दु:खदायी
विचारको इतिहासमा
सायद सबैभन्दा दु:खदायी हुन्छ
विचारहीन हुनु
एउटा भयानक दुर्घटना जस्तै ।
मभित्र
एउटा कोइली छ म भित्र पनि
हृदयका हाँगाहरूमा बसेर कहिले
कहिले मनको आकाशमा उड्दै माथि माथि
कहिले जीवनका हरिया पातहरूका बिचमा
नदेखिने गरी लुकेर
कहिले पसेर आँखाहरूको अतल गहिराइमा
र निथ्रुक भिजेर आँसुले
क्रोधका गुफाहरूमा पसेर कहिले
र त्यहाँबाट लावा बनेर निस्केर
कुहु कुहु गर्छ, गरिरहन्छ
र त्यो कविता बनेर पोखिन्छ धर्तीभरि ।
रातो गुलाफ
हजारौं पटक मारे जन्मनेछु हजारौं पटक
हजारौं पटक मेटे मेरा पाइतलाका डोबहरू
पुनः बन्ने छन् हजारौं पटक
रातो गुलाफ हुँ यस धर्तीको
जतिपटक मारे पनि
जन्मिने छु
जन्मिने जमिन रहेसम्म
र फुल्नेछु धर्तीभरि ।
शासक
बहिरा छैनन्
कुनै समस्या छैन श्रवणेन्द्रीयमा
उनीहरू सङ्गीत सुन्छन् र आनन्दित हुन्छन्
प्रशंसा सुन्छन् र तृप्त हुन्छन्
सुन्ने कलामा पोख्त छन्
उनीहरू प्रवचन सुन्छन्, भजन सुन्छन्, पुराण सुन्छन्
सुन्छन् र झङ्कृत हुन्छन्
विलक्षण छ सुनाइ
सुनाइमा कुनै दोष छैन
बस् उनीहरू आलोचना सुन्दैनन्
आलोचना सुन्नु र फेरिनु
उनीहरूको इतिहास र वर्तमान होइन
उनीहरूको शासनको प्रदेशमा
आलोचना सिवाय अरू कुनै कुरा वर्जित छैन ।
मुचुल्का
आत्महत्याका निम्ति
कसरी विवश भए उनीहरू
कति गहिरो थियो दुःखको कथा
ऋणले कुप्रिएको ढाडको भाषा कस्तो थियो
कस्तो थियो चिन्ताले छिया छिया परेको कलेजो
अपमानले परेका कति प्वालहरू थिए मुटुमा
घात- प्रतिघातको आघात सहेको
मस्तिष्क कस्तो थियो
कसरी भङ्ग भएको थियो जीवनको लय
जीवनको आभिलेखमा कोरिएका
संवेदना, घृणा, आक्रोश र निराशाका चित्रहरू कस्ता थिए
मुचुल्कामा कहीं थिएनन् यी प्रश्नका उत्तरहरू
सपाट भाषामा लेखिएको सरकारी मुचुल्कामा
पटक पटक दोहरिएर आएको
एउटै पदावली थियो- सामूहिक आत्महत्या ।