मरेर बाँचेको जीवन

मरेर बाँचेको जीवन

संस्मरण

ज्वरो एकसय पाँच डिग्री भन्दा कम थिएन । टाउको फुट्लाझ्ैँ भएर दुखिरहेको थियो । पेटमा पानीसम्म टिक्दैनथ्यो । केही खायो कि तत्कालै बान्ता भइहाल्थ्यो । एकदिन दुुईदिन बिमार सन्चो हुनुभन्दा अझ्ै बढ्दै गयो । शरीरमा शक्ति क्षीण हुँदै गयो । दिसापिसाव अर्काको सहारामा नै हुन्थ्यो । गर्दै जाँदा तीनचारदिनपछि दुवै हात र खुट्टा नै लाग्न छोड्यो । साथीहरू आत्तिन थाले । उपचारमा खटिएका स्वास्थ्यकर्मीले पनि हार खान थाले । टाइफाइड, मलेरिया सबै उपचार विधि अपनाउँदा पनि कुनै सुधार आएन ।

साथीसङ्गी र शुभचिन्तकहरू आउँथे र सान्त्वना दिन्थे । मेरो त्यो हालत देखेपछि मलाई प्यारालाइसिस नै भएको पक्का भयो । डाक्टरको सल्लाह पनि विशेषज्ञलाई नै देखाउने भएपछि आवश्यक तयारीपछि स्ट्रेचरमा राखी मलाई त्यसतर्फ कुदाइयो । त्यतिखेरसम्म मलाई होस थिएन । कमजोरीका कारण शरीर थर्थराउँथ्यो । सहयोग र साहारामा मात्र मलाई यताउता गराइन्थ्यो । राहत भने हुन्थेन ।

म पहिलो स्टे«चरमा बोकिने बिरामी परेको थिएँ । युद्धका क्रममा मैले थुप्रै घाइते योद्धाहरू सहादत कमरेडका शवहरू स्टे«चरमा बोकेको देखेको छु । आफै पनि बोकेको छु । सहादत र घाइते योद्धाहरू देख्दा मेरो एकातर्फ गर्वले छाती फुल्थ्यो अनि अर्कातर्फ छाती भक्कानिएर आउँथ्यो । यो प्रक्रिया इतिहासको आवश्यकता हो भन्ने ठान्दछु । त्यही स्टे«चरमा आज म बोकिएको थिएँ । म लडाइँमा घाइते पनि भएको थिएन । जसले गर्दा आफू स्टे«चरमा रहनुपर्दा गर्व हैन एकखाले आत्मग्लानी भइराख्थ्यो । त्यो कुनै रहर नभएकाले मन बुझएर संयमी बन्छु । यात्राको क्रममा ठाउँठाउँमा मेरा चिरपरिचित साथीसङ्गीहरूले मप्रति देखाएको सद्भाव र प्रेरणाले मलाई हौसल्यायो । फलस्वरूप अस्पतालसम्म पुग्न सहज भयो ।

मलाई स्मरण छ, अप्ठेरो, साँघुरो र गाह«ो बाटोहरूमा मलाई बोकेको स्टे«चर काँधबाट खस्दा म रोएन । बरू मलाई बोक्ने साथीहरू मेरो पीडामा उनीहरू रोए । खोल्सा र चिराहरू पार गर्दा मलाई काँधमा राखेर हामफालेका ती प्रिय साथीहरू, अहिले व्यक्तिगतरूपमा कतिलाई त चिन्दिन होला तर यो गहिरो माया दिने साइनो रगतको नाता नभएर महान्् जनयुद्धको क्रममा गाँसिएको प्रगाढ वर्गीय साइनोले सम्भव भएको हो । युद्धको बाहिर यो सद्भाव, पे्ररणा र गहिरो स्पन्दन असम्भव जस्तै लाग्छ ।

करिब एक महिनाको उपचारपछि सन्चो भइसकेको थिएँ । औषधि खाँदै थिएँ । तथापि कमजोरी भने कायमै थियो । मलाई भने एकैठाउँमा बसिरहन मन हुँदैनथ्यो । बदलिँदो राजनीतिक फेरबदल, नयाँनयाँ विकसित परिस्थिति र समयले हासिल गरेका नयाँ निर्णयहरूले त्यसतर्फ चुम्बकलेझ्ैँ आकर्षित गरिरहेको थियो । त्यसैले म आफ्नो कार्यक्षेत्रतर्फ सुस्तरी हिँड्न सुरू गरेँ ।
मेरा साथीसङ्गी र परिवारजन सबैमा एउटा निराशा छाएको थियो कि मलाई त प्यारालाइसिस भयो रे । अझ् गलत सन्चार सम्प्रेषण गर्ने कतिपय हाम्रा कमजोरीले मान्छेलाई अझ् हतोत्साही बनाउँछ । म फर्किंदै थिएँ, मेरा मित्रहरूले मलाई बधाई शुभकामनाहरू दिँदै गर्दा मात्र थाहा भयो, कि म एकढङ्गले मित्रहरूका नजरबाट अस्ताइसकेको रहेछु ।

म आउँदै गरेँ । मेरो माटो, मेरो पाखापखेरा, मेरो आधारक्षेत्र, मेरा साथीसङ्गीसँग पुनर्मिलनका गर्विला हातहरू मिल्न थाले । बधाई तथा शुभकामनाको बर्षा हुन थाल्यो ।
ल बधाई छ है तपाइँले नयाँ जीवन पाउनु भयो ।
खुशी लाग्यो तपाइँ निको भएर आउनु भयो ।
ए तपाइँलाई राम्रो भयो ?
ओहो ! तपाइँ राम्रो हुनुहुन्छ भनेर सोचेके थिएनौँ ।
ल है ! हाम्रो परिवारकातर्फबाट संयुक्त बधाई छ ।
तपाइँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

यस्तै यस्तै खुशी र विस्मयका अभिव्यक्तिहरूले मलाई एउटा साहस र आत्मविश्वास पैदा गरिदियो । मैले पुनः सकुसल महासमरमा अन्तर्घुलित भएर काम गर्ने अवसर पाएकोमा गौरव सम्झ्ेँ । अझ् आदरणीय कमरेडहरूको प्रेरणादायी अभिव्यक्तिले मलाई थप प्रेरणा मिल्यो । के सदस्य के कमिसार, कमाण्डर उच्च तहका शिर्षस्थ कमरेडहरूको मप्रतिको प्रेरणा र सहानुभूतिले मलाई टाइफाइडको रोगले सताएको कमजोरी पूर्णरूपले छोडेको थियो ।

मेरो गन्तव्यतर्फ यात्रा जारी थियो । जनमुक्ति सेनाका लस्कर रातो झन्डा फहराउँदै अगाडि आउँदै थिए । अध्यक्ष क. प्रचण्ड घोडामा चढेर नुवागाउँमा एमालेका नेता वामदेव गौतमसँग वार्ता गर्न आइरहनु भएको थियो । हरेक हातहरू मेरो स्वास्थ्यलाभका लागि हल्लिरहेका थिए । म अघि बढ्दै गएँ । मेरो मानसपटलमा महान् जनयुद्धको दसबर्स, संसार थर्काउने महान् जनमुक्ति सेना, महान् विजयको योजना कोर्ने शिर्षस्थ दिमागहरू सबैसबैले मेरो स्वास्थ्यलाभको कामना गर्दै प्रकट गरेको सद्भावले मेरो छाती गर्वले फुल्थ्यो । खुशीले छाती भक्कानिन्थ्यो र आँखाहरू छचल्किन्थे । जसले मलाई निरन्तर युद्धमोर्चामा डटिरहन अपार प्रेरणा मिल्यो ।
१२ कार्तिक २०६२