शनिबारीय साहित्य : कविता
*** ***
ओरालो झरिरहेकाे जीवनकाे
कुनै थुम्काेमा बसेर
यहाँसम्म आइपुगेकाे जीवनकाे
हजारौं प्रहरहरू हेरिरहेछु
प्रवेश गरिरहेछु
स्मृतिहरूकाे भव्य सङ्ग्रहालयमा
कवि कम
बढी दार्शनिक बनिरहेछु ।
काैसीमा छु
हेरिरहेछु ओरालाे झरिरहेकाे सूर्य
र गमलामा बिस्तारै मुर्झाउँदै गरेका फूलहरू
साेचिरहेछु कति समानता छ
ओरालो झरिरहेकाे जीवन
र यी दुईका बिचमा ।
जीवनकाे गाेरेटाेमा
सङ्गालेका असङ्ख्य स्मृतिहरू
आइरहेछन् गइरहेछन्
हजाराैं माइल टाढाका देशहरूबाट
यस देशकाे सिमसार र घना जङ्गलहरूमा
आइरहेका पन्छीहरूझैं
यस भूगोलबाट
हजारौं माइल टाढाका देशहरूमा गइरहेका पन्छीहरूझैं
यसरी सधैं आउँदैनन् स्मृतिहरू
ओरालो झरिरहेकाे जीवन
अर्को सिँढी ओर्लिएपछि ओरालोकाे
सम्झेरै नसकिने स्मृतिहरूकाे
एउटा शृङ्खला बन्दाेरहेछ
र मानिस हराउँदाे रहेछ त्यसमा ।
डण्डिबियाे खेलेर धुलाम्मे भएर फर्कदा घरमा
मायाले रिसाएको अनुहार हाेस् आमाकाे
वा अनुशासनकाे लक्ष्मणरेखा नाघ्दा
पिताले दुई थप्पड लगाएकाे कुनै साँझ हाेस्
मित्रहरूले गिज्याएकाे कुनै नमिठाे पल हाेस्
वा प्रेमले अङ्गालाे मारेकाे कुनै क्षण
गुरुकाे दण्ड हाेस्
वा सत्ताकाे यन्त्रणा
दु:खसँग जुध्दा बनेका घाउहरू हाेऊन्
वा अन्धकारकाे प्रताडना
पुसकाे चिसोमा रुझेका दिनहरू हाेऊन्
वा इन्द्रेणी हेरेर खुसीले उफ्रिएकाे बिहान हाेस्
कहिले बरालिएर
प्रियसँग रिसाएर कहिले
कहिले एक्लिएर
मात्तिएर कहिले
कहिले क्राेधले तातेर
आँखाबाट पग्लिएर कहिले
बगेका क्षणहरू हाेऊन्
वा जीवनकाे क्षणभङ्गूरताकाे बाेधले
गम्भीर बनेकाे पल हाेस्
पुँजी रहेछन् स्मृतिहरू
कहीँ ती नीलकाँडा बनेर बेसरी घाेच्दा रहेछन्
कहीँ मलम लगाउँदा रहेछन् दुखेकाे घाउमा
जीवनसँगै सुरु भएर
जीवनसँगै सकिदा रहेछन् ती ।
हिड्नु अझै पनि छ
आँसु र हाँसोहरूका बिचमा
रहनुछ अझै
सुख- दुःख
प्रेम- घृणा
घाम- पानी
जीवनमा बजिरहनेछ यिनकाे सङ्गीत
अझै पनि पट्कनुछ अन्यायका विरुद्ध
जीवनकाे श्यामश्वेत पर्दामा
अझै पनि लेख्नुछ गीतहरू
जीवन रहेसम्म यस धरामा
गाइरहनुछ मैले !
(सन्दर्भ : जन्मदिन)