जनसम्बन्ध विस्तार अभियान एक अनुभूति–२

जनसम्बन्ध विस्तार अभियान एक अनुभूति–२

 

 

हामीहरु चैत्र ३ गते दिउँसो गड्डाचौकी पुग्यौं । जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्ने स्थानको अवलोकन र शारदा व्यारेजको अवस्थिति हेर्ने हाम्रो योजना थियो । पहिले हामी शारदा व्यारेजतर्फ लाग्यौं । नेपाल प्रहरीले राखेको व्यारीयल नजिकै व्यापार गर्ने एकजना व्यापारीलाई तपाईहरु भारतीय सिमा नजिकै बस्नु भएको छ । यहाँको सुरक्षा व्यवस्था र जनजीवनबारे कस्तो महशुस गर्नुभएको छ भनेर सोध्यौं । त्यस्तै त्यहाँ विभिन्न पेशा व्यवसाय गरी बसेका मानिसहरुसँग सोधपुछ गर्दै शारदा व्यारेज तर्फ लाग्यौं । शारदा व्यारेज भन्दा पूर्वतर्फ नेपालतर्फको भूभागमा भारतीयहरुको सुरक्षा व्यवस्था निकै कडा पाइयो । नेपाल भारत सिमानाको नेपालतर्फ भारतीय प्रहरीका ३ वटा घेरा काटेर अगाडि गएपछि एउटा घरभित्र पसिन्छ र त्यहाँबाट निस्केपछि अन्तिमको प्रहरी घेराको चेक जाँच पछि मात्र शारदा व्यारेजमा पुगिन्छ । हामी शारदाबाँध तरेर पारी गयौं । महाकाली नदीको जलाधार पूरै पश्चिमतर्फ फर्काएर भारततर्फ लगिएको छ । नेपालतर्फ सिंचाईको लागि थोरै पानी उपलब्ध गराइएको छ ।

त्यहाँका बासिन्दाहरुको भनाई अनुसार शारदा व्यारेजको मध्य भागमा नेपाल र भारतको झण्डा क्रस गरेर राखिएको थियो । पछिल्लो महाकाली सन्धि ९टनकपुर सन्धि० पछि नेपाली झण्डा निकालिएको छ र भारतीय झण्डा मात्रै फहराएको छ ।
२०५१ सालतिर शारदा व्यारेजको आडैमा एउटा भन्सार कार्यालय थियो रे । अहिले करिव करिव ५÷७ सय मिटर पूर्वतर्फ सिमा स्तम्भ सारेर त्यहाँको ठूलो भूभाग भारतीयहरुको अतिक्रमणमा परेको प्रष्ट देख्न सकिन्छ ।

नेपाली भूमि मिचेर भारतीय एसएसवीले त्यति कडा सुरक्षा व्यवस्था मिलाउँदा नेपालतर्फ कुनै सुरक्षा व्यवस्था छैन । भारतीय तस्करहरु खुलेआम तस्करी गरिरहेका छन् । सीमा नजिक बस्ने नेपालीहरुले भारतीय प्रहरीहरुको अपमान र ज्यादती सहनु परेको र नेपालको सुरक्षाकर्मी भारतीय सुरक्षाबलको सामु निरिह भएको कुरा गड्डाचौकी वरपर बस्ने नेपालीहरुले बताए । त्यस्तै बेलौरी भुडाहा, प्याराताल, बन्दाताल र पुनर्वास क्षेत्रको नेपाली भूमि भारतीयहरुको अतिक्रमणमा परेको कुरा पनि कञ्चनपुरवासीहरुले बताए ।

चैत्र ४ गते २ बजे भुजेला पुलबाट विशाल जुलुश सहित गड्डाचौकीको भन्सार कार्यालय अगाडि पुगी सभामा परिणत भएर उद्घाटन समारोह सम्पन्न गरियो । ४ गते ५ बजेतिर गड्डाचौकी पुगेर चम्मनचोकमा एउटा कोणसभा सम्पन्न गरी साँझ दैजी पुगेर भरत ठकुल्लाजीको व्यवस्थापनमा उहाँहरुकै घरमा सबै जना बास बस्यौं । भरतजीको परिवारमा दाजुहरु दिदीहरु पनि राजनीतिक रुपमा सचेत भएको पाइयो । ५ गते विहान राजनीतिक क्षेत्रका केही व्यक्तिहरुसँग भेटघाट, शहीद तथा वेपत्ता पारिएका योद्दाहरुको परिवारका सदस्यहरुसँग भेटघाट गर्दै दैजीमा कोणसभा सम्पन्न गरी हामीहरु दोधारा चाँदनी तर्फ लाग्यौं । दोधारा चाँदनी महाकाली नदी पारी पर्दछ । कुतिया कभर धामीटोल, वडा नं। ८ हुँदै भारतीयहरुसँग सिमा विवाद भएको ठाउँ १० नं। वडाको नेपाल भारत सिमानामा नयाँ निर्माण गरिएको सिमा स्तम्भ ६६१ ९४७० मा पुगेर अवलोकन गरियो । त्यहाँ खेतको आलीलाई दुई देशिय सिमाना मानेर पश्चितर्फ भारतीयहरुले र पूर्वतर्फ नेपालीहरुले खेती गर्दै आएको पाइयो । त्यही सिमानामा भारतीयहरुले अतिक्रमण गर्ने सिमाना सार्ने बारम्बार नेपालीहरुलाई दुःख दिने, वाली लुट्ने गर्दै आएकाले विवाद भएको कुरा त्यहाँका जनताले बताए । त्यहाँ हामीले भेटघाट गरेका जनता २०१७ सालदेखि बसोबास गर्दै आएकोबताए तर हामीले त्यो भन्दा पुरानो पुस्ताको बासिन्दालाई भेट्न पाएनौं । दोधारा चाँदनीको बीचबाट एउटा जोगबुढा खोला बग्दोरहेछ । त्यो खोलामा पनि पानीको बहाव ठूलो थियो । त्यहाँका बासिन्दाहरुको चालचलन भाषा, संस्कृति बसोबासको स्वरुप हेर्दा त्यो बस्ती निकै पुरानो होला जस्तो लाग्यो । दोधारा चाँदनीको ‘वावाथान’ चोकमा कोणसभा र ठाउँठाउँमा भित्तेलेखन गर्दै साँझ फर्केर शुक्लाफाँटा ना।पा २ रानीपुर आएर कमल चौधरीको घरमा बस्यौं ।

चैत्र ६ गते विहान बन्साह, कलुवापुरचोक झलारी बजारमा पर्चाविवरण, कोणसभा, भित्तेलेखन, जन भेटघाट गर्दै लालझाडी गा।पा। ६ ‘ढक्का’ को वस्तीमा पुग्यौं । त्यो वस्ती शुक्ला फाँटा वन्यजन्तु आरक्ष पीडितहरुको वस्ती हो । त्यो वस्तीमा बसोबास गर्ने बासिन्दाका अनुसार २५०० ९पच्चीस सय० घर परिवार ढक्का र केही बाहिर पनि बसोबास गरेका छन् । त्यहाँ पहिले १० कठ्ठादेखि ४ विघासम्म जमिन भएका किसानहरु बस्दथे । २०५८ सालमा त्यहाँका किसानहरुको लालपुर्जा ९जग्गाधनी प्रमाणपत्र० एक मुष्ठ रद्द गरेर सबैको जग्गा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गाभेर त्यहाँका किसानहरुलाई लखेट्यो । ती मध्ये केहीलाई अन्यत्र सट्टा भर्ना वापत जग्गा दिइयो । केही आफन्त नालानाताको आड लागेर बसे । कतिपय बजार क्षेत्रमा गएर कठिन तरिकाले जीवनयापन गरे । पछि २०६४ साल माघ ८ गते बाहिर छरिएर बसेका मानिसहरुलाई वाइसिएल ९माओवादी०ले ढक्कामा ल्याएर पुनः बसोबास गरायो । २०६२÷६३ सालको आन्दोलनले राजतन्त्र हटाएर गणतन्त्र ल्याएपछि माओवादीहरु खुला राजनीतिमा आएका थिए । त्यो बेला माओवादीले बसोबास गराएको ठाउँमा गएर वस्ती उठाउने शाहस सेनाले पनि गरेन र प्रशासनले पनि गरेन । त्यसैले त्यहाँ बसेका मानिसहरु अहिलेसम्म बसेकै छन् । ढक्कामा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा ठूलो संख्यामा ढक्काका बासिन्दा सहभागी भएका थिए । उनीहरुको भनाई अनुसार अहिले ९२०८१चैत्र० सम्म त्यहाँको समस्यालाई लिएर ३३ वटा आयोगहरु बनिसके । कुनै आयोगले पनि त्यहाँका बासिन्दाहरुको पक्षमा केही काम नगरिकन विघटन हुने फेरि अर्को आयोग बन्ने र विघटन हुने क्रम चलिरह्यो । सबैभन्दा पछि गठन भएको आयोगका अध्यक्ष जयानन्द पनेरु हुन् । त्यो भन्दा पहिले ठाकुर प्रसाद शर्मा थिए । कति आयोग त यहाँ आइकन विघटन भए । कति यहाँ आए पनि केही भएन । ढक्का शिविरमा बस्ने बासिन्दाका लागि खानेपानी छैन । विजुली वत्ति छैन । त्यो वस्तीभित्र ट्रयाक्टरले खेत जोताउन पाइँदैन । वाली भित्र्याउन कम्पाइन वा थ्रेसर मेसिन प्रयोग गर्न पाइँदैन । केटाकेटीलाई पढाउनको लागि स्कूल छैन । विरामी पर्दा उपचार गर्ने ठाउँ छैन । रातीको समयमा मट्टीतेलको वत्ति पनि बाल्न पाइँदैन । जंगली जनावरले वाली खाएर सत्यानास पार्छ । खेती बालीमा आएका जनावरलाई धपाउन पनि पाइँदैन । नेपाली सेनालाई पैसा नतिरेसम्म सुकेका दाउरा ल्याउन पाइँदैन । कोही टाठाबाठा मानिसहरु बाहिर शहरमा बस्छन् । यहाँको जग्गा ठेक अधिया लगाएर बाली बुझ्न आउँछन् । हामीलाई जंगली जनावर र नेपाली सेनाबाट ज्यान जोगाउन साह्रै गाह्रो भयो हजुर छाडेर जाउ भने जाने ठाउँ छैन । पहिले एउटा आयोगले आरक्ष पीडित परिचयपत्र पनि दिएको थियो । परिचयपत्र पाएका मध्ये कोही कोही बाहिरै बस्छन् । पटकपटक सिडिओ कार्यालय गयौं । तपाईहरुको व्यवस्था हुन्छ भनेर पठाउँछ । यसो गर्दागर्दै १८ वर्ष बितिसके । यसप्रकारका गुनासाहरु त्यहाँका बासिन्दाले बताए ।

२०६४ साल यता माओवादी, एमाले र कांग्रेसको सरकार बन्दै आएको छ । २०६४ सालको संविधानसभापछि माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा। बाबुराम भट्टराई, एमालेका केपी शर्मा ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा आदि गरिएका ‘नेता’ हरुको हातमा देशको शासन सत्ता रहँदै आएको छ । ढक्कामा आरक्ष पीडितहरुलाई लगेर बसोबास गराउने दलका नेता प्रचण्ड पटकपटक प्रधानमन्त्री भएका छन् । ढक्काका जनताले बेहोर्नु परेका अमानवीय समस्या ९जस्तो कि २१ औं शताब्दीमा आएर पनि मानव जातिका हकअधिकार खोसेर जंगली जनावरहरुको हक अधिकार कायम हुने० समाधान गर्न राज्यको तर्फबाट उपयुक्त कदम चाल्न कुनै चासो नदेखाउने जस्तो विडम्वनापूर्ण अवस्था देखियो । सुदुरपश्चिममा एकातिर भूमिहीन, सुकुम्बासी, मुक्त कमैया, आरक्ष पीडित, द्वन्द्व पीडितहरुको समस्या विकराल छ भने अर्कोतिर भारत नेपाल सिमा समस्या नेपाली भूमिमाथि भारतीय अतिक्रमण, जल सम्पदामाथि भारतीय एकाधिकार, लिपुलेक, लिम्पियाधुरामाथि भारत र चीनको संयुक्त अतिक्रमण जस्ता गम्भीरतम समस्याहरु छन् । क्रमशः