माछो माछो भ्यागुतो

माछो माछो भ्यागुतो

शनिबारीय साहित्य ः कविता
*** ***

 

एक युगपछि फर्किएर घरतिर हेर्छु
उदास उदास आँगन लत्कँदो छ
निरास निरास दलान भत्कँदो छ
बीसवर्ष अघिका धेरै बीसवर्षहरू

पुरानो भत्काउन नयाँ बनाउन
कौरुपता मिल्काउन सौन्दर्य झल्काउन
कोही लड्दै कोही बढ्दै र कतै झर्दै कतै चढ्दै
अप्ठ्यारो बाटो हिडियो र अप्ठ्यारो पाटो भिडियो
त्यो भ्रम थियो कि भ्रान्ती र सत्य थियो कि क्रान्ती ?
माछो माछो ! भ्यागुतो !

घरभित्रको बिषालु अजिङ्गर
खन्चुवा उस्तै रिसाहा भयङ्कर
आगो सल्काइयो अजिङ्गर मिल्काइयो
सुखदुख बाँडौँ गीत गाइयो
भाइ भाइ मिलौँ नारा भट्याइयो
हात्ती आयो, हात्ती आयो ! फोस्सा !

एउटा बेमानसिँको बाँशिकताको बिरुद्ध
जसरी दन्कियो आगो र उसरी तन्कियो धागो
उजेलिएथ्यो नयाँ घर र फुर्किएको थियो गाउँ र शहर
फर्कियो तुवाँलो एकाएक
अनायस आतङ्क फैल्यो अनेक
बाँकी रहेछ बिषालु अण्डा र बौरियो फेरि उही डण्डा
नविकृत भयो पुरानै डर र उस्तै प्रहर, उस्तै कहर
हिजोको झैँ रोयो वन
फेरि पनि रोयो नेपाली मन
अँध्यारोमै जेलियो शहर
माछो माछो ! भ्यागुतो !