काठमाडौं÷१२ जेठ
जाजरकोट निवासी रोशनी शाहीद्वारा लिखित पुस्तक ‘महिला दृष्टि’को एक कार्यक्रमका बिच १० गते आइतबार लोकापर्ण गरिएको छ । थापाथली स्थित काठमाडौं ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा उक्त पुस्तकको विमोचन तथा परिचर्चा गरिएको हो ।
नेपाल सरकारको स्वास्थ्य सेवाबाट निवृत्त भएकी रोशनी शाहीको गत वर्ष जेठ १० गते हृदयघातबाट निधन भएको थियो । उनैको प्रथम वार्षिक स्मृति दिवसका अवसरमा ‘महिला दृष्टि’ पुस्तकको परिचर्चा समेत गरिएको थियो ।
जाजरकोट बारेकोट निवासी चित्रजङ शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी रोशनीले आफ्नो जीवनकालमा भोगेका घटना, नेपाली समाजको अवस्था, राजनीति आदि विषय समेटेर लेखिएका विभिन्न लेख, संस्मरण, डायरी र कविताहरुको सङ्कलन गरेर उनको मृत्यु पश्चात् चित्रजङ शाहीले उक्त पुस्तक तयार पारेका हुन् ।
पुस्तकमाथि प्रगतिवादी क्षेत्रका स्थापित समालोचक, कवि तथा समीक्षकहरु प्रा.डा.गोपीन्द्र पौडेल, मोदनाथ मरहट्टा, डा.चतुर्भुज केवरत र नविन विभाषले चर्चा गरेका थिए । पुस्तकमाथि चर्चा गर्दै सबै समीक्षकहरुले उक्त पुस्तक ‘महिला दृष्टि’ले नेपाली समाजमा महिलाहरुले भोग्नु परेका सामाजिक यथार्थ प्रस्तुत गरेको बताउँदै यसले नेपाली उत्पीडित, वर्ष जाती, लिङ्ग र समुदायको पक्षमा आवाज उठाएको बताए ।

कार्यक्रमको सञ्चालन हिरामणि दुःखीले गरेका थिए भने चित्रजङ शाहीको अध्यक्ष्ता र सत्य पहाडीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा प्राध्यापक, साहित्यकार, पत्रकार, नेपाल सरकारबाट निवृत्त कर्मचारीहरु, बुद्धिजीवी लगायत रोशनीका परिवार, आफन्तजन र साथीहरुको बाक्लो उपस्थिति रहेको थियो ।































