनकै मात्र घटनाहरु समावेश छन् । तर जनयुद्धमा बगेको रगत र बलिदानको उच्च सम्मानका लागि यस्ता पुस्तकहरु हरेक जिल्लाबाट प्रकाशन हुनु पर्दछ भन्ने पनि आभास यो पुस्तकले गराएको छ । नेपालमा जनयुद्ध एउटा विषेश युद्ध थियो र यो जनयुुुद्ध वास्तविक श्रमजीवी वर्गका निमित्त थियो भन्ने इतिहास अबकोे पुस्तालाई समेत बुझाउन यो एउटा महत्वपूर्ण ग्रन्थ बनेको छ । पुस्तकमा जनयुद्धमा सक्रिय रुपले सहभागि हुनु भएका व्याक्तिहरुको रचनाका साथै धेरै ठाउँमा पीडितहरु सँग प्रत्यक्ष संवाद गरेर रचना तयार पारिएको छ । त्यसैले यहाँ उल्लेख गरिएको विषयहरु सत्य तथ्यमा आधारति छन् भन्ने आधार छन । नेपालको पछिल्लो पिढी र जनयुद्धमा सहभागि नै नभएका युवाहरुले त्यतिबेलाका शासकहरुबाट भएको हत्या र जनयुद्धमा सहभागि भएका व्यक्तिहरुको अमानविय तरिकाले गरेका हत्याका घटनाहरु बझाउन यो पुस्तक सहयोगी बनेको छ । मुलुक परिवर्तनका लागि जनयुद्धमा सहभागी नागरिकहरुको बलिदानी र यातनाको वर्णनले जिउनै सिरिङ हुन्छ । यो पुस्तकमा अनेकौ प्रकारका पीडाका बाबजुद पनि केहि सहिद परिवारले कुनै दिन हिसाब किताब त होला भनि अझै पनि आशा गरेको पनि देखिन्छ । उहाँहरुको आशाले हामी जनयुद्धमा सहभागी भएर अहिले सम्म पनि जनयुद्धले उठाएका मुद्दाहरु पुरा गराउने लक्ष्य सहित निरन्तर आन्दोलनमा होमिएका मान्छेहरुलाई समेत गर्वको अनुभूति गराएको छ । नेपालको जनयुद्ध विशेषगरी चितवनको राजनीतिक इतिहास बुझ्न चहानेहरुको लागि यो एउटा महत्वपूर्ण ग्रन्थ हो । यो ग्रन्थ कमरेड विपिनको अत्यधिक मिहिनेत र संघर्षबाट प्रकाशनमा आउन सफल भएको गहिरो रुपमा महसुस भएको छ । जनयुद्धको इतिहास स्वर्णिम अक्षरले लेख्ने तिव्र इच्छा विना यो काम सम्भव नै हुने थिएन । अब यसैको माध्यमबाट चितवनको जनयुद्धको इतिहासलाई भावि पिढिले पनि अध्ययन गर्ने अवसर पाउने छन् । हजारौँको बलिदनी र दुःखले गरिएको जनयुद्धको नेतृत्व गर्ने चितवन जिल्लाकै प्रचण्डले कसरी जनयुद्धलाई धोका दिन सके होलान् भन्ने प्रश्न पनि यो पुस्तकले जुगौ जुग गरिरहने छ । आज त्यहि नेतृत्व व्याक्तिगत र परिवारिक रुपले भौतिक सुख, सुविधा, मोजमस्तीको स्वार्थमा चुलुम्ब डुवेको देख्दा विगत देखि अहिलेसम्म अनेकौं प्रकारका पीडा भोगिरहेका सहिद परिवारलाई कति पीडा हुदो हो । यो पुस्तक पढी रहदा रेणु दहालको पनि सम्झना आयो । यति धेरै वलिदानको जगमा खडा भएको चितवन जिल्लाकै स्थानिय तह भरतपुरमा विजय भएर मेयरको अवधी नै नसकि सांसद बन्ने लोभमा जनताप्रति आफैले गरेको प्रतिबद्धता माथि धोका दिदै सांसदमा किन उठनु परेको होला ? निछोडमा भन्नु पर्दा ४३९ पृष्ठमा धेरै लेखकहरुले जनयुद्धमा आधारित रहेर लेख्नु भएको पुस्तक कमरेड विपिनले तयार पार्नु भएको रहेछ । यो पुस्तक चितवनको राजनीति र जनयुद्ध बुझ्न चहानेहरुको लागि वर्तमान अवस्थामा मात्र होइन युगौ युग सम्म महत्वपूर्ण हुनेछ । अन्त्यमा विराटनगर सम्म आएर निशुल्क रुपमा यो पुस्तक उपलब्ध गराइदिनु हुने कमरेड जय दाहाल प्रति पनि विशेष धन्यवाद छ ।
































