हतारमा एकीकरण वा ध्रुवीकरणको प्रक्रियामा नजाने वैद्य माओवादीको निश्कर्ष

हतारमा एकीकरण वा ध्रुवीकरणको प्रक्रियामा नजाने वैद्य माओवादीको निश्कर्ष

mohan-baidya-national-convensionकाठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तत्कालिन एमाओवादीसँगको एकताबारेको छलफलबाट धोका भएको निश्कर्ष निकाल्दै हतारमा एकीकरण र ध्रुविकरणको प्रक्रियामा नजाने निर्णय गरेको छ ।

असार ६ गतेदेखि तीन दिनसम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले माओवादी केन्द्रको एकता खारेज गरिएको जनाएको छ ।
उसले प्रचण्ड माओवादीलाई दक्षिणपन्थी नवसंशोधनवाद मात्र होइन, पश्चगामी दिशातिर अग्रसर भइरहेको आरोप समेत लगाएको छ ।

पहिलेदेखि प्रस्तुत गरिंदै आएका सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक मान्यताका आधारमा सच्चा कम्युनिस्टहरूसहित क्रान्तिकारी माओवादी शक्तिका बिचमा सिद्धान्ततः एकीकरण र ध्रुवीकरण हुनसक्ने मान्यतालाई भने स्वीकार गरिएको पार्टी अध्यक्ष मोहन वैद्यले बताए ।

तर ती शक्तिसित पनि सिद्धान्त तथा कार्यदिशाबारे समान धारणा नबन्दासम्म हतारमा एकीकरण वा ध्रुवीकरणको प्रक्रियामा संलग्न नबन्ने ठेगान गरिएको छ ।

संविधान प्रतिक्रियावादी रहेको ठहर
क्रान्तिकारी माओवादीको राष्ट्रिय भेलाले असोज ३ गते जारी गरिएको संविधान प्रतिक्रियावादी रहेको ठहर गरेको छ ।
संविधानमा उल्लेखित गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका विषय अङ्शतः सकारात्मक रहे पनि समग्रमा यो संविधान प्रतिक्रियावादी नै रहेको कुरा पुनः ठहर गरिएको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधान प्रतिक्रियावादी रहेको भन्दै राज्यसत्ता, संविधान तथा संसदीय व्यवस्थाको विरोध तथा भण्डाफोर गर्नुपर्ने आवश्यकतामाथि भेलाले जोड दिएको विज्ञप्तिमा जनाइएको छ ।   
फागुनमा राष्ट्रिय सम्मेलन  
माओवादी भेलाले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने पनि निर्णय गरेको छ । भेलामा पारित भएको अध्यक्ष वैद्यको प्रतिवेदन बहसका लागि खुल्ला गरिएको र आगामी महाधिवेनबाट समृद्ध गरिने निश्कर्ष निकालिएको छ ।
तालीवान आतंकवादी
वैद्य माओवादीले तालिवान विद्रोहीहरुलाई आतंककारीको संज्ञा दिएको छ ।
अफगानिस्तानको राजधानी काबुल नजिकै नेपाली सुरक्षा गार्डमाथि भएको आत्मघाती हमलामा परी १२ जना नेपालीको मृत्यु भएको घटनालाई आतंककारी हमला भन्दै हत्याको भत्र्सना गरेको छ ।
मृतकका परिवारजनहरूलाई अविलम्ब उचित राहतको व्यवस्था गर्न वैद्य माओवादीले माग गरेको छ ।