मोहन वैद्य ‘किरण’
एमाओवादीसँगको विभाजनपछि पनि दुई–दुई पटक फुटको सामना गर्नुभयो । पछिल्लो विभाजनका कारण र कारक के र को हुन् ?
हो, हामीले एमाओवादीसँगको विभाजनपश्चात् दोस्रो ठूलो दुई लाइनसङ्घर्ष तथा फुटको सामना गर्दै अगाडि बढ्नुपरेको छ । पछिल्लो विभाजनका मूल कारण र कारकका रूपमा हामीले सर्वप्रथम त पार्टीमा विद्यमान निम्न पुँजीवादी वर्ग आधार, चिन्तन तथा प्रवृत्तिलाई नै लिनुपर्दछ ।
यो चिन्तन तथा प्रवृत्ति निकै ढुलमुल तथा अस्थिर बन्दै आत्मसमर्पण तथा पलायनको दिशातिर अग्रसर हुन पुग्यो । दोस्रो, हाम्रो पार्टीमा त्यसप्रकारको निम्न पुँजीवादी प्रवृत्ति तथा चिन्तनको छिद्रबाट दक्षिणपन्थी नव–संशोधनवादले घुसपैठ गर्ने अवसर पायो । तेस्रो, हाम्रो पार्टीको क्रान्तिकारी धारालाई ध्वस्त पार्नका लागि देशी तथा विदेशी वर्गदुश्मनहरूबाट धेरै चलखेल पनि भए । यी सबैको समग्रतामा पार्टी यसरी विभाजित हुन गयो ।
दक्षिणपन्थी अवसरवादको पहिचान साधारण जनताले कसरी गर्न सक्छन् ? यसका मूल विशेषता के हुन् ?
सुरुमा त सर्वसाधारण जनताका लागि दक्षिणपन्थी संशोधनवादलाई पहिचान गर्न गाह्रै हुन्छ । किनभने यसले रूपमा क्रान्ति तथा जनताको नाम जप्ने नै गर्दछ । अनि यसले आफूलाई जनताको बिचमा लोकप्रिय बन्दै आएको कम्युनिस्ट साइनबोर्डले विभूषित तुल्याएकै हुन्छ । तर पनि अन्ततः यसलाई जनताले ठम्याएरै छाड्दछन् । मोटामोटी रूपमा दक्षिणपन्थी अवसरवादका विशेषतालाई यसरी प्रस्तुत गर्न सकिन्छ :
पहिलो, दार्शनिक रूपमा यसले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र वर्गसङ्घर्षलाई परित्याग गरी वर्गसमन्वयवादको मान्यता अङ्गाल्दै विजातीय विश्वदृष्टिकोण एवम् वर्गदुश्मनसितको एकतामा विशेष जोड दिन्छ । दक्षिणपन्थी संशोधनवादले भौतिकवादी द्वन्द्ववादको विरोधमा सारसङ्ग्रहवादलाई स्वीकार गर्दछ ।
सारसङ्ग्रहवाद यस्तो चिन्तन हो जसले विभिन्न अनमेल विचार, दृष्टिकोण, सिद्धान्त तथा अभिमतलाई एकै ठाउँमा मिसाई खिचडी पकाउने काम गर्दछ । यसै चिन्तन र पद्धतिको सहारामा दक्षिणपन्थीहरूले माक्र्सवाद र प्रतिक्रियावादलाई एउटै ठाउँमा मिसाएर पेश गर्दै आएका छन् । यसरी नै यसले भँडुवा विकासवाद र बहुलवादलाई पनि अवलम्बन गर्दछ ।
दोस्रो, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा दक्षिणपन्थी अवसरवादले वर्गसङ्घर्ष र उत्पादन सम्बन्धमा क्रान्तिको सिद्धान्तलाई परित्याग गरेर वर्गसमन्वयवाद र उत्पादक शक्तिको सिद्धान्तलाई अवलम्बन गर्दछ । यसले समाजको पुरानो आर्थिक आधारलाई ध्वस्त पार्ने नभई बचाउने काम गर्दछ ।
तेस्रो, राजनीतिका क्षेत्रमा यसले वैज्ञानिक समाजवादका विरुद्ध सुधारवादी तथा अन्ततः प्रक्रियावादी समाजवादको पक्षपोषण गर्दछ । यो नयाँ जनवाद तथा सर्वहारा जनवादको विरोधमा निर्वर्गीय तथा विशुद्ध जनवाद र प्रतिक्रियावादी वर्गको अधिनायकत्वको पक्षपाती रहेको छ । यसले बलप्रयोगको सिद्धान्तका विरुद्ध शान्तिपूर्ण सङ्क्रमण र संसदीय बाटोलाई स्वीकार गर्दछ ।
समग्र र सारमा यसले वर्गसङ्घर्ष तथा उत्पीडित वर्ग एवम् जनसमुदायको राज्यसत्ताका विरुद्ध वर्गसमन्वयवाद, वर्गीय तथा राष्ट्रिय आत्मसपर्मणवाद र अन्ततः प्रतिक्रियावादकै शरणमा पुग्ने काम गर्दछ । वर्तमान साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादका बिच अपवित्र लगनगाँठो कसिएको हुन्छ । यी सबै विशेषताहरूलाई हेर्न हामी टाढा जानु पर्दैन, नेपालभित्रकै नाङ्गा दक्षिणपन्थी र नयाँ कलेवरमा प्रस्तुत छद्म अवसरवादीहरूको चर्तीकला हेरे छर्लङ्गै बुझिन्छ ।
अहिले बनेको माओवादी केन्द्रभित्र (सार) र बाहिर (रूप) के हो ?
भर्खरै हामीले दक्षिणपन्थी अवसरवादका विशेषताबारे जुन कुरा उल्लेख ग¥यौं, ती सबै माओवादी केन्द्रमा पनि पाइन्छन् । नेकपा (माओवादी केन्द्र) ले आफूलाई कम्युनिस्ट पार्टी तथा माओवादीको कलेवर अर्थात् रूपमा प्रस्तुत गरेपनि सारमा यसले कम्युनिज्मका सिद्धान्त तथा आदर्शसहित माक्र्सवाद–लेनिनवाद–माओवादलाई परित्याग गरिसकेको छ ।
दार्शनिक फाँटमा यसको प्रिय पद्धति सारसङ्ग्रहवाद हो । यसै पद्धतिलाई अपनाएर दक्षिणपन्थीहरूले माक्र्सवाद र पुँजीवादलाई, जनताको जनवाद र लोकतान्त्रिक गणतन्त्रलाई, वैज्ञानिक समाजवाद र सुधारवादी समाजवादलाई एउटै ठाउँमा मिसाई खिचडी पकाउने काम गरेको छ । दक्षिणपन्थी नव–संशोधनवादले प्रतिक्रियावादी तथा अवसरवादीहरूसित घाँटी जोडेर वर्गसमन्वयवाद तथा सम्झौतावादलाई अङ्गाल्दै आएको कुरा स्पष्ट नै छ । अब यसका लागि बहुलवाद र भँडुवा विकासवाद प्रिय पनि बन्न गएका छन् । रूपमा जति जादुगरी ढङ्गले प्रस्तुत हुन खोजे पनि सारमा यो विजातीय कित्तातिर नै अग्रसर बन्दै गएको छ ।
बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल नि ?
बाबुराम भट्टराईद्वारा नयाँ शक्ति नेपालको गठन गरेर घोषित रूपमै माक्र्सवाद र साम्यवादलाई परित्याग गर्ने कामलाई पूर्णता दिइएको छ । नयाँ शक्ति नेपाल कम्युनिस्ट आन्दोलन र माओवादी कित्ताभित्र परेन । सुरुमा भट्टराईद्वारा नयाँ जनवादको विरोध र विकल्पमा लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यक्रम तथा कार्यदिशा ल्याइयो । अनि त्यसपश्चात् माक्र्सवाद र नव–उदारवादलाई एउटै ठाउँमा मिसाएर सारसङ्ग्रहवादी खिचडी पकाउने काम गरियो ।
त्यसको अन्तिम परिणाम माक्र्सवादकै परित्याग हुन गयो । अब डा. बाबुरामका लागि वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, संविधान तथा संसदीय व्यवस्था नै सबैथोक बन्न गएका छन् । अब बाबुरामका लागि सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवाद र दक्षिणपन्थी संशोधनवाद सबै मित्र बनिसकेका छन् । अब बाबुरामसित देश र जनताको मुक्तिका कुनै पनि आदर्श र सपना बाँकी रहेका छैनन् ।
क्रान्तिकारी माओवादीले अङ्गीकार गरेको दर्शन बुझ्ने र बदल्ने माक्र्सवादी दर्शन हो । तपाईंको बुझाइमा अहिलेको विश्व के हो ?
हाम्रो पार्टीले अवलम्बन गर्दै आएको दर्शन माक्र्सवादी दर्शन हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन भनिन्छ । यसले विश्वलाई बुझ्ने मात्र होइन, मुख्यतः बदल्ने कुरा गर्दछ । वर्तमान विश्वलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको रूपमा बुझ्नुपर्दछ । आज विश्वमा साम्राज्यवाद प्रभुत्वशाली अवस्थामा रहेको छ भने सर्वहारा क्रान्ति कमजोर स्थितिमा । परन्तु, यो अस्थायी वा क्षणिक कुरा हो । किनभने वित्तीय पुँजीको सङ्कटको अन्तिम समाधान साम्राज्यवादसित होइन, सर्वहारा क्रान्तिसित मात्र छ ।
यद्यपि आज साम्राज्यवादले नव–उपनिवेशवादी हस्तक्षेप तथा नवउदारवादी अर्थनीतिका आधारमा उत्पीडनको प्रक्रियालाई तीव्र बनाइरहेको छ र विद्युतीय सूचना प्रविधिको विकासबाट फाइदा उठाई भूमण्डलीकृत बन्न गएको छ । परन्तु, सूचना प्रविधिको यो विकास उत्पादक शक्तिको विकास हो र यसले नयाँ उत्पादन सम्बन्धको माग गर्दछ । त्यो माग सर्वहारा क्रान्तिले मात्र पुरा गर्न सक्तछ । आज साम्राज्यवाद आपसी कलह, श्रम तथा पुँजी र मुख्यतः उत्पीडित राष्ट्रहरूसितको अन्तर्विरोधमा फँस्तै गएको छ । आजको आवश्यकता भनेको भूमण्डलीकृत रूपमा सर्वहारा क्रान्तिको पनि सचेत तथा योजनाबद्ध ढङ्गले तयारी गर्नु हो ।
वर्तमान नेपाललाई कसरी बुझ्न सकिन्छ ?
नेपाल अझैपनि अर्धसामन्ती तथा अर्ध/नवऔपनिवेशिक अवस्थामा छ । दश वर्षको महान् जनयुद्धका बिचबाट नयाँ जनवादी क्रान्तिलाई सशक्त रूपमा अगाडि बढाइए पनि अन्ततः पार्टीमा दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा हुनुको कारण क्रान्तिले गम्भीर धक्का खाएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरूको समाधान हुन सकेको छैन ।
वर्तमान संविधानमा उल्लिखित गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता लगायतका विषय सकारात्मक रहेपनि सारमा राज्यसत्ता दलाल तथा नोशरशाही पुँजीपति एवम् सामन्तवर्गको हातमा रहेको छ । देश साम्राज्यवाद/विस्तारवादको नव–उपनिवेशवादी उत्पीडन र नव–उदारवादी अर्थनीतिको शोषणको जञ्जीरमा फँसेको छ । तर, यो स्थिति अस्थायी नै हो । देश तथा जनतालाई यसप्रकारको शोषण तथा उत्पीडनबाट मुक्त गर्नका लागि यहाँ देशभक्त शक्ति तथा कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा क्रियाशील रहिआएको कुरा पनि सुस्पष्ट नै छ ।
बुझाइपछि बदल्ने वा विकल्पको कुरा आउँछ । वर्तमान नेपाल जनवादी वा समाजवादी कुन मोडलमा बदलिन्छ ?
अर्धसामन्ती तथा अर्ध÷नवऔपनिवेशिक अवस्थामा रहिआएको नेपाललाई बदल्नका लागि सर्वप्रथम नयाँ जनवादी र त्यसपश्चात् समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्दछ । देशको सामाजिक–आर्थिक अवस्था केही बदलिंदै गएको, नव–औपनिवेशिक उत्पीडन तथा नव–उदारवादी हस्तक्षेप तीव्र भएको र विस्तारवादी प्रभुत्व चरम बन्दै गएको वर्तमान स्थितिमा नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तथा विकसित तुल्याउन आवश्यक देखिन्छ ।
यसलाई बदल्नका लागि वर्गसङ्घर्षको स्वरूप कस्तो हुन्छ ?
देशलाई उक्त प्रकारको अवस्थाबाट बदल्नका लागि सङ्घर्षका विविध रूपहरूको प्रयोग जरुरी हुन्छ र अन्ततः बलप्रयोगको भूमिका अनिवार्य हुन्छ । दीर्घकालीन जनयुद्ध वा सशस्त्र जनविद्रोहका मोडेललाई यथावत् र यान्त्रिक दुवै ढङ्गले प्रयोग गर्न सकिदैन । त्यस्तो प्रयोग नेपाली समाजको विशेषता, सिर्जनशीलता र मौलिकतामा निर्भर हुन्छ ।
हामीले सशस्त्र सङ्घर्षको स्वरूपको प्रश्नमा सिद्धान्ततः यो वा त्यो भनेर हात बाँध्नु हुँदैन । परन्तु, वर्तमान नेपाली विशिष्टताहरूको गम्भीर अध्ययन गरी नेपालको इतिहासमा विकसित हुँदै आएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष एवम् दश वर्षको महान् जनयुद्धका अनुभव तथा आधारमाथि टेक्तै र थप विकसित अवस्थामाथि पनि आवश्यक ध्यान दिंदै नेपाली विशिष्टतामा आधारित जनविद्रोहको तयारीको काममा जोड दिनुपर्दछ ।