नवलपरासी १९ भाद्र – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र बनाउँदै एकैदिन जिल्लाका तीनवटा गाउँपालिकालाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको छ । विहीवार आयोजित कार्यक्रममा पार्टीले प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै जनतालाई साथ लिएर चरणबद्ध संघर्ष अघि बढाउने चेतावनी दिएको छ ।
प्रतापपुर गाउँपालिकामा बुझाइएको २० बुँदे ज्ञापनपत्रमार्फत पार्टीले गाउँपालिका भित्रको भ्रष्टाचार, अनियमितता, सार्वजनिक सम्पत्तिको दुरुपयोग, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा देखिएको कमजोरीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले भ्रष्टाचारविरुद्धको अभियान तीन चरणमा सञ्चालन हुने जानकारी दिँदै भन्नुभयो , “पहिलो चरणमा जनचेतना जगाउन ज्ञापनपत्र, दोस्रो चरणमा भ्रष्टाचारीहरूको भण्डाफोर, र तेस्रो चरणमा जनकारबाही हुनेछ ।” पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा व्याप्त विकृति तथा विसंगतिका विरुद्ध जनस्तरबाट संघर्ष गर्ने पार्टीको योजना रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य तथा पालिका संयोजक यम बहादुर गुरुङले शिक्षा, स्वास्थ्य, कृषि, यातायात, पर्यटन र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका मागहरू प्रस्तुत गर्नुभयो । ज्ञापनपत्र ग्रहण गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादवले “गाउँपालिकाले सक्ने मागहरू तत्काल सम्बोधन गर्नेछ, बेला मौकामा पार्टीले हामीलाई सुझाव दिनुपर्छ ” भनी प्रतिक्रिया दिनुभयो ।
सोही दिन पार्टीको पाल्हीनन्दन गाउँ संगठन समितिले पनि पाल्हीनन्दन गाउँपालिकामा १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) र प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडसंग छुट्टाछुट्टै भेट गर्दै, भष्ट्राचार देशको प्रमुख दुश्मन भइसकेकोले भ्रष्टाचारमा संलग्न जो सुकै भएपनि त्यसै छाड्न नह्ुने विचार ब्यक्त गर्नुभयो । सो अवसरमा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले पाल्हीनन्दन गाउँपालिकाको जनताका तर्फबाट बिभिन्न जनसरोकार समाबेश गरिएको ज्ञापन पत्र प्रस्तुत गर्नुभयो । पार्टीबाट पाल्हीनन्दन गाउँपालिकाको जिम्मा समेत पाउनुभएका चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “राज्य सत्ता भ्रष्ट र कमिसनखोरीको अखडामा परिणत भएको छ । वर्तमान व्यवस्था प्रतिको जनताको अविश्वास सडकमा प्रकट भइरहेको छ । यस्तो अवस्थामा देशमा फासिवाद, प्रतिगमन वा क्रान्तिका परिवेश तयार हुँदैछन्।” ज्ञापनपत्रमा चेतावनी दिइएको छ कि यदि मागहरू बेवास्ता गरिएमा पार्टी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछ । कार्यक्रममा पार्टीका जिल्ला सदस्यस्तरका नेताहरु ज्ञान बहादुर केसी र मेखनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यसबीच विहीवार नै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरी समक्ष १९ बुदें ज्ञापनपत्र बुझाइएको छ । पार्टीका पालिका संयोजक मेखनारायण चौधरीले उक्त ज्ञापन पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पार्टीका युवा नेता रवि पाण्डेयले ज्ञापन पत्र प्रचारात्मक नभई बिशिष्ट रहेकोले ज्ञापन पत्रका माग पूरा गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो । सो अवसरमा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी र ज्ञान बहादुर केसीको समेत उपस्थिति रहेको थियो । पार्टीले जिल्लाका सातवटै पालिकामा ज्ञापनपत्र बुझाउने योजना रहेकोमा पाँच वटा पालिकामा ज्ञापन पत्र बुझाएको बताउदै थप भण्डाफोरका कार्यक्रम गर्ने जनाएको छ ।
































