काठमाडौं । जनयुद्धका महान सहिद तथा पत्रकार एवम् साहित्यकार कृष्णसेन इच्छुकको आज २५ औं स्मृति दिवस हो । क्रान्तिकारी कम्युनिसट पार्टी नेपाल, इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायतका विभिन्न संघ, संगठन र संस्थाको आयोजनामा विभिन्न कार्यक्रम गरी २५ औं स्मृति दिवस मनाइदैछ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा वितरण गरिँदै आएका पुरस्कार यस वर्ष ‘इच्छुक स्मृति पुरस्कार २०८२’ (मुल पुरस्कार) नेपालको प्रगतिवादी साहित्यलेखन, सम्पादन तथा अनुवादका क्षेत्रमा विगत तीसको दशकदेखि अनवरत रुपमा क्रियाशील वरिष्ठ प्रगतिवादी आख्यानकार तथा समालोचक इस्माली (महेश्वर प्रसाद उपाध्याय)लाई दिइने भएको छ । इच्छुक प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा जारि प्रेस वक्तव्यका अनुसार प्रतिष्ठानले प्रदान गर्ने प्रतिभातर्फको दुईवटा पुरस्कार मध्ये साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ भरतपुर महानगरपालिका ५, तोरीखेत निवासी नारायण शर्मा ‘विपिन’लाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ साँगाचोक गाउँपालिका ११, सिन्धुपाल्चोक निवासी सामना परिवारका कलाकार गायक एवम् नृत्यकार अमित योञ्जनलाई दिइने भएको छ ।
इच्छुक स्मृति पुरस्कारको राशी रु एक लाख नगद, दोसल्ला सहित प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार, दोसल्ला र प्रमाणपत्र रहेको छ । यही जेठ १३ गते इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कारहरू प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
जनयुद्ध उत्कर्षमा पुगेको बेलामा तत्कालिन जनदिशा दैनिकका प्रधान सम्पादक सेनको महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर सेनको जेठ १३ गते कुटीकुटी हत्या गरिएको थियो । सेन हत्याको अहिलेसम्म पनि सत्यतथ्य छानबिन गर्ने र हत्यारालाई कार्वाही हुन सकेको छैन । बरु उल्टो जेनजी परिघटनापछि तिनै हत्यारामध्येका एक विक्रमसिंह थापा फागुन २१ मा भएको निर्वाचनबाट निर्वाचित भएर संसद छिरेका छन् । अहिले पनि क्रान्तिकारी पंक्तिले निरन्तर रुपमा इच्छुकका हत्याराहरुलाई कारबाही गर्न माग गरिरहेका छन् ।
यसरी गरिएको थियो सेनको हत्या
महेन्द्र पुलिस क्लबको जुडो हलछेउ माथिल्लो घरको पहिलो तल्लाको भिआइपी कोठामा २०५९ जेठ १३ गतेका दिन बिहान ११ बजे डोरीले पछाडी हात बाँधेर सेनलाई लडाइएको थियो । उनी वरिपरि सैनिकबर्दी लगाएका चारजना उभिएका थिए । बर्दीधारी मध्येको एक जनाले उनलाई यो देश कस्को हो भनेर सोधेको प्रश्नमा सेनले यो जनताको देश हो भनेर जवाफ दिएका थिए ।
तत्कालै बर्दीधारी प्रश्नकर्ता उनीमाथि जाइलागेको थियो । जनताको होइन यो देश राजाको हो भन्दै उसले सेनको निधारमा मुक्कामाथि मुक्का बर्षाएको थियो । तँ पनि ठकुरी, राजा पनि ठकुरी र म पनि ठकुरी । बर्दीधारीले भयंकर अट्टहास गर्दै भनेको थियो । ठकुरी राजाको विरुद्धमा लाग्ने तँ को होस् ।
नेपाल प्रहरीको तत्कालिन डिआइजी अमरसिंह शाहले चरम यातना दिएर सेनको हत्या गरेका थिए ।
२०५९ सालको जेठ ६ गते काठमाडौंको नयाँ बानेश्वरबाट समातिएका सेनलाई हप्ता दिनसम्म चरम यातना दिएर महेन्द्र पुलिस क्लबमै राखिएको थियो । उनी गिरफ्तारीमा परेको भोलीपल्ट राती २ बजेसम्म सेनलाई अरु सहकर्मी साथीसँगै राखिएको थियो । चरम यातनाका कारण सेनका हातखुट्टा भाँचिइसकेका थिए । उनी उभिन सकिरहेका थिएनन् । त्यस्तो अवस्थामा पनि दुईजना प्रहरीलाई समात्न लगाएर तत्कालिन नगर प्रहरी इन्चार्ज बिक्रम थापाले भित्तामा अड्याँउदै सेनलाई लगातार बुटले हानिरहेको थियो ।
समाचार स्रोतका अनुसार चरम यातनाका कारण जेठ १३ गते बिहान ११ बजे सेनको प्राण गइसकेको थियो । उनको शवलाई बोरामा पोको पारेर सरकारी गाडीको रातो नम्बर प्लेट परिवर्तन गरी सेतो बनाउन लगाएर बा १ च ६०१७ नम्बरको सेतो रङको पिकअप भ्यानमा सेनको शव महेन्द्र पुलिस क्लवबाट चुपचाप बाहिर निकालिएको थियो । सई, असईलगायतको एउटा टोलीले सोही दिन रातारात सेनको शव आर्यघाटमा लगेर गुपचुप रुपमा दाहसंस्कार गरेको थियो । नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर देउवा त्यतिबेलाका प्रधानमन्त्री थिए । महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर ज्यान लिएपश्चात तत्कालिन सरकारका गृह प्रवक्ताले सेनको हुलिया दिएर गोकर्णको जंगलमा दोहोरो भीडन्तमा सेन मारिएको झुटो विज्ञप्ती निकालेका थिए ।
कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । इच्छुक नेपालको प्रगतिवादी साहित्यिक र सांस्कृतिक आन्दोलनमा समर्पित व्यक्तित्व थिए । शब्द र कर्मबीचको एकत्व उनको जीवनको एक महत्वपूर्ण र अनुकरणीय पक्ष थियो । उनले आफूले आत्मसात गरेको आदर्शका निम्ति आफ्नो जीवनको बलिदान दिए ।
भीमकुमारी र यमबहादुर सेनको सन्तानका रुपमा भारतको देहरादुनमा वि।सं। २०१३ कातिक ३ गते जन्मिएका सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । जलुके दाङ जिल्लाको पुरानो शहर भालुवाङको नजिकै रहेको छ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए ।
सामान्य लाहुरे परिवारमा जन्मिएर बी.एड, एम।ए सम्मको अध्ययन गरेका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए ।
सेन अखिल नेपाल जनसांस्कृतिक संघका अध्यक्ष, अनेरास्ववियु केन्द्रीय समितिका संयोजक, तत्कालिन नेकपा ९माओवादी०का क्षेत्रीय ब्यूरो सदस्य, प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् र दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघका सदस्य भएर काम गरेका थिए ।उनी एउटा जनपक्षीय पत्रकार र जुझारु क्रान्तिकारी योद्धा थिए । मूलतः उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो विशाल स्थान निर्माण गर्न सफल रहे । उनका प्रकाशित कृतिहरुमा शोकाञ्जली (२०४८),इतिहासको यस घडिमा (२०५५)),बन्दी र चन्द्रागिरी (२०५७) रहेका छन् । सेनले कलम साहित्यिक त्रैमासिक,जनादेश साप्ताहिक,जनदिशा दैनिक आदिमा सम्पादकको रुपमा काम गरेका थिए ।
उनले साहित्य सन्ध्या (२०५७),पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९),कृष्णमणि साहित्य पुरस्कार (२०५९),प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त,प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त पुरस्कार पाएका छन् ।
सेनले जेल जीवन पनि बिताएका थिए । दाङ कारागार (६ वर्ष, बन्दीगृह ९१ वर्ष) , सिराहा र राजविराज ९२ वर्ष०,शहादत : विसं २०५९ जेठ १३ मा ९महेन्द्र पुलिस क्लबको हिरासतमा० ।
सेनको शहादतपछि पनि कृति प्रकाशित छन् । जसमा कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ ,इच्छुक रचनावली भाग १,२,३ ,कवि इच्छुक कविताका सन्दर्भमा र आस्था र निष्ठाका शतिसाल इच्छुक हुन् ।
कवितामा कवि इच्छुकले स्थापति गरेको महान् सत्य के हो भने नेपाली जनसमाजमा हज्जारौ हज्जारवर्षदेखि शासन गर्दै समान्ती खुनी राजतन्त्रलाई समुल अन्त्य गरी जनगणतन्त्रको उज्यालो विहानी ल्याउनको लागि थालिएको सशस्त्र जनयुद्ध र यसले स्थापति गरेको बलिदानको महागाथालाई आफ्नो काव्यकर्मबाट जुन वाणी प्रदान गरे, जुन भावको सश्लेषण गरे, त्यो अझै हाँसिल हुन सकेको छैन । निरन्तर क्रान्तिको झण्डा उठाउन, श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको पक्षमा आवाज उठाउन उहाँका शब्द र कर्मले प्रेरित गरिरहेका छन् । युगौसम्म प्रेरित गरिरहने छन् ।






























