शनिबारीय साहित्य ः पुस्तक समीक्षा
*** ***
मुक्तिको क्यानभासमा कवितासङ्ग्रह कवि गौरी दाहालको दोस्रो कविता कृति हो । यसअघि स्वाधीनताको रोजाइ (कवितासङ्ग्रह, २०६३), र पछिल्लो समय प्रतिरोध कविता सङ्ग्रह प्रकाशनमा ल्याएकी गौरी दाहालका एउटा खण्डकाव्य र तीन ओटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । नेपाली साहित्यको क्षेत्रमा निरन्तर तीन दशक साहित्य रचनामा सक्रिय गौरीले नेपाली कवितालाई अलि भिन्न ढङ्गले अगाडि बढाएकी छिन् । नारी आन्दोलन र यसको उन्नत यात्रातर्फको चासो राख्नेहरुका लागि कवि गौरीले आफ्ना विचारलाई कवितामार्फत् प्रस्तुत गरेकी छिन् । कवि गौरी दाहालका कविताहरुको पाठकहरुले राजनीतिक विषयलाई मात्र उनले लेख्ने गरेको आरोप लगाउन पनि सक्छन् । त्यसो त उनको लेखनमा गुणात्मक राजनीतिप्रतिको चासो रहेकै छ । कवि गौरी दाहालको कवित्व बारे धेरै कवि एवम् समीक्षक समालोचकहरुले विभिन्न हिसाबले चर्चा गरेका छन्, ‘गौरी वर्ग सचेत लेखिका हुन् । उनका कवितामा निम्न वर्गको पीडा बोल्छ । त्यसबाट मुक्तिको आकाङ्क्षा प्रकट हुन्छ, क्रान्तिचेत छचल्किन्छ ।’ समालोचक ईश्वरचन्द्र ज्ञवालीको उपर्युक्त वाक्यहरुमा असहमत हुनु पर्ने अवस्था छैन । राजनीतिले सबै विषयको क्षेत्रलाई सपार्न लाग्नै पर्दछ भने अन्य क्षेत्रले गुणात्मक र जनप्रेमी राजनीतिलाई सहयोग गर्नुपर्दछ । विगतदेखि वर्तमानसम्म पनि जनताका नाममा भएका आन्दोलनहरुले जनताको मुक्तिको लागि अपेक्षाकृत कार्य सम्पादन गर्न नसकेको विषय कविको लेखनीको केन्द्रीय विषय बन्न पुगेको छ । यसै सन्दर्भमा समालोचक जगदीशचन्द्र भण्डारीले गौरी दाहालको पुस्तकको भूमिका लेखनका क्रममा भनेका छन्, ‘गौरी दाहालका कविता यथास्थितिवादी, सुधारवादी तथा संशोधनवादी सौन्दर्य दृष्टिबाट सङ्कुचित भएका छैनन् । उनका कवितामा क्रान्तिकारी विद्रोहकर्मी सौन्दर्यदृष्टिको प्रयोग गरिएको छ ।’ भण्डारी अझ अगाडि बढेर भन्छन्, ‘यिनमा नवीन सौन्दर्य छ र स्वाधीनताको विशिष्ट नाद छ ।’ एउटी नारी स्रष्टा परिवारको जिम्मेवारी सम्हाल्दै आफू बसेको देशको राजनीति राम्ररी बुझेर अग्रगामी पक्षतर्फ निरन्तर लम्कन उत्साहित गर्ने र तमाम विकृति–विसङ्गतिलाई हटाउन प्रगतिशील चेत बाड्न कविता लेख्छिन् भने त्यो नै एउटा सुन्दर र सकारात्मक पक्ष हो । त्यतिमात्र नभएर कवि गौरीका कविताले जनजीविकाको विषय, जनआन्दोलन र जनयुद्धले स्थापित गरेको शक्ति र परिवर्तनको आकाङ्क्षा कुण्ठित हुँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरेकी छिन् ।
उनलाई कवि केशव सिलवालले गरेको टिप्पणीबाट पनि उनको काव्यिक यात्रा कस्तो छ ? भन्ने बुझ्न सजिलो बनाउँछ । ‘उनी पोटास खन्याउने साहस गर्छिन् जुम्राका सन्तान विरुद्ध । उनमा आक्रोश छ भ्यागुताहरु पालेर बसेको राजधानीप्रति ।’ माथिको विषयप्रस्तुतिबाट पनि थाहा हुन्छ नेपाली साहित्यमा विचार परिवर्तन गरेर मात्र व्यवहारलाई ठिक लयमा लैजान सकिन्छ भन्ने थोरै स्रष्टाहरुमध्ये गौरी दाहाल देखिएकी छिन् । यो नेपाली साहित्य यात्राको प्राप्ति हो भने निराशा र कुण्ठाको एक हदको समाप्ति पनि हो । उनका कविताहरुमा शताब्दीयौ.देखिको दमन, दलन र उत्पीडनमा परेका नारीहरुले भोग्नु परेको पीडा मात्र होइन थप सशक्त विचारले नेपाली राजनीतिमा ठुलै भकम्प ल्याउन सफल जनयुद्धको विषयलाई समेत विचारको मालामा उन्ने काम भएको छ ।
‘देशमा सामाजिक रुपान्तरणको सख्त जरुरत छ र गौरीलाई देशको वर्तमानले त्यस जरुरतमाथि आँखा चिम्लिरहेको भान भएको छ ।’ समालोचक एवम् कवि सुधा त्रिपाठीको माथिको भनाइले आजको नेपालको हालतप्रति सन्तुष्ट हुन सक्ने स्थिति छैन । त्यसमा पनि सचेत नागरिक यी सबै अवाञ्छनीय खेल टुलुटुलु हेरेर बस्न कहाँ सक्ला र ! कवि गौरी दाहालको कविताले आफ्नै खालको मौलिक पथ लिएको छ । जहाँ पारिजात, कुन्ता शर्मा, सुधा त्रिपाठी, निभा शाह, शोभा दुलाल, सत्या पहाडी, कल्पना चिलवालजस्ता कविहरुका आवाजप्रति सोही रुपमा प्रकट भएको पाइन्छ । नारी स्रष्टाका नाममा विशुद्ध नारी लेखनमा रमाउनेहरुसँग कवि गौरी दाहालको तुलना हुन सक्दैन । नेपाली समाजमा समस्याको जालो वर्गभित्र जाति, लिङ्ग अनि भौगोलिक आधार पनि भएकाले विविध विषयको समाधान खोज्न यहाँको मौलिक पक्षलाई राम्ररी बुझ्नै पर्दछ । कवि गौरी दाहालले नारी हुनुको नाताले नारीको विषय उत्खनन् त गरेकी छिन् तर विशुद्ध नारीको मुक्ति नारीले बोल्दा मात्र पनि त हुँदैन त्यसमा पुरुषलाई जिम्मेवार बनाउनै पर्दछ भन्ने आशय प्रकाशित कविता सङ्ग्रहभित्रका कविताहरुले प्रस्तुत गरेको देखिन्छ । कवि आफ्नो कविताबारे भन्छिन्, ‘पछाडिको चित्रहरुको मूल्य र मान्यता स्थापित गर्न अगाडिको क्यानभासमा सर्वहारावर्गको समुचित र अर्थपूर्ण भविष्य कोरिनु पर्दछ ।’ कवि गौरी दाहालले राजनैतिक आन्दोलनबारे बुझ्न थालेपछि केही लेख्न थालेको स्वीकार गरेकी छिन् । जीवन यात्रामा आफूले सिकेका कुरालाई इमान्दार भएर प्रस्तुत गर्ने क्रममा जन्मिएका कविताहरुले आम मानिसलाई जगाएकै छ साथमा कवि आफैलाई पनि जनसंवादमा जोडेको छ । विगतमा भएको आन्दोलनलाई तथाकथित नेतृत्वले बिचैमा धोका दिएर स्थापित हुन नसकेको जनताको अधिकारको पाटो अर्को आन्दोलनले तय गर्दै पुरा गर्नुपर्ने अभिव्यक्ति कविताहरुमा उपस्थित छ ।
कवि गौरी दाहालका कविताहरुले नेपाली समाजलाई राजनीतिसँग हेर्ने दृष्टिकोण अलि फरक ढङ्गले प्रस्तुत गरेको छ । कवि आफ्नो आस्था र आस्थाको विषयलाई एउटा फरक लयमा प्रस्तुतगर्न चाहन्छिन् भने आफूले रोजेको निरन्तर क्रान्तिको बाटोमा प्रतिबद्ध यात्रीका रुपमा आफूलाई उभ्याउन तयार रहेकी छिन् । कवि गौरी दाहालले नेपाली राजनीतिलाई महिला आन्दोलनले सच्याउन पुरुषलाई जिम्मेवार बनाउनै पर्ने उद्घोष गरेको छ । नारी जत्तिकै पुरुष जिम्मेवार र समर्पित हुने हो भने आजसम्मको हाम्रो सभ्यताको यात्राले सार्थकता पाउनेमा विश्वस्त हुँदै नारीहरुले गरेको कठोर सङ्घर्षको चर्चा गर्न पुग्दछिन्,
उनले पिठ्युँको एस एल आर सम्हाल्दै
कराइमाथि रिंगाइरहँदा दाबिलो
र मैले
भोकले गलेको नानीलाई पर्खाउँदै
आगोमा एकत्रित भएर
मिलाइरहँदा दाउराहरु
अझ उच्च बनेको थियो
भान्छाको सौन्दर्य
– भान्छाको सौन्दर्य (मुक्तिको क्यानभासमा, पृ. १६)
सङ्गठनको विचारको बलमा नारीले लडेको मुक्तिको युद्धमा रहेको सुन्दर पक्षलाई कवि उपलब्धिका रुपमा मात्र नलिएर त्याग र बलिदानको एउटा ऐतिहासिक गाथाको रुपमा स्वीकार गर्दछिन् । ‘शङ्का बढेको छ’ शीर्षकको कवितामा कविले रुपान्तरणको पाटो बलियो नबन्दै आन्दोलन कमजोर बनेको कुरालाई यस कवितामा प्रस्तुत गरेकी छन् । सुंगुरको खोर सफा गर्न गएको किसान खोर सफा नगरेर त्यहीँ अलमलिएपछि सफा हुनुपर्ने खोर पनि सफा नभएको र किसान स्वयं फोहोरी बनेको परिदृश्यलाई सम्झाउने हिसाबको प्रस्तुति यहाँ प्रस्तुत भएको छ ।
समाजको विरुपतामा
झोसिएको मसाल
विना रुपान्तरण
आगोको बीउ बाँड्नेहरुबाट नै
निस्तेज पार्न खोजिएकैले
आगोको अपमान भएको शङ्का बढेको छ ।
–शङ्का बढेको छ, (मुक्तिको क्यानभासमा, पृ. २१)
झण्डै एक शताब्दी भयो नेपाली जनताले मुक्तिको आवाज उठाएको, विद्रोहको झण्डा फहराएको । आजसम्म पनि उपलब्धिको मापन गर्ने हो भने नगण्य मात्र रहेको कुरालाई सङ्केत गर्दै कवि दशवर्ष लामो जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त राजनैतिक अधिकार कमजोर बन्न थालेको कुरातर्फ विषयलाई केन्द्रित गर्दछिन् । कविताहरु एकपछि अर्को गर्दै मनन गर्दा हामी समयको बर्बादीको खेलमा त छैनौं ? शङ्का उब्जिएको छ । गणतन्त्र घोषणा भएको केही वर्षमै नेतृत्वले गुमाएको होस फिर्न गाह्रो हुने कुरा उनले प्रस्तुत गरेकी छन् । जनताको विशाल फौजलाई चराको संज्ञादिँदै कवितामार्फत् चराहरु जहिल्यै होसियार हुनुपर्छ भन्छन् ।
दाउ हेरिरहने भक्षक बाजदेखि
बाजका अङ्कुसे नङ्ग्राहरुदेखि
बढी सचेत हुनुपर्छ
बादल नलागेको आकाशमुनि
अझ सचेत
चराहरु
–सचेत हुनुपर्छ चराहरु (मुक्तिको क्यानभासमा, पृ. २७)
कवि विचार र कर्मको एकत्वद्धारा देश बदल्न हिँडेका फौजी चराहरुलाई हिँस्रक चराहरुले नै सक्ने उदाहरण चित्रात्मक ढङ्गले प्रस्तुत गर्न पुग्छन् । राष्ट्रिय राजनीतिमा होस् वा अन्तर्राष्ट्रिय राजनीतिमा ठुला देशले अत्यन्त मसिनो ढङ्गले सूचना लिएर हाम्रो अस्तित्वलाई समाप्त गर्न लागि परेको विषयलाई प्राकृतिक बिम्बको सहाराले कवि कलात्मक ढङ्गले ओकल्दछिन् । साँच्चै सामान्य वा सोझा चराहरु आफ्नो अस्तित्व जोगाउन नसक्ने सङ्कटमा छन् । जनताको बलमा राजतन्त्रको अन्त्य भएको विषयलाई पुरानोको ध्वंश मान्ने हो भने र गणतन्त्रलाई नयाँ भवनको जग ठान्ने हो भने एजेण्डा बोक्नेहरु कमजोर बन्दा प्रतिक्रियावादीहरुले एजेण्डा चोरेर आफ्नो बनाउँदा पनि चुपचाप विचारका यात्रीहरु किन यति कमजोर ? भन्ने प्रश्न गरिएको छ ।
म सपना देख्न अभ्यस्त भइसकेको छु
अब चोरैचोरको अटेसमटेसस बीच पनि
देखिरहन्छु सपना र बाँडिहरन्छु
सपनाका बिम्बहरु
सुन्दर संसार पुग्ने
काँडाघारी पन्छाउन
–मेरो सपना (मुक्तिको क्यानभासमा, पृ. ८६)
सायद यही नै हो क्रान्तिकारी आशावादी चेतना र त्यसले निर्माण गरेको चिन्तन । कवि गौरी दाहालले आफ्नो जीवनमा जानेका, बुझेका कुरालाई सबैको साथ परिवर्तनमा लगाएकी छन् । लामो समयदेखि नयाँ सपना बुनेर आँधी बेहरीमा यहाँसम्म आएकाहरुलाई प्रतिक्रियावादी सत्ताले कमजोर बनाएपनि आगामी दिनमा आशाका साथ हिँड्नै पर्छ । केही तरमाराहरुले जनतालाई भ्रमित पार्ने र आन्दोलनलाई क्षति पु¥याए पनि नयाँ सपना देखिरहनु पर्छ ।
कवि गौरी दाहाल युग परिवर्तनको चाहना गर्नेहरुले आफूलाई गुणात्मक रुपमा परिवर्तन नगरे दुर्घट्ना हुने उद्घोष गर्दछिन् । उनका कविताहरुले एकपछि अर्को सैद्धान्तिक बहसलाई सार्थक बनाउँदै आस्थाका यात्रीहरुले सानो कुरामा चिन्ता नलिएर गहिरो चिन्तन प्रणालीको विकास गर्न लाग्नुपर्ने अठोट समेत गरेकी छन् । उनको कलम सुन्दर संसार निर्माण गर्ने यात्रामा अरुलाई जगाउन र आफैंलाई पनि पटक पटकको परीक्षामा खरो उतार्न तल्लीन रहेको देखिन्छ । एकाध बाहेक गद्यमै रचना गर्ने गौरीका गद्य कविता शक्तिशाली विचारको बाहक बन्न पुगेको छ । विषयको छनौटमा रहेको एकरसताले अझै ढिलो गरेर भएपनि परिस्कृत लेखन आइदिएको भए हुने भन्ने लाग्नु स्वाभाविकै हो । विचारलाई प्रस्तुत गर्दा विगतको गौरवमय सङ्घर्ष जसरी प्रस्तुत हुनुपर्ने हो त्यो कमजोर रहेको देखा पर्दछ । विचारलाई निस्कर्षमा पु¥याउन के कस्ता उपाय आवश्यक होला ? यसतर्फ पनि कलम अलि अलमल भएझैं लाग्छ । सरल भाषामा प्रस्तुत कविताहरु सम्प्रेषणीय रहेका छन् ।
०००