पश्चिमी वायु

पश्चिमी वायु

कविता

जब मौसममा
उतार चढाव आउँछ
दाउ हेरेको पश्चिमी वायु
चोर बाटोहुँदै भित्रिन्छ
जाडो निम्त्याउँछ
दिमाग चक्कराउँछ
मौका खोजेर पसेको
यो बिषालु हावा
हिमालको हिउँमाथी
जङ्गलका जरबुटामाथी
हाम्रा सम्पदाका अमूल्य श्रोत
आखेट र पत्थरमाथी
दागा धर्छ
¥याल काढ्छ
भित्रिएपछी पश्चिमा वायु
रूप रङ फेर्छ थरिथरी
झस्किनु पर्छ घरीघरी
मेरो सनातनी वातावरणमा
ढाल फाल्छ जाल हाल्छ
खोकिलामा भाङ बोकेर
रखवारेलाई लठ्याउँछ
एक दुई सेता हात्ती पट्याउँछ
ढाड मुसारेर नक्कली माया
मुटु कलेजो चुसेर अपनवायु फाल्छ
दुषित हावाको नमिठो गन्धले
मेरो अपनत्वमाथी घरीघरी बिष पोख्छ
यो बिषाक्त हावाले
स्वभिमान बाँच्न दिँदैन
छिर्के दाउ हेरेर
मेरो स्वत्वमाथी दरार केलाउँछ
चोर ढोकाबाट छिरेको
बिषालु भतुवा स्याँठले
मुटु दुखाउँछ, द्वन्द्व बढाउँछ
बुझ्नै पर्नेछ उसको नियत
बिषालु स्याँठ फैलन नदिउँ
आगो फुकौँ साथी हो
आगो उमारौँ ।