बढ्दो बिश्व जनसंख्या र पर्यावरण संकटको भयावह बास्तबिकता

बढ्दो बिश्व जनसंख्या र पर्यावरण संकटको भयावह बास्तबिकता

लोकनारायण सुबेदी

 

 

मानिदै आइएको छ कि बिश्वमा मानिसको जनसंख्या १३५० मा आएको भयंकर ठूलो महामारी  ‘कालो मृत्यु’ अर्थात ‘प्लेग’को महामारी पछियता लगातार बढ्दै नै आएको छ । जनसंख्या बृद्धि १३५० पछि शुरु भएको बिश्व इतिहास छ। त्यसको कारण सुध्रिदो स्वास्थ्य र बढी खाद्यान्न उत्पादनलाई मानिन्छ । जनसंख्याको बृद्धिदर बर्ष १९८० पछि घट्न थाल्यो तर पनि जनसंख्याको पूर्णाङ्क संख्या फेरि पनि बृद्धि नै भयो । आजभन्दा ६ बर्षभन्दा  पहिलाको अनुसन्धानले के बताएको थियो भने ५ जुलाई २०१९ का दिन ७६३.४ करोड मानिन यो पृथ्वीमा थिए । आजका दिन यो संख्या ८ अर्ब ५७ करोडभन्दा बढी पुगेको छ । के पनि मानिएको छ भने यो धरतीले ४ अर्ब मानिसलाई मात्र राम्रो जीवन यापन दिन पर्याप्त छ भने यसले १६ अर्बभन्दा बढी मानिसको बोझ बोक्न सक्ने स्थिति छैन । यो पृथ्वीको अन्तिम सीमा हो । के पनि मानिदै आएको छ भने आगाी २०४०–५० सम्ममा बिश्वको जनसंख्या ९ देखि १० अर्बसम्म पुग्नेछ । किन कि प्रति बर्ष ७.४ करोड मानिसको जनसंख्या यो पृथ्वीमा बढ्ने गरेको छ । बिश्वका ७ वटा देश यस्ता छन् जसका कारणले बिश्वको आधा जनसंख्याको भाग उनीहरु मात्र हुन्छ ।

यो हाम्रो पृथ्बीमा कति जनसंख्या हुनु पर्ने हो भन्ने चर्चा धेरै पहिलेदेखि नै चल्दै आएको हो । प्राचीन लेखक तेतुल्लियनले दोश्रो शताबदीमा के भनेका थिए भने जनसंख्या पृथ्बीको क्षमता अनुसार नै हुनु पर्दछ । यो पनि गजबकै कुरा छ कि ७५० बर्ष पहिला अर्थात औद्योगिक क्रान्तिभन्दा पनि पहिला जतिबेला बिश्वको जनसंख्या धेरै मन्द गतिले मात्र बढ्ने गर्दथ्यो तर यता १९औ शताब्दीमा आइपुग्दा नआइपुग्दै यो जनसंख्या बढेर अर्बौंमा पुग्न गयो । १९औं शताबदीको त्यसै औद्योगिक क्रान्ति पछि जनसंख्यामा पनि बृद्धि भयो र भने त्यसको संगसँगै प्राकृतिक श्रोत साधनहरुको पनि निर्मम दोहन र शोषण पनि बढ्दै गयो । त्यस शताब्दीको अन्त्यसम्ममा मानिसको जनसंख्या एक अर्ब थियो त्यो २०औंशताब्दी  लाग्दा नलाग्दै १.६ अर्ब पुग्न गयो अनि  २०औं शताब्दीको अन्त्यसम्ममा पुग्दा यो ह्वात्तै बढेर ६ अर्बमा आइपुग्यो । हुन पनि त्यसबेलाका बिद्वान अर्थशास्त्री थोमस माल्थसले भनेका थिए कि पृथ्बीमा यो मानब जाति संसाधनहरुको तुलनामा कयौं गुणाले बढ्न जानेछ ।

यो पृथ्बीले कति जनसंख्याको भार बहन गर्न सक्तछ भन्ने बहस शताब्दीऔंदेखि चल्दै आएको भए पनि १९९४ देखि यसको बिश्लेषण पनि आरम्भ भयो । त्यतिबेला इण्टर एकेडेमिक प्यानलले आफ्नो प्रतिबेदनमा भनेको थियो कि जनसंख्याको कारण पर्याबरण, जलवायु परिबर्तन, प्रदुषण जस्ता मुद्दाहरु खडा हुन पुग्नेछन् । संयुक्त राष्ट्र संघको जनसंख्या बिश्लेषणको २००४ को प्रतिबेदनका अनुसार आगामी २०५० सम्ममा बिश्वको जनसंख्या स्थीर हुन पुग्नेछ । तर २०१४ को साइन्स म्यागाजिनले भने यस कुराको खण्डन गर्दै बताएको थियो कि यो जनसंख्या बृद्धि आउदो शताब्दीसम्म जारी रहिहने छ । सात बर्ष अघि २०१७ मा नै ५० जना नोबेल पुरस्कार बिजेताहरुले सामुहिकरुपले एउटा अपिलमा भनेका थिए कि अधिकतम मानब जनसंख्या तथा पर्याबरणीय क्षति बिश्वका आजका दुइटा ठूलो खतरा बन्न गएका छन् । ६  बर्ष अघि २०१९मा १,५२६४ जना बैज्ञानिकहरुले के मानेका थिए भने बढ्दो जनसंख्या नै बिग्रदो समाजिक, आर्थिक तथा पारिस्थितिकीय कारण हो ।

तथापि जनसंख्याको यो मुद्दा बिश्वमा बहसको ठूलो मुद्दा हुने गर्दैन । किनभने यस मुद्दासँग बिभिन्न कुराहरु जोडिएका छन् । जनसंख्याको आर्थिक, सामाजिक तथा राजनीतिक पक्ष जति जति बेला चर्चामा आउँदछ त्यो बिभिन्न किसिमका बिबादमा अड्किने गर्दछ । तर हामी कोही पनि जनसंख्याको चर्चामा कतै पञ्छिने या तर्किने गर्न सक्तैनौ । किनभने स्थिति लगातार बिस्फोटक बन्दै आएको छ । बिशेष गरेर जब बिश्वमा प्रत्येक तेश्रो ब्यक्तिलाई आज पनि भरपेट खाना प्राप्त गर्न सक्ने स्थिति छैन, बिश्वको जनसंख्याको आधाजसो आबादीको शीर ओतिने छत छैन, बिश्वको जनसंख्याको केवल ३०.४० प्रतिशत मानिसहरुसम्म मात्र यो पुग्न सकेको छ । यी सबै कारणले गर्दा गाउँघरबाट शहरतिर जनसंख्या पलायन हुने गति तीब्र बनेको छ ।

यस्तो स्थितिमा बुझ्न सकिन्छ कि यदि एक हेक्टरको खेतीबाट २२ टन मात्रै धान उत्पादन गर्न सकिन्छ र त्यसबाट १००० मानिसको मात्र पेट भरिन्छ भने  यसबाट अगाडिको स्थिति के कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ कि त्यो कति भयावह हुन पुग्नेछ । यो मानब जनसंख्याका साथै हामीले यो पृथ्बीका अरु प्राणीहरुको बारेमा पनि सोच्नु पर्ने हुन्छ । एउटा प्रतिबेदनका अनुसार १.४ लाख प्रजातिहरु आज यो धरतीबाट बिलुप्त हुने संघारमा पुगिसकेका छन् । तीमध्ये ८०१ बन्य जीवजन्तु पनि सामेल छन् । ‘वर्ल्डवाइड फण्ड फर नेचर’ले दिएको एउटा प्रतिबेदन अनुसार बिश्वको मानब जनसंख्या यदि यसै गतिमा बढ्दै जाने हो भने आजको यो हाम्रो पृथ्बीभन्दा डेढ गुणा ठूलो अर्को पृथ्बीको आवश्यकता छ । अर्कोतिर बढ्दो जनसंख्याका कारण सुरक्षित पिउने पानीको उपलब्धतामा पनि सोझो असर परेको छ । बढ्दो वायु प्रदुषण, माटो तथा ध्वनी प्रदुषण आदि पनि सोझै बढदो जनसंख्याकै कारण उत्पन्न समस्याहरु हुन् ।

बितेको १९७० देखियता २०१५ को  बीचमा मात्र ऊर्जाको उपभोगमा  कयौं गुणा बृद्धि भएको छ । यसको अर्थ हो १९७० मा यदि ऊर्जाको उपभोगलाई शून्य मान्ने हो भने २०१० मा यो १५० गुणाले बढी हुन्छ र २०२५ सम्म गइपुग्दा यो २५० गुणा बढी हुनपुग्ने अनुमान छ । यो बस्तुतः प्रकृतिका हदभन्दा ज्यादै बढी  शोषण हुन गएको प्रमाणा ठहरिन्छ । हामीलाई थाहा भएकै कुरा हो कि बिश्वमा बाल शिशु मृत्यु दर बढ्दो गरीबीका कारण उत्पन्न भएको हो । अनिकाल, कुपोषण र अरु नयाँ नयाँ बिमारीहरुको सिधा कारण बढ्दो जनसंख्यासँग जोडिन पुग्दछ । अनि कठिनाई के छ र हुन्छ भने बिश्वमा कुपोषित र अल्पपोषित मानिसहरुको संख्या पनि निरन्तर बढिरहेको छ । अहिले त स्थिति कहाँसम्म पुगेको उल्लेख गरिन्छ भने बृटेन जस्तो सक्षम मानिएको देशलाई पनि आफ्नो देशका मानिसलाई बचाउन खाद्यान्न आयात गर्नु पर्ने स्थिति बनेको छ । तर बिश्वका हरेक देशको स्थिति यस्तो छैन कि बृटेनले जस्तै सबैले आवश्यक खाद्य सामाग्री आयात गर्न सकुन् । धेरैजसो देशहरुको आर्थिक स्थिति त्यस्तो राम्रो छैन जसले गर्दा उनीहरुले आवश्यक खाद्य पदार्थ सहजै आयात गर्न सकुन् । फलतः ती देशका मानिसहरु आबश्यक खाद्यान्न र खाद्य पदार्थको अभावले  कुपोषण र अल्पपोषणको शिकार हुनु अनिबार्य छ । अनि खाद्य संप्रभूता र खाद्य अधिकार जस्ता अधिकारको कागजी कुरा गरेर के गर्नु ?

यसरी एकदमै स्पष्ट छ कि जनसंख्या अहिलेकै गतिमा बढ्दै जाँदा अन्न,पानी र प्राण बायुसम्मका सबै कुरामा बहुतै ठूलो संकट उत्पन्न हुन जाने छ । आजै र अहिले नै पनि यी प्राकृतिक संसाधनरुमाथि परिरहेको दबाब स्पष्ट देख्न सकिन्छ । अझ बितेको दुइ दशक यता यो दबाब अझ गम्भीर र गहिरो बनेको छ । यस स्थितिमा कल्पना मात्र गर्न सकिन्छ कि आउदा दुइ तीन दशकभित्र पस्थिति कति भयावह र बिस्फोटक बन्ला ! त्यसैले हामीले बढ्दो बिश्व जनसंख्या र पृथ्बीको बहन क्षमता (क्यारिङ्ग क्यापासिटी) तथा बर्तमान असमान बिश्व परिस्थितिमाथि महाबहस चलाएर निर्णायक निष्कर्शमा पुग्नु एकदमै बिलम्ब भइसकेको छ । अन्यथा यो बिश्व संसाधनहरुको महासंकट र भयावह युद्धको घानमा पर्ने कुरा प्रायः निश्चित छ । बिश्वमा सरदर ८० प्रतिशत श्रोत साधन २० प्रतिशतको हातमा केन्द्रित छ भने ८० प्रतिशत आबादीले २० प्रतिशत श्रोत साधनको भरमा जीवन निर्बाह गर्नुपर्ने जुन असमान स्थिति सिर्जना भएको छ त्यसको समुचित निराकरण गर्नु अनिबार्य र अपरिहार्य छ । अन्यथा पृथ्बी दिवसको बार्षिक कर्मकाण्डको सँस्कृति निर्बाह गर्ने गरेर मात्र यो बिकराल समस्याको सही समाधान पटक्कै हुने सम्भावना नै छैन । यस भयावह स्थितिले समाजबादको पूर्बाधार तयार गर्ने बाटो लाग्न सके मात्र बढ्दो जनसंख्या र प्रकृतिका बीच सन्तुलन कायम गर्न सकिने एक मात्र बिकल्प छ ।