काठमाडौं । स्वास्थ्यको प्रतिकूलताकाबिच नेपाली क्रान्तिकारी कम्युनिसट आन्दोलनका धरोहर मोहन वैद्य किरणले लामो समयपछि बुधबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभयो । जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उहाँले प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व महासचिव तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका संरक्षक किरणले महान सहिदहरुका सपना साकार पार्न सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट भएर दृढतापूर्वक अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलन, फागुन २१ को निर्वाचन हुँदै बालेन सरकारसम्म आइपुग्दा सबै चर्तिकला देखिसकिएको भन्दै कुनै पनि चिज स्थायी नहुने र माक्र्सवादले हरेक चिज बदलिन्छ भन्नेमा विश्वास गर्ने भन्दै क्रान्तिकारीहरुलाई धैर्यता र साहसका साथ एकताबद्ध भएर अगाडि बढ्न आव्हान गर्नुभयो ।
उहाँले भन्नुभयो, “आजको यस कार्यक्रममा उपस्थित हुन पाएकोमा धेरै खुशी लागेको छ । महान सहिद कृष्णसेन इच्छुक क्रान्तिप्रति, देश र जनताप्रति निष्ठावान एउटा व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले साहित्यिक क्षेत्र, सांस्कृतिक क्षेत्र, पार्टी राजनीतिको क्षेत्र र पत्रकारिता जगतमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित महान जनयुद्धको क्रममा उहाँले आफ्नो रगत धेरै बगाउनु भयो । जेल र यातनाहरु सहँदै अन्ततः सहादत प्राप्त गर्नुभयो । आज हामी उहाँको संस्मरण गरिरहेका छौं । उहाँसँगै थुप्रै सहिदहरुले आफ्नो रगत बगाएका छन् । प्राणको आहुति दिएका छन् । तर हामीले चाहेको, सहिदहरुले चाहेको परिवर्तन अझै हुन सकेको छैन । देश थप जटिलतातिर उन्मुख भएको छ । अहिलेको जेनजी आन्दोलन, निर्वाचन हुँदै अहिलेको बालेन सरकारसम्म आइपुग्दा सबै परिघटनाहरु, चर्तिकलाहरु देखिसकेका छौं । यो स्थितिमा के बुझ्न पर्दछ भने स्थायी कुनै चिज पनि हुँदैन । माक्र्सवादले भनेको छ– हरेक चिज बदलिन्छ । यद्यपि अहिले परिस्थिति प्रतिकूल छ । तर क्रान्तिकारीहरुको प्रयत्न, साहस, धैर्य, क्रान्तिप्रतिको निष्ठा र सहिदहरुका सपना सबैलाई साकार पार्नका निम्ति एकजुट बन्यौ भने सामाजिक रुपान्तरण गर्न सक्छा्रैं । नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद र साम्यवादमा पुग्न सक्छौं । सहिदहरुलाई सम्मान गर्नुको मूल उद्देश्य पनि उहाँहरुका सपनालाई साकार तुल्याउनका निम्ति सच्चा क्रान्तिकारीहरु दृढतापूर्वक अगाडि बढ्नु नै हो । आज प्रगतिवादी स्रष्टाहरु सम्मानित पुरस्कृत हुनुभएको छ, उहाँहरुलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँहरुको लेखन कार्य, कला धर्मिता, निरन्तर अगाडि बढ्दै जानेछन् । उत्तरोत्तर प्रगतिको पनि कामना । स्वास्थ्यले साथ दियो भने यसरी नै फेरि पनि भेटेर बोल्न पाउने छु । र, इच्छुक प्रतिष्ठानले पनि निरन्तर रुपमा आफ्नो काम अगाडि बढाओस् । यही कामना गर्दछ । हवस् त लालसलाम । ”
कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव, पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, इच्छुककी जीवनसंगिनी प्रा.तक्मा केसी लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।






























