म आमा

म आमा

कविता

मनभित्र रीसको आगो जलिरहेको छ
भित्र भित्रै बदलाको ज्वालामुखि दन्किरहेको छ
काखैबाट चल्लो खोसेर लिनेलाई
बिना कसुर बेपत्ता पार्नेलाई
उग्रचण्डि बनेर
पाएमा जिउँदै रगत पिउथेँ
आततायी हिटलर झैँ
भेटेमा भट्टिमा जलाइदिन्थेँ
तर,
ऊ पनि त कुनै आमाकै सन्तान होला
कुनै आमाकै प्यारो चल्लो,
मुटुको टुक्रा झैँ
आँखाको लाल होला
मेरो चल्लोको म आमा
उसको चल्लोको ऊ आमा
म पनि आमा
ऊ पनि आमा
आमाले आमाको मर्म बुझ्छ
आमा संसारकै आमा
बलेको आगो पनि निल्न सक्ने
दन्केको ज्वाला पनि पिउन सक्ने
असङ्ख्य दुःख खप्न सक्ने
आफैँ जलेर पनि
देख्न नसक्ने जलेको अरू
सहनशीलताको अर्को नाम
अामा ।

खानी अपार मायाको
प्रतीक शान्तिको
म आमा
ए ! आमाका सन्तान हो
मेरो अगाडि आऊ
निसंकोच आऊ
भन, के गरेको ?
भन, किन गरेको ?
कि कसैको खटनमा चल्यौ ?
कि कुनै बाध्यतामा पर्‍यौ ?
कि आफ्नै कुबुद्धी पलायो ?
कि बेसुरमा गर्‍यौ
जे भएको फेहरिस्त सुनाऊ
आफ्नै आमाको कसम खाएर
गर साँचो ब्यहोराको बयान
लाग्छ गल्ति गरेको भने
त्यो पनि भन ।

छ यदि पछुतो भने
त्यो पनि सुनाऊ
ठुलो मन गरेर माफी माग्छौ भने
अति उत्तम
तिमीलाई के लाग्छ त्यो भन
म भित्र करुणा पनि छ
दया र क्षमा पनि छ
म भित्र विशालता छ
किनकि म आमा हुँ ।
आउ एकै ठाउँमा बसौँ
नयाँ समाजको निर्माण गरौँ
नेपाली भएर बसौँ ।