राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

women volleyballकाठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । यस क्रममा एपिएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो ।

प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भइन् । उनले रु १५ हजार र बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट प्राप्त गरिन् ।

त्यस्तै प्रतियोगितामा न्यू–डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक, एपिएफका क्रमशः नेविका चौधरी उत्कृष्ट सर्भर, उषा विष्ट उत्कृष्ट ब्लकर, विनिता बुढाथोकी उत्कृष्ट सेटर तथा पुलिसकी कमला पुन उत्कृष्ट डिफेन्स भए ।

त्यसैगरी, उत्कृष्ट प्रशिक्षकको ट्रफी विजेता एपिएफका सुदेशकुमार रिमालले जिते । साथै तेस्रो स्थानका लागि आजै भएको अर्को खेलमा न्यू–डायमन्डले पश्चिमाञ्चल भलिबल टिमलाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हरायो । विजेता एपिएफले रु एक लाख, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको डायमन्डले ४० हजार रुपैयाँ प्राप्त गरे ।

असार १२ देखि सुरु भएको प्रतियोगितामा विभागीय टोली एपिएफ, पुलिस, त्रिभुवन आर्मी क्लब, न्यू–डायमन्ड, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गरेका थिए ।
एपिएफ प्रतियोगिताको साविक विजेता हो । गत वर्ष पहिलो संस्करणको फाइनलमा एपिएफले न्यू–डायमन्डलाई हराएको थियो ।