शनिबारीय साहित्य ः समीक्षा
*** ***

 

कोशी टप्पु
– इच्छुक

टाढा–टाढा जहाँसम्म दृष्टि पुग्छ
समुन्द्रजस्तै फैलिएको छ
आङ तन्काएर कोशी बाँध
यो तटवर्र्ती आहत गाउँहरूको
आँसुको आर्त–सागर हो
या डुबानपीडित बस्तीहरूको
पीडाको गल्छी हो
यो कोशी टप्पु
यो सिमसार क्षेत्र ।

महाप्रलय भएजस्तो
चारैतिर पानी पानी
केबल अगाध पानी
मानौं मत्स्य–पुराणमा वर्णित
जलाम्य पृथ्वीजस्तो
सर्वत्र पानी ! अथाह पानी !
यो सुन्दर स्वप्नहरूको
मनोरम सरोवर हो
या कुरूप दुःस्वप्नहरूको
विद्रुप धरोहर हो
अथवा जलदस्युहरू विहार गर्ने
कुनै आरक्षित जलडमरू हो
यो कोशी टप्पु
यो सिमसार क्षेत्र ।

पराजित युद्धबन्दीजस्तै
विवश पुर्खाहरूमाथि करले लादेको
अतीतको सुगौली सन्धिजस्तै
मितेरीको मीठो भाङ खाएर
देशको छातीमा घनले ठोकेको
अपमानको गहिरो किलोजस्तो
यो कोशी तटबन्ध
असमान सन्धिको रक्षाकवच पैरेर
जन्माइरहेछ मुलुकभित्र
नौलो उपनिवेशजस्तै
नौलो विस्थापित मुलुक

 

बत्तीमुनिको अँध्यारोजस्तै
जहाँ पानी छ, सिंचाइ छैन
बाढी छ, बिजुली छैन
बस्ती छ, विकास छैन
जमिन छ, लालपूर्जा छैन
बनको आरक्ष छ, तर जनधनको सुरक्षा छैन
मानौँ अझ स्वतन्त्र भइनसकेको
पराधीन र पराश्रित
यो पूर्वी टिमोर हो
या मकाओ द्वीप हो
यो कोशी टप्पु
यो सिमसार क्षेत्र ।

जहाँका महिलाहरू सधैं
नारी अस्मितालाई हत्केलामा राखेर
सन्त्रासमा बाँच्ने गर्छन्
जहाँका बासिन्दाहरू सधैं
अनिश्चित र असुरक्षित जिन्दगीको
त्रासदी बोकेर
कुनै अनागरिकजस्तै
सधैं बेखबर
र, सधैं बेठेगान भविष्यको
सुनिश्चित ठेगान खोज्ने गर्छन्
गहिरो तालजस्तै
सधैं आँसुमा डुबेका तरल आँखाले
देशबाट आफ्नै निष्कासनजस्तै
वर्षौंवर्ष लामो अतिक्रमणको
पुरानो सन्धिपत्र पढ्दै
नयाँ नेपालको पुनःनिर्माण खोज्ने गर्छन्
आफ्नै आफन्तहरूबाट अन्जान
सधैं उपेक्षित र गुमनाम
यो हाम्रो कालापानी हो
यो अण्डमान निकोबार द्वीप समूह हो
यो कोशी टापु
यो सिमसार क्षेत्र ।

१५ माघ, ०५७ राजविराज, कारागार

 

कविताको कथावस्तु ः

जनयुद्धका क्रममा उच्च सहादत प्राप्त गरेका प्रगतिवादी धाराका उम्दा कवि कृष्ण सेन इच्छुकले राजविराज कारागारमा बन्दी जीवन विताइरहेको अवस्थामा लेखेको कविता हो ‘कोशी टप्पु’ । प्रस्तुत कवितामा कविले दुईवटा विषयलाई एकसाथ समेटेका छन् । एकातर्फ कोशी नदीको तटीय क्षेत्रमा रहेको कोशी टापु जसलाई राज्यले बन्यजन्तु आरक्षणका रुपमा सञ्चालन गरेको छ । उक्त बन्यजन्तु आरक्षणबाट त्यस क्षेत्रमा बसोबास गर्ने जनताले भोग्नुपरेको सास्ती र राज्यले जनताका निम्ति कुनै सुरक्षाको व्यवस्था नगरेको विषय उठाइएको छ । अर्कातर्फ कोशी नदीमा बनाइएको ब्यारेज र त्यसले निर्माण गरेको जलाशयबाट प्रताडित त्यस क्षेत्रका जनसमुदायको पीडाबोधको कथा प्रस्तुत गरिएको छ । नेपालको पानी नेपालीले नै प्रयोग गर्न नपाउने उक्त कोशी सम्झौताका कारण हरेक बर्स कोशी व्यारेजबाट प्रभावित सप्तरी र सुनसरी जिल्लाका जनताले दर्जनौँ र सयौँको सङ्ख्यामा ज्यान गुमाउन पुग्छन्, त्यहाँका जनताको घरबार र खेती सबै डुबानमा पर्छ । करोडौँ र अरबौँका आर्थिक क्षतिको सिकार हुन्छन् त्यहाँका जनता । भोकै र नाङ्गै रहेर कष्टकर मृत्युबरण गर्नु नियती नै बनेको छ । बर्सेनी घरखेत बाढीको डुबानमा पर्छ र सम्पत्ति नष्ट हुन्छ तर त्यही पानी हिउँदमा त्यहाँका किसानले प्रयोग गर्न पाउँदैनन् र भारतीय नहरमा बगेको पानीको भङ्गालो टुलुटुलु हेर्न विवस हुन्छन् । कोशी ब्यारेजमाथिको पुलबाट पूर्व–पश्चिम गाडी गुड्छन् तर त्यहाँका जनता बिरामी भएभने कुनै पनि गाडीले अस्पतालसम्म निःशुल्क बोक्दैन, पैसा तिर्न त्यहाँका जनताको खल्तीमा पैसा हुँदैन । कोशी आरक्षणमा बन्यजन्तुको सुरक्षा गर्न सेना तैनाथ भएर बसेको छ तर तिनै जिवजन्तुको सिकार हुँदा नागरिकको सुरक्षा हुँदैन । सीमा क्षेत्रमा बसोबास गर्ने महिला, किशोरीहरूले सँधै भारतीय गुण्डा, सीमाप्रहरीहरूबाट अस्मिता लुटाएर बाँच्नु परेको छ, कति अपहरणमा परेर मारिन्छन्, लुटिन्छन् तर नेपालको सुरक्षा निकाय भनिएका प्रहरीले आफ्ना जनताको सुरक्षा गर्न सक्दैन । सीमाक्षेत्रका जनताले नेपाली भूमिको रक्षाका लागि भारतीय प्रहरी, शाषक र डाँकाहरूसँग लड्छन् तर नेपालको सीमा सुरक्षा गर्न खटाइएको सुरक्षा फौज सीमाक्षेत्र भन्दा १५–२० किलोमिटर माथि नै बस्छ र केवल जागिर पचाएर जिन्दगी काट्छ । यही र यस्तै कथाव्यथा उक्त कविताले बोकेको विषयवस्तु हो । अर्कोतिर सीमा सुरक्षा गर्ने त्यहाँका नागरिकलाई राज्यले आफ्नो नागरिकको व्यवहार पनि गर्दैन र उनीहरु सताब्दियौँदेखी अनागरिक बन्नु परेको पीडा उत्तिकै छ ।

सन् १९५४ अप्रिल २५ तदनुसार वि.सं.२०११ बैशाख १३ का दिन मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा उक्त कोशी सम्झौता भएको हो । नेपाल भारतको सीमा क्षेत्रमा पूर्व सुनसरी र पश्चिममा सप्तरी जिल्लालाई जोड्नेगरी कोशी नदीमा बाँध बाँधेर कोशीको पानीलाई नेपालतर्फ जलाशय निर्माण गरी भारतले सिँचाइका लागि नहर बनाएर पानी लगेको छ । उक्त ब्यारेजको १० माइल झण्डै १७ किमि उत्तरतर्फसम्मको पानी प्रयोग गर्न र कुनै पनि संरचना निर्माण गर्न नेपाली पक्षले नपाउने गरी सम्झौता गरिएको छ । कोशी ब्यारेज र त्यसका निम्ति प्रयोग हुने नेपाली जमीन १९९ बर्ससम्म प्रति विगाहा रु ५का दरले क्षतिपूर्ती नेपाल पाउने सम्झौतामा उल्लेख छ । यति ठूलो राष्ट्रघात गरिएको सम्झौताको सिकार आज पूर्वी तराईका जनता हुनुपरेको छ । न त त्यहाँका जनताले कोशीको पानी प्रयोग गरेर आफ्नो जमीन हराभरा बनाउन पाउँछन् न त त्यो पानी प्रयोग गर्ने पक्षबाट पीडित नेपाली जनताले क्षतिपूर्ती नै पाउँछन् । बरू हरेक बर्स त्यस प्रभावित क्षेत्रका जनताले अनाहकमा वलिदानी दिनु परिरहेको छ । यही विषयलाई अत्यन्तै मार्मिक ढङ्गबाट सुन्दर, कला र बिम्ब प्रयोग गरेर इच्छुकले कविता लेखेका छन् ।

कवितामा व्यक्त वर्गबोधी चेतना ः

कविताले उत्पीडित वर्ग र मुदायले दैनन्दिन भोग्नु परेका यथार्थ घटनाको सविस्तार वर्णन गरेका छन् । वास्तवमा कविले कवितामा व्यक्त गरेजस्तै कोशी बाँधको तल्लो र माथिल्लो तटीय क्षेत्रका नेपाली जनताले अन्त्यन्तै कष्टकर जीवन भोगेका छन् । कवितामा भनिएको छ –
‘बत्तीमुनिको अँध्यारोजस्तै
जहाँ पानी छ, सिंचाइ छैन
बाढी छ, बिजुली छैन
बस्ती छ, विकास छैन
जमिन छ, लालपूर्जा छैन
बनको आरक्ष छ, तर जनधनको सुरक्षा छैन’

हो, कोशी क्षेत्रका जनताले यही नियतीको सामाना बर्सौंदेखि गर्दै आएका छन् । न त त्यस क्षेत्रका गाउँबस्तीमा विजुली पुगेको छ, न त विकास पुगेको छ, न त त्यहाँका किसानहरूले आफ्ना खेतबारीमा कोशीको पानीबाट सिंचाई गरेर प्रसस्त अन्नबाली उब्जाउन पाउँछन् । अझ त्यस क्षेत्रमा बसोबास गर्ने मुसहर, दनुवार, डोम, दुसाध, आदि राज्यबाट अन्त्यन्तै तल्लो दर्जामा पारिएका जनताका हातमा जग्गाको लालपुर्जा समेत नहुँदा बर्सेनी कोशीको बाढीबाट पीडित हुँदा सरकारबाट राहत र क्षेतिपूर्ती समेत पाउँदैनन् । कतिपयले त नागरिकताको प्रमाण समेत पाउनबाट बञ्चित रहेका छन् । वास्तवमा ती उत्पीडित जातिका जनता त्यहाँका आदिवासी समेत हुँदा पनि आफ्नै देशका अनागरिक भएर बाँच्नु परेको छ । त्यहाँका जनता एकातिर बाँधबाट जति पीडित छन् त्यत्तिकै पीडित कोशी बन्यजन्तु आरक्षणबाट पनि छन् । यो कुरालाई कवितामा राम्रोसँग चित्रण गरिएको छ ।

कवितामा इच्छुकले त्यसक्षेत्रका महिलाहरूले भोग्नु परेको उत्पीडन र जुलूमको पनि उत्तिकै मार्मिक ढङ्गले चित्रण गरेका छन् । उनी अगाडि भन्छन् –
‘जहाँका महिलाहरू सधैं
नारी अस्मितालाई हत्केलामा राखेर
सन्त्रासमा बाँच्ने गर्छन्’

महिलालेले मात्रै नभएर त्यहाँका हरेक नागरिकले आफ्नै देशमा पनि अनागरिक भएर सन्त्रासमा बाँच्नु परेको छ र उनीहरू सुनिश्चित जिन्दगीको ठेगान खोजीरहेको तीतो यथार्थलाई कविले यसरी व्यक्त गर्छन् –
‘जहाँका बासिन्दाहरू सधैं
अनिश्चित र असुरक्षित जिन्दगीको
त्रासदी बोकेर
कुनै अनागरिकजस्तै
सधैं बेखबर
र, सधैं बेठेगान भविष्यको
सुनिश्चित ठेगान खोज्ने गर्छन्’

कवितामा राष्ट्रिय स्वाधीनताको भाव ः

कविले कोशी टप्पु कवितामा कोशी सम्झौताले देश पराधीन बनेको, राष्ट्रिय अस्मिता गुमेको र देश नवऔपनिवेसीकरणको सिकार भएको यथार्थ प्रस्तुत गरेका छन् । वास्तवमा नेपालले सन् १८१६ को सुगौली सन्धि र १९५० को असमान सन्धि मार्फत् देशको सार्वभौमिक अखण्डता गुमाउन पुगेको छ । तिनै सन्धिको आधारमा टेकेर भारत सरकारले नेपालमा कोशी सम्झौता लादेको र नेपालीलाई उत्पीडन गरेको कुरा कवितामा व्यक्त गरिएको छ । कविताका यी हरफ हेरौँ –
‘पराजित युद्धबन्दीजस्तै
विवश पुर्खाहरूमाथि करले लादेको
अतीतको सुगौली सन्धिजस्तै
मितेरीको मीठो भाङ खाएर
देशको छातीमा घनले ठोकेको
अपमानको गहिरो किलोजस्तो
यो कोशी तटबन्ध
असमान सन्धिको रक्षाकवच पैरेर
जन्माइरहेछ मुलुकभित्र
नौलो उपनिवेशजस्तै
नौलो विस्थापित मुलुक’

प्रस्तुत कवितामा कविले जसरी विजित प्रतिगामी शक्तिले युद्धबन्दीहरूलाई अपमानपूर्ण जीवन जिउन विवस पार्छ र उनीहरूको असहायताको फाइदा लुटेर उनीहरूलाई जस्तोसुकै कठोर, अमानवीय, तुच्छ र अपमानित सर्तनामा गराएर कहालीलाग्दो जीवन बाँच्न बाध्य पार्छ त्यसैगरी भारतीय शासक वर्गले नेपालमाथि कोशी सम्झौता लादेर विवस बनाई नेपालको सम्पदा लुटेको यथार्थ चित्रण गरिएको छ । यहाँ देशको स्वाधीनताको पक्षमा कविताका भाव र विचार व्यक्त गरिएका छन् । जहाँ उक्त सम्झौता गर्ने नेपाली शाषकहरूले भारतीय शाषक वर्गसँग शीर ठाडो गरेर आफ्नो देशको स्वाधीनताका पक्षमा दह«ोसँग खुट्टा टेकेर असमानताको विरोध गर्नुको सटट मितेरीको मीठो भाङ खाएर लट्ठीएको र राष्ट्रघाती सम्झौता स्वीकार गरेको विषय उठाएर तत्कालीन शाषकहरूलाई कडा ब्यङ्ग्य प्रहार गरेका छन् ।

कवितामा आख्यानिकरण ः

कविले प्रस्तुत कवितालाई बडो सचेत र सुक्ष्म ढङ्गबाट आख्यानिकरण गरेका छन् । कविताले कोशी बाँधले निर्माण गरेको जलासयको वर्णन गर्दा पौराणिक मिथकमा वर्णन गरिएको मत्स्य–पुराणसँग तुलना गर्दै जलमग्न पृथ्वी जस्तो जताततै पानी नै पानीको सागर भएको वर्णन गरेका छन् । वास्तवमा कोशी बाँधमा पुगेर हेर्दा त्यस्तै देखिन्छ पनि । कहीँ कतै जमीनको भाग नै नदेखिने जलसागर नै निर्माण भएको छ । त्यसैगरी त्यस क्षेत्रमा वसोबास गर्ने जनताको अवस्था, उनीहरूले भोगेको पुस्तौँदेखिको दुःखको कथा पनि कवितामा व्यक्त भएको छ । साथै सुगौली सन्धिहुँदै विभिन्न सन्धिका कारण दविएको र भारतीय शासक वर्गका सामू नतमस्तक भएको तत्कालीन नेपाली शासकहरूसँग करबल लगाएर लादिएको सम्झौताको यथार्थता प्रस्तुत गरिएको छ । वास्तवमा नेपालका शासकहरू भारतीय शासक वर्गसँग ऐतिहासक कालदेखि नै दविँदै आएको र उनीहरूका अगाडि आपूmलाई दासको रूपमा प्रस्तुत गरेर लम्पसार पर्दै जस्तोसुकै असमान सन्धि–सम्झौता पनि स्वीकार गरेको सत्य र यथार्थ घटना हो । जो अध्यावधि कायमै छ । अहिले पनि नेपाली शासक वर्गका दलहरू र तिनका शीर्ष नेताहरू भारतीय शासकहरूकै गुलामी गर्ने, उनीहरूको पाउमा लम्पसार परेर नेपालका प्राकृतिक सम्पदाहरू सुम्पने र सत्ताको कुर्चीमा पुग्ने खेल खेलिरहेकै छन् । त्यसकै परिणाम हरेक बर्स कोशीका जनताले बर्सायाममा भारतले कोशी ब्यारेजको सबै ढोका थुनेर नेपाली भूमि डुबाउँदा पनि नेपाली शासकहरूले भारतसँग त्यसो नगर भन्ने हिम्मत र साहस नै गर्दैनन् । जसका कारण नेपाली जनधनको ठूलो क्षेति ब्यहोर्नु परिरहेको छ ।

छोटो कविताभित्र इतिहासदेखि वर्तमानसम्मको मानवीय पीडा, असमान सन्धि–सम्झौता र त्यसले पारेको प्रभाव, प्राकृतिक भूगोलको वर्णन, पौराणिक कथाको स्मरण, आरक्षण र त्यसले दिएको मानवीय दुःख आदि विषय मार्फत् एउटा सिङ्गो आख्यान प्रस्तुत कवितामा पाउन सकिन्छ । त्यसैगरी एउटै देशका नागरिकहरूमा पनि नेपाली शासकवर्गले सदियौँदेखि गरेको भेदभाव, उपेक्षाको कथा पनि प्रस्तुत कवितामा व्यक्त गरिएको छ । यसरी नेपालको इतिहासदेखि वर्तमानसम्मको यथार्थ प्रस्तुत गर्दै त्यसको आलोचना र जनताले शासकवर्गका रवैयाका विरुद्ध नयाँ व्यवस्थाका निम्ति सङ्घर्ष गर्ने आह्वान गरेर कविले कविता मार्फत् एउटा युगको राम्रो कथा प्रस्तुत गरेका छन् ।

निष्कर्ष ः

भनिन्छ नि ‘अचानोको पीर खुकुरीले जान्दैन’, वास्तवमा कोशी सम्झौताबाट उत्पन्न भएको दर्द, पीडा, उत्पीडन, भयावहता र त्रासदी कोशी टप्पुका जनताले नै प्रत्यक्ष भोगेका छन् । यसको अर्थ त्यो दुखाई अन्यत्र बस्नेले अनुभूत गर्न सक्दैनन् भन्ने पनि होइन । तर प्रत्यक्ष पीडाबोध र सन्त्रस्त जीवन त त्यहीँका जनताले विताएका छन् । परन्तु, एउटा माक्र्सवादी राजनीतिज्ञ होस् अथवा लेखक, कवि, साहित्यकार, जो कसैले पनि आफ्नो वर्गका जनताले भोगेको पीडा, दुःखकष्टलाई आफ्नै ठान्छन् र त भावविह्वल हुन्छन् र त्यसबाट सबै जनतालाई सुसूचित गर्न साहित्य सिर्जना गर्छन् । इच्छुक वर्गबोधी कवि हुन् । उनी समाजवादी यथार्थवादलाई साहित्यको मानक र प्रस्थान बिन्दु बनाएर साहित्य सिर्जना गर्ने कवि थिए । त्यसैले चाहे तराईको जलमग्न भूमिका श्रमजीवी जनताले भोग्नु परेको पीडा होस् चाहे पाहाड र हिमालमा बस्ने उत्पीडित समुदायले भोगेको उत्पीडन र जुलूम होस् त्यसले उनको हृदय छियाछिया हुन्थ्यो र त्यहाँको यथार्थता आफ्ना कवितामा बिम्ब, प्रतिक, अलङ्कारद्वारा पूmलको थुङ्गाबाट माला उनेजस्तै कवितामा उन्थे । कवि इच्छुकले आफ्ना काव्यहरूमा यथार्थ चित्रण मात्रै गर्दैनथे कि उनले त्यसका विरुद्ध नयाँ समाज बनाउन, स्वतन्त्र, स्वाधीन देश निर्माणका निम्ति श्रमजीवी जनतालाई आह्वान पनि गर्थे ।

कविताको भाषा सरल अनि मिठासपूर्ण छ । वोधगम्य छ र वैचारिक रुपले माक्र्सवादी यथार्थवादको आलोकमा सजिएको छ ।

प्रस्तुत कोशी टप्पु कवितामा कविले कोशी नदीमा बनाइएको ब्यारेज र त्यसले जलमग्न सागर बनेको आफ्नो भूमिको दुःख, पीडा प्रस्तुत गर्दै त्यहाँका जनताले भोग्नु परेको मृत्युतुल्य जीवनको भोगाईलाई सजिव रूपमा उतारेका छन् । यो कविता केवल कविता मात्रै होइन, कोशी क्षेत्रको इतिहास, भूगोल, जनजीवन र शाषकहरूले गरेको राष्ट्रघातको दस्तावेज पनि हो । जबसम्म उक्त कोशी सम्झौतालाई नेपालको हित अनुकूल हुनेगरी पुनर्सम्झौता गरिँदैन र त्यहाँका नागरिकले सुरक्षित, स्वाधीन, स्वतन्त्र र आत्मनिर्भर भएर निर्भयपूर्ण जीवन बाँच्ने अवस्था सिर्जना हुँदैन तबसम्म यो कविता कालजयी रहने छ । आफ्नै देशका नागरिकहरूले अनागरिक भएर बाँच्नुपर्दाको पीडाबोध कविताले व्यक्त गरेको छ । कविले पौराणिक मिथकमा वर्णित मत्य–पुराणको सन्दर्भसँग कोशीमा निर्मित जलसागरको चर्चा गर्दै त्यसले जनजीवनमा पारेको दुस्प्रभावको चित्रण कवितामा गरेका छन् । त्यहाँका जनताले बर्सौंदेखि बगाएको आँशुको सागरका रूपमा कोशीको जलप्रवाहलाई तुलना गरेर प्रकृतिको मानवीकरण गरेका छन् ।
१८ जेठ, २०८१

प्रतिक्रिया

सम्बन्धित खवर