काठमाडौं । प्रचण्ड र राजेन्द्र महतोका नेता बाबुरामको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
पूर्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीलाई एक गर्ने भन्दै नेकपा माओवादी केन्द्र बनाए पनि आफ्नै पार्टीका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्न थालेका छन् ।
सबै कार्यकर्तालाई खुशी पार्न भन्दै केन्द्रीय सदस्य थप गरी एक हजार ४ सय ९९ सदस्यसम्म पुर्याउँदा समेत नेता कार्यकर्ता आफूसँग टिक्न सकेका छैनन् । विहीबार मात्रै माओवादी केन्द्रका केन्द्रीय सदस्यले प्रचण्डलाई छाडेर भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेका छन् । प्रचण्ड माओवादीको प्रभावशाली मानिएका किरणकुमार साहले पार्टी परित्याग गरी नयाँ शक्तिमा गएका छन् ।
यस्तै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका उपाध्यक्ष तथा पूर्व सभासद शिवचन्द्र कुशवाहा पनि बाबुरामको नयाँ शक्तिमा प्रवेश गरेका छन् । उनीहरुसहित तीन दर्जनभन्दा धेरै नेता तथा कार्यकताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा विहीबार कार्यक्रम गरी भट्टराईले उनीहरुलाई आफ्नो पार्टीमा भित्राएका हुन् ।
नयाँ शक्तिमा प्रवेश गरेका नेता कार्यकर्ताको स्वागत गर्दै भट्टराईले प्रचण्डलाई ड्यास दिन पनि भ्याए । प्रचण्डले आफू एक नम्बर पार्टीको नेता बन्ने भन्दै बादल, पम्फाहरुलाई हुले पनि भट्टराईले पनि नयाँ शक्ति पहिलो पार्टी बनेर समृद्धिको दिशामा अघि बढ्ने बताए ।