मलाई सुन्दर बनाउने,
मेरो अनुहारमा ओझेल परेको उज्यालो प्रज्वल्लित गर्ने
तिम्रा कलात्मक हातहरू कहाँ विलाए ?
जसले नयाँ काठमाडांैको आकृति कोर्ने गर्थे
मानवताको संस्कार भरिएको तिम्रो महान हृदयले के भन्यो ?
मानवअधिकारका प्रतिध्वनित हुने घोषणापत्रका पक्षधरहरूको
हुंकार कहाँ दव्यो ?
म आगोमा दनदनी जलिरहेको बेला !
पवित्र प्रतिशोधका हातहरू होइनन्,
आगोका नङग्रा भएका अनुहारहरू मात्र थिए मेरो सामु
मेरो गुहार सुनेन बरू आगोलाई दन्काइरहे
मेरो पीडामा उत्सव मनाइरहे
शान्तिको स्वास लिदै
मेरो जलेको खरानीको प्रतिक्षामा बसिरहे
आफूभित्र लुकेको स्वार्थ छायाँ र निस्ठुरताको भोक
मेटाउँदै सन्तुष्टीको आदान प्रदान गरिरहे
नयाँ काठमाडौंको कल्पना गरेका योजनाहरू कहाँ थिए ?
म आगोबाट गुहार माग्दा !
मेरो वरिपरिका गल्लीहरू हराभरा देख्ने
सुन्दर सपनाहरू कहाँ थिए ?
आर्दश बैज्ञानिक विचारकका अनुहारहरू कहाँ थिए ?
म आगोबाट गुहार माग्दा !
मेरो कानमा अझै पनि त्यो आवाज ताजै छ
धपाइएका फुटपाथका पसलेहरूको विलापहरू
घुम्ती पसलहरूसँगको टकरावका स्वरहरू
मेरो आखाँमा अझै आइरहन्छ त्यो दृश्य
ढुङ्गा र माटोमा बालबालिका र वृद्धहरूको विचल्ली
धुवाँ र धुलोमा खोक्दै गरेका विरामीहरूको कहर
अनि सुकुमबासी र नाङ्ले पसलहरूको उठिबास
ताजै छ मेरो मानसपटमा
तिम्रो नयाँ काठमाडौं बनाउने यात्राको अगाडि उनीहरूको जीविका
माटो र धुलोमा बिलाए
कहाँ गयो मन्जिलमा पुग्ने त्यो महान् यात्रा ?
नेपालको झण्डा बोकेर
राष्ट्रियताको शिक्षा दिने र लोकतन्त्रको अभ्यास गर्ने
महान् अभियानका पक्षधरहरू,
प्रजातन्त्र र लोकतन्त्रको अभ्यास गर्नेहरू
कहाँ थियौ संसद भवन जल्दा ?
अनि समानता र मानवताको धर्मको
योजना बनाउनेहरू कहाँ थियौ सिंहदरबार जल्दा ?
मानवीय समवेदना सिकाउने
महा मानवहरू कहाँ थियौ ?
म आगोमा जलिरहेको बेला ।
यो त तिम्रो आफैलाई शिखरमा देख्ने
सपना पो रहेछ
हरेक दिन अद्भूत क्षमताको प्रदर्शन गरेर
जनताको अगाडि
नयाँ काठमाडौंको तस्वीर बोकेर
सेलीब्रेटी बन्ने र बनाउने
व्यापार गर्ने अभियान मात्र रहेछ
राष्ट्रियताको धूलो छर्केर
जनताको दुःखको पोष्टर बनाउने र बेच्ने
जनताको साथ र विस्वास लुट्ने
दुस्साहस मात्र रहेछ ।
म तिम्रो काठमाडौं होइन
म तिमीले देखाएको नक्कली पोष्टरहरू टाँसिएको शहर होइन
म त त्यो माटो हूँ
जसले सयौं वर्षको तानाशाहीलाई
जलाएर उत्सव मनाएको
काम लागेन तिम्रो महामानवको आर्दश
तिम्रो नयाँ सपनाको अभियान
जलिसकेको चिसो खरानी मुनी
अझै पनि बलिरहेको अङ्गार हूँ
म तिम्रो काठमाडौं होइन
अहिलेसम्म ननिभेको
आगो हूँ ।
































