शनिबारीय साहित्य ः संस्मरण
*** ***
माधवपुरको जन्मघरमा मैले क. सविनको सहादतको खबर पाएकी थिएँ । त्यस दिन अपरान्ह २ः३० बजे जीवनसाथी सविनले मलाई ‘म बिरामी छु । तपाईंको अभावले होला, बिमारले बढी च्यापेको अनुभूति भएको छ ।’ भन्नुभएको थियो । त्यसो भनेको केहीबेरमै आएको त्यो खबर मैले पत्याउनै सकिन । नुहाउँदानुहाउँदै सम्पर्क गर्न खोजेँ । त्यो सम्भव भएन । त्यसपछि पत्रकार बनेर माइतीमा फोन गरेँ । मोबाइलमा सम्पर्क गर्दा क. सविन र ५ जना स्वास्थ्यकर्मीसमेत गिरफ्तार भएको खबर पाएँ । वातावरण नै अँध्यारो भयो । बोल्नका लागि शब्दविहीन भएँ । रुनका लागि न शब्द, न आँसु थिए मसँग । एक्कासी कुनै पहाडले थिचेको अनुभूति भयो । बेहोसजस्तै भएछु । होसमा आउँदा साथमा साथीहरू थिए तर मन एक्लो थियो । भीडमा पनि मान्छे एक्लो हुँदोरहेछ ।
अब मेरा लागि यो भन्दा दुःख र भयानक क्षणहरू आउनेछैनन् । समरका पाइलाहरू रोकिएजस्तै, वजनविहीन भएझैँ, संवेदनशील भएझैं भएकी थिएँ म । तर, आवेगलाई विवेकमा बदल्न, यथार्थलाई स्वीकार गर्न र शोकलाई शक्ति र प्रतिरोधमा बदल्न कोसिस गरेँ । तर, यथार्थको स्वीकारोक्ति कठीन हुँदोरहेछ । क. सविन विचार, भविष्य र उर्जा हो भन्ने सोँच्दै अगाडि बढ्न थालेँ ।
मृत्युलाई विर्सिन पुगी सँगै एउटै थालमा खाएको मान्छे र रमाउँदै हिँड्ने जीवन भौतिक रूपमा विछोड हुनुपर्ला भनी कल्पनासम्म पनि थिएन मनमा । तर, ‘सर्वहारावर्गको नयाँ राज्यसत्ता प्राप्तिका लागि हाम्रो सबैभन्दा प्रियपात्रले रगत बगाउनु पनि अनिवार्य हुँदोरहेछ ।’ यसै माथिको वाक्यको मर्म बुझी आज आँखाको प्यारो नानी सर्वहारावर्गको आस्थाको ढुकढुकीलाई हिटलर दानवी बाघले छोपेर खाएको आज त्यही आँखाको नानी जसले आफ्नो रगत यो धर्तीलाई उपहार दिँदै जीवनको औचित्य पुष्टि गर्दै रक्तबीज जन्माउने र हुर्काउने महामानव बनेर यो संसारबाट सधैँका लागि भौतिक रूपमा विछोडिएर जानुभएकामा मलाई गर्वको अनुभूति भएको छ । विश्वास थिएन मलाई कलममार्फत् आफ्नै हातले असीम स्मृति लेख्ने र अनुभूति गर्ने सौभाग्य मिल्नेछ भनी । उहाँ (क.सविन) को सहादतको खबरले आज मलाई यही बनाइरहेको छ ।
पूर्वको क्षितिजबाट प्रकाशपुञ्ज बनेर झुल्किएको लालकिरणको आगमनले उत्साह र उमङ्गको महसुस एवम् विजयको सुनिश्चितताको विश्वास दरिलो बन्दै गएको समयमा २०६१ मघ १४ गते दिनको ठीक २ः३० बजे साँच्चै म निर्जीव बन्न पुग्छु, बुर्जुवाको आक्रमणमा मर्न पुग्दछु । गति लिँदै आक्रोशित झुल्काले नशाहरू खिचिँदारहेछन् । दिमाग तात्तिएर आउँदोरहेछ । बदलाको भावले उत्कर्षमा पु¥याउँदोरहेछ । वर्गदुश्मनप्रति तीव्र घृणा र रोष छरपष्ट ओकलिँदोरहेछ । क्रान्तिकारीहरूको जीवनमा यही नै भिन्नता रहेछ बुर्जुवा समाज र हामीमा । आज यही अनुभूति गरायो, जीवनसाथीको सहादतको खबरले, पीडाभित्रको आक्रोसले विचारलाई झन् स्पात बनाउँदोरहेछ ।
भारतको नागाल्याण्डमा जन्मेर पनि आफ्नो पुख्र्यौली थलो नेपाललाई कर्मभूमि बनाइ जीवनलाई सार्थकता दिने सिलसिलामा महान् वर्गयुद्धमा चितवन जिल्लाबाट राजनीतिक जीवन सुरु गरी रणनीतिक प्रत्याक्रमणको योजना सफल पार्ने क्रममा आपूmभित्रै प्रत्याक्रमण गर्दै आफ्नो जिम्मेवारी पूरा गर्ने सवालमा क्षेत्रीय कार्यालयअन्तर्गत स्वास्थ्य विभागमा रही युद्धमा घाइते भएका बिरामी कमरेडहरूलाई उपचार गर्दै अगाडि बढ्ने क्रममा करिब २६–२७ वर्षकै उमेरमा दुश्मनले खान पुग्यो । सायद हाम्रो पनि कल्पनासम्म थिएन होला भ्रुण अवस्थामा रहेको हाम्रो नवशिशु आफ्नो बाबाको न्यानो माया अनि प्रत्यक्ष परिचयबाट बञ्चित होला भन्ने । पार्टीको हरेक कार्ययोजनालाई नयाँ तरिकाका साथ लागू गर्न अग्रसर बनिरहने महान् योद्धा आज यो धर्तीलाई तातो रगतले सिञ्चित गरी सधैँका लागि विचार दिएर जीवनको ड्यूटी पूरा गरी जानुभएको छ भन्ने सोँच्दै वर्गसङ्घर्षको उठान र विकाससँगै दुश्मनको प्रत्येक मुठभेडमा विजयको चिनो छाड्दै सर्वहारावर्गको नेतृत्व गर्दै पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही हजारौं घाइतेको उपचार गर्दै मन जित्दै आफ्नो गतिमा लम्किरहेका पाइलाहरू सौभाग्यवश भनौं, भौतिक रूपमा २०६१ माघ १४ मा माधवपुरमा गएर टुङ्गियो ।
भौतिक रूपमा विछोड भए तापनि उहाँको उद्देश्य र विचार जो थियो, त्यसलाई पूरा गर्न भावनालाई सहायक र मार्गनिर्देशित सिद्धान्त बनाउँदै सनातन महिलाभन्दा माथि उठी नयाँ मान्छकोे कर्तव्य सम्झँदै उहाँले बगाएको रगतको प्रत्येक थोपाबाट हजारौं योद्धाहरू युद्धमोर्चामा जन्मने ठान्दै आएको छु । नेपाली क्रान्तिको विशिष्टतामा नयाँ विचार जन्माएर त्यस पालुवालाई विकास गर्दै अगाडि बढ्नेछन्, जनता सुनौलो दिन ल्याउन तयार छन् । क्रान्तिमा सहिदको रगतमाथि खतबात हुनेछैन भन्नेमा म विश्वस्त छु । उहाँले प्रत्येक भौतिक भेटमा मलाई भन्ने गर्नुहुन्थ्यो –‘सङ्गीताजी, हाम्रो मिठो जीवनको सहयात्रामा मेरो भौतिक विछोडमा क्रान्तिबाट विचलन नहुनू है ।’ यो वाक्यले मलाई बारम्बार कदमकदममा खबरदारी गरिरहेको छ, सतर्क बनाइरहेको छ, जीवन दिलाइरहेको छ, मृत्युमा पनि जीवन देखाएको छ । केही वर्षअगाडि रहेको हाम्रो प्रेमसम्बन्धले २०५९ साल बैशाख २० गते औपचारिकता पाएको थियो । करिब २ वर्षमात्रै वैवाहिक जीवन बिताउन नपा उँदै, गर्भमा आएको १ महिनाको भ्रुण शिशुलाई आफ्नो बाबाको परिचय दिन नपाउँदै एउटै जिल्लामा भए तापनि अनुहार त कता हो कता लाससम्म गायब बनाएर क्रुरताको पनि पराकाष्ठा नाघेर अति निर्मम तरिकाले शाही जल्लादहरूले हत्या गरे । २२–२३ वर्षको उमेरमा नै जीवनसाथीको विछोडको पीडा, पेटमा बच्चा हुँदा जङ्गलमा ५–६ रात बिताएको पीडा, सुत्केरी बस्दा ४–५ महिनासम्म पार्टी सम्पर्क नभएको वा एक्लै बस्नुपरेको पीडा र प्रसव पीडा जीवनमा बलात्कारबाहेक सबै प्रकारका विपत्ति र कठिनाइका पीडाको बलमा केवेल विचार मात्र रह्यो र सामना गर्दै क्रान्तिमा अगाडि बढिरहेकी छु । आज मैले सहिद परिवार भनेर चिनिने सौभाग्य पाएकी छु । म सहिद क. कुलप्रसाद रेग्मी लगायत हजारौं सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली कलममार्फत दिँदै निरन्तर क्रान्तिमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । जीवनसाथीको सहादतले आज मलाई यही अनुभूति गराएको छ ।