श्रमको कविता

श्रमको कविता

कविता

सौन्दर्य सूक्ष्म श्रममा जब देखिँदैन,
साँचो यथार्थ कविता अनि लेखिँदैन ।
आफ्नो शरीर पसिना रथमा बसाऔं,
नौलो भविष्यपथमा रचना सजाऔं ।।
।।१।।
प्रत्येक गाँसरसमा श्रम नै चुहुन्छ,
पृथ्वी समस्त मलिलो श्रमले दुहुन्छ ।
निर्माणभित्र श्रमको प्रतिभा सजिन्छ,
उद्देश्यको सफलता श्रमले पुजिन्छ ।।
।।२।।
कुल्ची महत्व कहिले श्रम मेटिँदैन,
थोत्रा विचारहरूले श्रम रेटिँदैन ।
उर्लन्छ क्रान्ति यसमा गतिरोध आए,
को सक्छ ? छेक्न श्रमले फरुवा चलाए ।।
।।३।।
उठ्तैन विश्व श्रममाथि विभेद बन्दा,
चम्किन्छ विश्व श्रमपोषक मूल्य गन्दा ।
सक्तौन हेप्न, श्रमशोषक होसियार,
पड्कन्छ फाँड्न श्रम बारुदमा मिलेर ।।
।।४।।
यौटा विचार गहिरो मनबाट फुल्छ,
त्यो दिव्य मूर्त रूपले तनबाट खुल्छ ।
छेकिन्न जुट्न कसिलो श्रमको सिरानी,
यौटै छ विश्वभरको श्रमजिन्दगानी ।।
।।५।।
मेट्नेछ शीघ्र श्रमले सब राज्यसीमा,
बग्नेछ यो पृथिवी नै पसिना–नदीमा ।
संसार फेर्न नुनिलौ पसिना बगाऔं,
आस्था पगाल्छ मुटुले श्रमगीत गाऔं ।।
।।६।।
यो विश्वमाझ जहिले श्रमवाद फुल्छ,
आकाशसाथ धरती अनि मात्र खुल्छ ।
उन्मुक्तिको धुन मिठो मनभित्र डुल्छ,
यो विश्वले सकल शोषणलाई भुल्छ ।।
।।७।।
बाँचौन सज्जन बनी श्रमले जिएर,
बस्नै हुदैन अरूको पसिना पिएर ।
चुस्ने गरे श्रमिकको दिलभित्र छुन्छ,
आगो उठी जगतमा जनयुद्ध हुन्छ ।।
।।८।।
ब्रह्माण्डमाझ पृथिवी श्रमले घुमेको,
ती धन्य हातहरू हुन् श्रमले चुमेको ।
विश्वास राख श्रममा सुखका भिखारी,
झुक्तैन दिव्य शिर त्यो श्रमको पुजारी ।।
।।९।।
बाँकी प्रसस्त छ अझै श्रमबाट सिक्न,
ज्वालामुखीसँग भिडेर को सक्छ टिक्न ?
आफ्नो प्रशासन स्वयं श्रमले लिनेछ,
साझा हुनेछ धरती, समता दिनेछ ।।
।।१०।।
खाएर अन्न श्रमको मन हुन्छ तृप्त,
व्यायाम हुन्छ जिउमा तन हुन्छ दीप्त ।
निद्रा मिठो छ सपनी पनि हुन्छ प्यारो,
मेटिन्छ स्वच्छ भई जीवनको उधारो ।।
।।११।।
मान्छे भएछ श्रमले पशुबाट भिन्न,
आँट्तै छ आज श्रमले युग नै उछिन्न ।
यो सभ्यता र सृजना श्रमको चिनारी,
सङ्घर्षमा कदम चाल्छ युगान्तकारी ।।
।।१२।।
धरान– १४, सुनसरी
मो. ९८४२०६०८८२