भन्थ्यौं आउँछ देशमा जनमुखी सर्कारको शासन
भोको पेट भयो भनी घरघरै बाढ्छन् अरे रासन
हाम्रो यो सपना छर्दैछ अधुरो होला र कैले पुरा
नेताजी बहिरो छ चोट गहिरो को सुन्छ हाम्रो कुरा ।
लत्ता गाँस र बास पाउछ भनी गर्छौ तिमी भाषण
जाडोमा कपडा थिएन घरमा के खानु खै रासन
भोको पेट मिचेर रुन्छ बबुरो काँ हुन्छ बाचा पुरा
नेताजी बहिरो छ चोट गहिरो को सुन्छ हाम्रो कुरा ।
खै को दिन्छ निकास यो मुलुकमा आला र काँचा सबै
माग्छौं भोट विकास गर्छु भनी बाधेर बाँचा सधै
भन्थ्यौ गर्छु विकास गाउँ घरको त्यो हुन्छ कैले पुरा
नेताजी बहिरो छ चोट गहिरो को सुन्छ हाम्रो कुरा ।
ल्यायौं डोजर गाउँको घरघरै मासेर बालीहरु
गाडी हिड्छ उडाउदै पिच विना बाटो र नालीहरु
ज्यामी भन्छ म माग्छु श्रम पसिनाको मूल्य मेरो जति
गर्छौ खै कसरी विकास आर्थिक विना चल्दैन हाम्रो गति ।






























