शनिबारीय साहित्य : कविता
*** ***
भरखरै अर्को पाहुनालाई
बिदा गर्ने बित्तिकै
हजुर शहर आउने कुराले
म हर्षको उन्माद्ले भन्दा
बिस्मातको ब्याथाले थलिएको छु
ममाथि कृपा गरेर
हजुर अहिले नआइ
जहिले आए पनि हुन्छ ।
भएको जागिर छुटेको
ठयाक्कै अर्को जागिर नभेटिएको
महङगीले डसेर
अभाव नै अभावको विष वमन गरिरहेको
भाडा तिर्न नसकेर घरबेटि सार्हैरिसाएको बेला
हजुर आएर पनि
तितो अनुभव लिएर फर्कनु हुनेछ
हजुर अहिले नआइ
जहिले आए पनि हुन्छ ।
मैले कसरी देखाउनु
रित्तो सिलिन्डर ?
कसरी देखाउनु रासन सकिएको
निम्छरो भान्साकोठा ?
सम्भावना सकिएको बाटोको नक्शा
लाचार जीवनको आफ्नै विवसता
खुलेरै खै के भन्नु र?
यति कुरा त हजुर आफैले बुझिदिए हुन्छ
हजुर अहिले नआइ
जहिले आए पनि हुन्छ ।
हजुर शहर आउँदा
विमानस्थल वा बसपार्कमा
लिन जानै पर्यो
दायित्व मेरो हुँदा हुँदै पनि
बाहाना बनाएर
टयाक्सि भाडा
अस्पतालको चेकजाँचको बिल
पशुपतिको दर्शन
चिडियााखानाको टिकट
कसरी हजुरलाइ तिराउनु ?
यतिबेला त
शरमले पनि शरम मानिरहेछ
हजुर अहिले नआइ
जहिले आए पनि हुन्छ ।
हजुर आउँदा
गाउँको कोसेली स्वीकारनै पर्यो
त्यसको सयौं गुणाबेसी
खानपान स्वागत सत्कार गर्नै पर्यो
गाउँ फर्किदा लत्ताकपडा
मरमशलाको कोसेली पठाउनै परयो
भोक ओछ्याएर
भोकनै ओढनु पर्ने
अबस्थाको सिर्जना गरेर
यो शहरले असक्षम सावित गरिरहेछ
तपाईंले चाहेजस्तो स्वागत सत्कार नहुने
संभावना बढिरहेको छ
पाहुना महोदय
हजुर अहिले नआइ
जहिले आए पनि हुन्छ ।
शहरमा बसेर
नामदाम दुबै कमाएको
सय डिग्रीको हजुरको मप्रतिको सोचाइ
ऐनाझै छर्लङ्ग
मेरो यथार्थ प्रतिविम्बित भएपछि
जिरो डिग्रीमा झर्ने छ
हजुर सगसगै
मेरो यथार्थको समाचार
गाउँभरि सनसनि फ़ैलिने छ
मलाई आशा छ
हजुरले मलाई
यो महासङकटबाट बचाउनु हुनेछ
पाहुना महोदय
हजुर अहिले नआइ
जहिले आए पनि हुन्छ ।
२०८१ साउन १० ललितपुर