काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ४४ रिक्त स्थानमा मंसिर १६ मा हुने स्थानीय उपचुनावको भण्डाफोरसहित बहिस्कार गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस वक्तव्यमा ४ बुँदे भण्डाफोर/बहिस्कारका कार्यक्रम समेत सार्वजनिक गरिएको छ । बहिस्कार कार्यक्रमहरुमा १) संसदीय व्यवस्थाको भण्डाफोर गर्दै पार्टी जिल्ला समितिहरुले वक्तव्य दिने, २) व्यापक रुपमा पर्चा वितरण, भित्तेलेखन र ब्यानर प्रदर्शन गर्ने, ३) भण्डाफोर सभाहरु गर्ने । र, ४) सम्बन्धित उम्मेद्वारहरुलाई नउठ्न पार्टीका तर्फबाट आफ्नो कुरा स्पस्ट गर्ने । रहेको छ । वक्तव्यमा सबै तहहरु, जनवर्गीय संगठनहरु, आम जनसमुदाय र वामपंथी, क्रान्तिकारी जनवादी र देशभक्तहरुलाई यस चुनावको बहिष्कार गर्न आह्वान आव्हान गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत वि.सं. २०८१ को मंसीर १६ गते हुने भनी घोषणा गरिएको रिक्त ४४ स्थानको स्थानीय उपचुनावले नेपाली शोषित–उत्पीडित र श्रमजीवी जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली जनतालाई के कुरा राम्रोसँग जीवनानुभूति भइसकेको छ भने संसदीय व्यवस्था र यस अन्तर्गत हुने चुनाव ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो ।’ हाल यहाँ तथाकथित कम्युनिस्टहरुको चुनावमा रहेको सहभागिता र उनीहरुको शासनमुनि जनताको भोगाइले यही भनाइलाई सावित गरेको छ ।
सर्वविदितै छ, कम्युनिस्टहरुले चुनावलाई आफ्नो रणनीति पुरा गर्ने कार्यनीति बनाउनुपर्छ । उनीहरुले तात्कालिक परिस्थितिको ठोस विश्लेषण गरी बहिष्कार वा उपयोग गर्दछन् । रणनीतिलाई फाइदा हुने शर्तमा उपयोग र बहिष्कार दुवै गर्नुपर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यनीतिका नाममा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावमा भाग लिने र चास्नीको झिंगा बनी त्यसैलाई रणनीति बनाउने समस्या रहेको कुरा जगजाहेर छ । नेकपा (एमाले) र नेकपा (माके) यही कार्यनीतिको चास्नीमा डुबिरहेको दृश्य सबैले हेरिरहेकै छन् । त्यसकारण चुनाव रणनीतिक महत्वको कार्यनीति भएकोले हामी आम जनसमुदायलाई होसियार रहन विशेष अनुरोध गर्दछौं ।
नेपालमा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावबाट नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । यो पुँजीवादी अर्थव्यवस्थामा आधारित पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत हुने चुनाव होइन, बरु दलाल पुँजीवादी अर्थव्यवस्थामा आधारित दलाल संसदीय व्यवस्था अन्तर्गत हुने रिक्त स्थानको स्थानीय चुनाव हो । आज नेपालमा संघीय, प्रादेशिक र स्थानीय चुनावमा जित्नेहरु जनप्रतिनिधिहरु होइनन्, बरु नवधनाढ्य र दलाल पुँजीवादका पुच्छर बन्दै गएका छन् । स्थानीय निकाय स्वयं भ्रष्टाचारका शिकार बन्दै गएका छन् । पालिका प्रमुखहरुको भ्रष्टाचारको साझेदारी नातावादसँग घनिष्ट रुपले जोडिएको छ ताकि भ्रष्टाचारको अलिकति पनि आम्दानी परिवारबाहिर नजाओस् । स्थानीय निकायका कर्मचारीहरु योग्यताका आधारमा होइन, नाता वा आफ्नै पार्टीको सदस्य भएको आधारमा नियुक्ति गरिन्छ । शोषित– उत्पीडित वर्गका मानिसहरु चुनिएर जनपक्षीय कार्य गर्ने स्थिति नै छैन । स्थानीय चुनाव पनि नव धनाढ्यहरुको कब्जामा परिरहेको छ । एमाले र माकेको चुनावमा भाग लिने कार्यनीति वास्तवमा रणनीतिमा बदलिएको छ र त्यसले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई बलियो बनाउन, जनसमुदायको क्रान्तिकारी भावनालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी चेतनालाई धमिल्याउन, क्रान्तिकारी पार्टी र संगठन निर्माणमा असमर्थ बनाउन र सामाजिक जीवनको विकासमा व्यवधान खडा गर्न मद्दत गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस चुनावमा भाग लिनुको परिणाम पनि अर्को परिस्थिति तयार नभएसम्म यही हुनेछ । यसको साथै हाम्रो पार्टीका सबै तहहरु, जनवर्गीय संगठनहरु, आम जनसमुदाय र वामपंथी, क्रान्तिकारी जनवादी र देशभक्तहरुलाई यस चुनावको बहिष्कार गर्न आह्वान गर्दछौं । त्यसकारण हाम्रो पार्टी यो रिक्त स्थानीय चुनावको निम्न कार्यक्रमका साथ बहिस्कार गर्दछ :
१) संसदीय व्यवस्थाको भण्डाफोर गर्दै पार्टी जिल्ला समितिहरुले वक्तव्य दिने ।
२) व्यापक रुपमा पर्चा वितरण, भित्तेलेखन र ब्यानर प्रदर्शन गर्ने ।
३) भण्डाफोर सभाहरु गर्ने ।
४) सम्बन्धित उम्मेद्वारहरुलाई नउठ्न पार्टीका तर्फबाट आफ्नो कुरा स्पस्ट गर्ने ।
मिति ः कार्तिक २८, २०८१’