सम्झ्नाको तरेलीमा ताराकान्त

सम्झ्नाको तरेलीमा ताराकान्त

संस्मरण

कहिले काहीँ परिस्थिति यस्तो निर्मम भएर आउँछ–जो अकल्पनीय, अपाच्य हुन्छ । त्यो रात्रीबसको पीडादायी दूर्घटना थियो, जसले मलाई स्तब्ध बनायो–मर्माहित अवस्था सिर्जना भयो । कसरी भुल्न सकिन्छ, अझै पनि समय–समयमा झल्याँस हुन्छु ऊ कसरी हामीबाट अलग हुनसक्दछ, यति छिटै यस्तो उमेरमा पत्याउनै गाह्रो । तर कटु यथार्थ दूर्घटना थियो नै, नहुनुपर्ने भयो, भयो त भयो के गर्ने ? दूर्घटना पनि कसैको वशमा हुन्छ र ! पार्टी कामको सिलसिलामा प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय २०८० पुस २१मा प्रशिक्षण कार्यक्रममा ७ नं. प्रदेश कैलालीको टिकापुरमा जानुभएको थियो । प्रशिक्षण सम्पन्न गरेर नेपालगञ्ज, खजुरामा क. ताराकान्त आफन्तसँग भेटघाट गरि फर्किने क्रममा काठमाडौंका लागि रात्रीबसमा चढ्नु भयो । रात्रीबस रफ्तारमा कुदिरहेको थियो । कतिपयको भनाइमा बसको कुदाई त्यत्ति सन्तुलित थिएन । दाङको भालुवाङ्गमा ट्राफिक प्रहरीले रोक्न खोज्दा पनि बसको गति कन्ट्रोल भएन, अकस्मत पुलको बार तोड्दै राप्ती नदीमा खस्न पुग्यो । केहीले घटनस्थलमा नै जीवन गुमाउन पुगे भने–कतिपय घाइतेलाई उपचारको लागि नजिकको अस्पताल पुर्‍याउने काम भयो । त्यस दूर्घटनामा क. ताराकान्त पाण्डेयको पनि असामयिक मृत्यु भयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र कम्युनिस्ट क्रान्तिका एक होनहार व्यक्ति कमरेड ताराकान्तको अनायस दूर्घटनाबाट भएको यो असमायिक निधनले पार्टी र क्रान्तितर्फ अपुरणीय क्षति पुग्न गएको छ । यस दुखद दूर्घटनाको लगत्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालय सहित इच्छुक सांस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विज्ञप्ति प्रकाशित गरेर कमरेड ताराकान्त पाण्डेयको असामयिक मृत्युप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्‍यो र कलङ्कीमा श्रीमती कमरेड शिला योगी लगायत परिवारजनमा गहिरो समावेदना प्रकट गरेको छ ।

मलाई सम्झना भएसम्म कमरेड ताराकान्त पाण्डेयसँग मेरो भेटघाट र परिचय २०३८ सालमा विद्यार्थी आन्दोलनको क्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)को सातौं राष्ट्रिय सम्मेलनको दौरानमा भएको थियो । उहाँ त्यसबेला यसै सम्मेलनबाट केन्द्रीय सदस्य र म केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएका थियौँ । म भने यसै कार्यकालमा पछिल्लो एक वर्ष २०३९/४० मा महासचिवको रुपमा काम गरेँ । यसपछि पनि कमरेड ताराजी दोस्रो कार्यकालका लागि पनि आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । आठौं राष्ट्रिय सम्मेलनबाट देव गुरुङ अध्यक्ष भएपश्चात् म पार्टीको जिल्ला सेक्रेटरीको कार्यकारी भूमिकामा रही काम गर्ने भएकोले विद्यार्थीको भूमिकाबाट हटेँ । कमरेड तारा आठौं राष्ट्रिय सम्मेलनको अवधिभरका लागि विद्यार्थीको नेतृत्व तहमा रही महŒवपूर्ण भूमिका निर्वाह गर्नुभयो । विद्यार्थी सङ्गठनमा २/३ वर्षको सहकार्यको अवसरले मैले क. तारालाई नजिकैबाट चिन्ने, जान्ने र बुझ््‌ने मौका पाएँ । मेरो र उहाँ बीचको सम्बन्ध अत्यन्तै मैत्रीपूर्ण र आत्मीय बन्न पुग्यो । २०३८ सालमा नै कमरेड ताराले अखिल नेपाल युवक सङ्घको राष्ट्रिय भेलामा पनि भाग लिनुभयो र क्रान्तिमा युवकको दायित्वलाई कसरी मुखरित गर्ने भन्ने विषयमा पनि जीवन्तता दिने दृष्टान्त कोशिस गर्दै अगाडि बढ्नुभयो ।

विद्यार्थी कार्यकाल सकिएपछि २०४१ बाट म पुनः आदर्श मावि खजुरामा अध्यापन गर्न थालँे । कमरेड शीला योगी पनि यसै विद्यालयमा अध्ययन गर्नुहुन्थ्यो । हामी विचारले साथी–साथी थियौँ । कमरेड शिलाको परिवारले उहाँको विवाह गर्ने कुरा चलाएका रहेछन् तर उहाँले विचार मिल्ने केटा नल्याएकोले विवाह गर्न असहमत हुनुभएछ । प्रसङ्गवश कुरा चल्यो । यति नै बेला मैले कुरा चलाईहालेँ– ‘मसँग एउटा साथी छ, साधारण किसानको छोरा, जो पढाइमा तिक्ष्ण छ, मान्छे साधारण छ, अनि मेहनती र स्वाबलम्बी छ, उमेर मिल्छ, विचार मिल्छ, पढाई मिल्छ, यो प्रसङ्ग अगाडि बढाउँ’ भनि कुरा राखेँ । सकरात्मक उत्तर क. शिलाबाट आएपछि क.ताराकान्त पाण्डेय र क.शिलाको भेटघाट व्यवस्था खजुरामा नै मिलाइयो । दुवै जनाले मलाई पनि छलफलमा बस्न आग्रह गरेपछि तिनै जनाले खुलस्त छलफल गर्‍यौँ । छलफलकै प्रसङ्गमा दुवै जनाको सहमतिको अवस्था बन्दै गएकोले दुवै जनाको आवश्यकता महसुस गरि वैवाहिक सम्बन्धमा उपयुक्त हुने ठहरपछि विवाहको चाजोपाजो मिलाइएको थियो । म भूमिगत अवस्थामा भएकोले कमरेड शिलाको विवाहको प्रबन्ध गर्न बाँके जिल्ला पार्टीलाई दिइएको थियो । कमरेड शिलाका दाजुभाइ यस विवाहका लागि असहमत भएकोले काठमाडौँमा विवाह सम्पन्न गर्ने व्यवस्था साथीभाइको सहयोगमा पार्टीले व्यवस्थापन गर्दा विवाह सम्पन्न भयो ।

त्यसपछि २०४२ सालबाटै मलाई नेपाल कम्युनिस्ट पार्टी (मशाल)को केन्द्रीय समितिमा रही पूर्णकालीन भई काम गर्न पार्टी केन्द्रले निर्देशित गर्‍यो । मैले त्यसै गरेँ । कमरेड तारा र कमरेड शिला अध्ययन अध्यापनमा लाग्नुभयो र राजनीतिक गतिविधिमा आफ्नो सङ्लग्नतालाई दृढ सम्भव अगाडि बढाउनु भयो । दृढ अठोटका साथ क.ताराले अध्ययन अध्यापनलाई कुशलता पूर्वक लैजानुका साथै क्रान्तिकारी विचार र भावनालाई मूर्त रुपले लैजान पूर्ण निष्ठाका साथ व्यवहारमा उतार्न आवश्यकतानुसार विभिन्न जिम्मेवारी लिई भूमिका निर्वाह गर्न चुक्नु भएन ।
कमरेड ताराले पार्टी सदस्यता लिएको कति सालतिर होला, उहाँको पार्टी सदस्यता फारमको अध्याधिकबाट २०३६ साल खुल्न आएको छ । विद्यार्थी जीवनमा विद्यार्थी सङ्गठनमा र प्राध्यापनमा लागेपछि प्राध्यापक सङ्गठन र त्यसका क्रियाकलापमा, नेपाली साहित्यका विभिन्न विधामा केन्द्रीय नेतृत्वमा रही काम गर्नुभयो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घको विभिन्न नेतृत्वदायी तहमा र सहिद क. कृष्णसेन इच्छुकको नाममा स्थापित ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’को अध्यक्षका रुपमा कार्यरत हुनुहुन्थ्यो । टी.यु.को नेपाली साहित्यिक फाँटमा प्रमुख भएर धेरै समय काम गर्नुभयो । पछिल्लो समय प्रा.डा. कमरेड ताराकान्त पाण्डेय टी.यु.को सहायक डिनको जिम्मेवारी पनि सम्हाल्नुभयो । टी.यू.बाट रिटायर भएपछि पनि पिएचडी होल्डर विद्यार्थीका लागि प्रशिक्षक भई काम गर्दै आउनुभएको थियो । जीवनलाई व्यस्त राख्दै कुनै पनि समयमा केही न केही सिर्जनाको काममा लागिरहने कमरेड ताराको स्वभाव थियो । आफ्नो विषयमा दृढता र निष्ठाका साथ लगनशील हुनु अनि आफ्नो गन्तव्य चुम्नु कमरेड ताराको अपनत्व थियो । हरेक प्रतिकूल परिस्थितिमा पनि संयमितता अपनाउनु र धैर्यतापूर्वक आफ्नो कर्ममा सङ्लग्न हुनु उहाँको शैली थियो ।

विद्यार्थी जीवनमा आर्थिक विपन्नताका कारण कमरेड ताराले विभिन्न दुःख कष्ट झेल्दै आफ्नो अध्ययनलाई निरन्तरता दिनुभयो । पढाइमा अब्बलता प्रदर्शन गर्नुभयो । यसै क्रममा पटकपटक निरङ्कुश पञ्चायती प्रशासनले कम्युनिस्टको आशङ्कमा गिरफ्तार गर्नु र यातना समेत दिएको थियो । त्यस प्रकारको दमन र प्रताडनाले उहाँ झन् पछि झन् खारिँदै निखारिँदै निष्ठापूर्वक क्रान्ति र मुक्तिको मिसनमा आफ्नो भूमिका निर्वाह गर्न कहिल्यै चुक्नुभएन । उहाँले अध्ययन र पार्टीले दिएका जिम्मेवारीमा लगनशीलता पूर्वक सन्तुलन कायम गर्दै काममा डटिरहनु भयो । यस प्रकारको निष्ठा र आदर्श अहिले पेशेपेवर क्रान्तिकारीमा लागेका कतिपय कमरेडहरुमा सायदै प्राप्त होला ।

साहित्य तथा सिर्जनामा रमाउने, गुनासो कहीँ कतै नगर्ने, रिसाएको अनुभूति नदिने, आत्म प्रशंसा नगर्ने, प्रशंसा गरेको नरुचाउने, यथार्थ र वस्तुपरक कुरा प्रस्तुत गर्ने, त्यागको भावना बोकेको एउटा कर्मठ व्यक्तित्वको नाम हो– प्राध्यापक डाक्टर कमरेड पाण्डेय र उहाँको जीवन चर्चा । पत्रपत्रिकामा काम गर्ने, प्रकाशनमा सघाउने, समसामयिक लेखहरू लेख्ने र प्रकाशित गर्ने गर्नुहुन्थ्यो । पत्र–पत्रिकामा कमरेड शक्ति लम्सालसँग सहकार्य समेत गर्नुभएको थियो । प्रगतिशील साहित्यिक सिर्जना, समालोचना र राजनीतिमा उहाँको त्यत्तिकै लगाव थियो । उहाँको श्रीमती कमरेड शिला योगी पनि कविता लेखन र साहित्यका अन्य विधामा रुचिका साथ सङ्लग्न भएकोले दुईको दाम्पत्य जीवन सहज र रसिलो किसिमले बित्दै गयो । सहिद कमरेड कृष्ण सेन ‘इच्छुक’ सँग उहाँको घनिष्टता थियो । उहाँहरुका एक आपसका विचार, भावना र कतिपय अवस्थाका सहकार्यले मित्रता प्रकट बन्यो । उहाँले कमरेड शक्ति लम्साल र कृष्णसेन ‘इच्छुक’ लाई आदर सम्मान गर्नुहुन्थ्यो ।

आफ्नो स्वास्थ्यको अवस्थाबारे क. ताराकान्त अत्यन्तै सजग र संवेदनशील हुनुहुन्थ्यो । नियमित व्यायाम गर्ने, वर्किङ गर्ने, उहाँको दिनचार्य नै बनेको थियो । खानपिनमा पनि उच्च सतर्कता साथ सादा खानपिन र सादगी जीवन आचरणमा निकै ध्यान दिने गर्नुहुन्थ्यो । काममा कहिलेकाहीँ बाहिर निस्कँदा पनि दैनिक आहार–विहारका विषयहरू सकेसम्म मिलाएर लैजाने वा त्यही किसिमको व्यवस्थापनमा पनि ध्यान दिने गर्नुहुन्थ्यो । जसका कारण उहाँमा खासै रोग थिएन । चुस्त–दुरुस्त नै हुनुहुन्थ्यो ।

प्रा.डा. कामरेड ताराको आफ्नो जीवनसङ्गिनी कामरेड शिला योगीसँग निरन्तर सहकार्यले विश्वासनीय साथीको रुपमा दाम्पत्य जीवन भरिलोसँग चलेको थियो । कमरेड तारालाई यो स्तरमा विकास गरी दृढतापूर्वक अघि बढ्ने प्रेरणा र साहस उहाँको जीवन सङ्गिनी कमरेड शिला योगीको पनि अहम् भूमिका रहन गएको छ । हाम्रो त्यति धेरै भेटघाट र एउटै कमिटीमा रही काम गर्ने अवसर त भएन तर क्रान्तिकारी सङ्घर्षका दौरान यदाकदा कार्यक्रमहरुमा भेटघाट भएपनि सूचना सम्पर्कबाट भने हामी टाढा भएनौं तथा बेखबर थिएनौँ । क्रान्तिकारी विचार र आदर्शका धनी मालेमावादी क. ताराकान्तसँगको सम्बन्ध अत्यन्तै मित्रतापूर्ण रह्यो ।

कामको सिलसिलामा पहिलेदेखि नै काठमाडौंमा रहँदै आएकोले सामुहिक परिवारबाट व्यवहारतः कमरेड ताराकान्त अलग्गै हुनुहुन्थ्यो । परिवारमा उहाँका दुईवटा आमाहरु मध्ये कान्छी आमा नन्दमाया पाण्डे र बुबा लोकनाथ पाण्डेका छ वटा सन्तान मध्ये ५ दाजुभाइ मध्यका माइला छोराका रूपमा कमरेड तारा २०१७ साल अश्विन ७ गते जन्मनुभयो । दिदी बहिनीहरूमा एकमात्र बहिनी हुनुहुन्छ । बहिनीको विवाह भइसकेकोले उहाँ आफ्नै घरमा हुनुहुन्छ । २०४२ सालमा कमरेडको २५ वर्षको उमेरमा कामरेड शिला योगीसँग विवाह भयो । उहाँका एक छोरी डाक्टर तितिक्षा शर्मा हुनुहुन्छ । छोरीको विवाह ज्वाई सौरभ थापासँग भइसकेको छ । आमा बुबा पहिल्यै बितिसक्नु भएको छ । छोरी ज्वाईं दुवै विदेशमा भएकोले कमरेड तारा र उहाँकी जीवनसाथी कामरेड शिला योगी मात्र काठमाडौंको कलङ्की स्थित खड्का गाउँको घरमा बस्दै आउनु भएको थियो । आफ्नो श्रीमान कमरेड ताराकान्त पाण्डेको असामयिक निधनका कारण कामरेड शिला योगी घरमा एकल जीवन बिताउन बाध्य हुनुभएको छ । यो पीडादायी शोकलाई शक्तिमा बदल्नु र कमरेड ताराबाट प्रेरणा लिएर अघि बढ्न सक्नु पर्दछ ।

कमरेड तारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वरिष्ठ प्रदेश सदस्य हुनुहुन्थ्यो । उहाँ प्राध्यापकबाट रिटायर अवस्थामा अब पार्टीको पेशेवर कार्यकर्ता भई काम गर्ने योजनामा हुनुहुन्थ्यो । कमरेड ताराले हमेशा विचारधारात्मक र दुई लाइन सङ्घर्षमा सदैव क्रान्तिकारी धाराको पक्षधरता लिनुभयो । दृढ अभिव्यक्ति दिने र जुजारु ढङ्गले क्रान्तिकारी गतिविधिमा लाग्ने उहाँको स्वभाव थियो । नेपाली साहित्यका एक मूर्धन्य व्यक्तित्व वरिष्ठ मार्क्सवादी समालोचक एक प्रगतिशील साहित्यिक स्रष्टा सौन्दर्यचिन्तक साथै एक मालेमावादी चिन्तक र साधकका रूपमा उहाँ परिचित हुनुहुन्थ्यो । विचारमा स्पष्ट धारणा राख्ने, क्रान्तिकारी मूल्य मान्यता र सदाचारको धनी साथै एक होनहार प्रखर बौद्धिक व्यक्तित्व कामरेड ताराका विशेषता थिए, तर उहाँले वौद्धिक आडम्बरलाई कहिल्यै स्थान दिनुभएन ।

अत्यन्तै मिलनसार, शालिन, तिक्ष्णता, साहित्य सर्जक, मालेमावादी दर्शन र व्यवहारलाई आत्मसाथ गर्ने, उत्तर आधुनिकतावाद र नव मार्क्सवादका प्रखर आलोचक, स्पष्ट धारणा राख्ने व्यक्ति प्रा.डा. कमरेड ताराकान्त पाण्डेय हुनुहुन्थ्यो । उहाँका विभिन्न विषयमा दशवटा कृतिहरू प्रकाशित भइसकेका छन् । ती सबै पढ्न योग्य र शिक्षाप्रद छन् । कामरेड ताराले ऐठन नामक एक उपन्यास जो महान् जनयुद्ध सम्बन्धी विषयको विद्रुपिकरणमा लेखिएको छ को समालोचना गर्ने तयारी गर्दै हुनुहुन्थ्यो तर त्यो पूरा हुन सकेन । अन्य कतिपय प्रकाशनार्थ तयारी अवस्थामा र कतिपय प्रकाशनका लागि थप पहल लिनुपर्ने छन् ।

क्रान्तिका दुई हतियार मध्ये सशस्त्र जनमुक्ति सेना र अर्को साहित्यका विभिन्न विधामा, कला र सौन्दर्य सम्बन्धी विषयमा कलमको चोटिलो अस्त्र प्रयोगमा पारङ्गत योद्धा कमरेड प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय हुनुहुन्थ्यो । कमरेड ताराका उपरोक्त चिन्तन, व्यवहार र क्रान्तिकारी आदर्शको अनुकरणीय शिक्षा लिँदै क्रान्तिकारी गतिविधिमा दृढतापूर्वक अघि बढ्नु नै उहाँप्रतिको वास्तविक सम्मान एवम् आदर हुनेछ । उहाँको समग्र जीवन र जीवनशैलीबाट पार्टी र समाजले उदाहरणीय एवम् अनुकरणीय व्यक्तित्वको रुपमा आत्मासाथ गर्नु कामरेड ताराप्रतिको साँचो अर्थमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान हुनेछ । अन्त्यमा कमरेड ताराप्रति मेरो हार्दिक श्रद्धाञ्जली एवम् लाल सलाम ! २०८१ पौष २ गते