शनिबारीय साहित्य : कविता
****
जतिसुकै वाचाल होस
होस जतिसुकै चर्चित
जतिसुकै लोकप्रिय होस
होस जतिसुकै ह्याण्डसम/ ब्युटिफूल
सत्तालाई स्वस्ति गरिरहेको कवि
मात्र एउटा बुख्याँचा हो
सत्ताले सत्ता रुँघ्न ठड्याएको
एउटा निरिह गोठालो हो ।
सत्तालाई स्वस्ति गरिरहेको कवि
झट्ट हेर्दा जतिसुकै भद्र देखियोस
ऊ भित्रबाट अभद्र हुन्छ
जतिसुकै सर्वगुण सम्पन्न देखियोस
ऊ भित्रबाट रित्तो र खोक्रो हुन्छ
जतिसुकै नैतिकताका गफ गरोस
पहिलो दृष्टिमै अनैतिक हुन्छ ।
मञ्चहरूमा दैनिक
खादा र मालामा भए पनि ऊ
उसलाई मालाहरूले जिस्काइरहेका हुन्छन्
मालाहरू स्वयम् हिनतावोधमा हुन्छन्
मालाहरू सोच्छन्-
यस अनैतिकको गलामा झुण्डिनु
र भुस्याहा कुकुरको गलामा झुण्डिनु
कुन चै तैबिसेक होला ?
मालाहरू स्वयम् अलमलिन्छन ।
अखवारका रङ्गिन पानाहरूमा
अनलाइनका तिरिमिरी पानाहरूमा
या विद्यार्थीका पुस्तकहरूमा
प्राय स्वस्तिवाचकहरूकै कविता हुन्छन्
सत्ताले सत्तकालागि
महानायक बनाएर प्रस्तुत गरे पनि
असलमा तिनीहरू बुख्याँचा नै हुन्छन ।
जतिसुकै
हाँ हाँ हुँ हुँ
र फाँ फाँ फुँ फुँ गरे पनि
स्वस्तिवाचकहरू
कहिलै स्वाभिमानको सिर उठाउदैनन्
स्वस्ति वाचनमा झुक्दा झुक्दा
ती उमेरमै कुप्री परेका हुन्छन ।
संसारमा
थुप्रै कुरुप कुराहरू हुन्छन
तीमध्ये अग्रपङ्तीमा पर्छन
सत्ताद्वारा पालित, पोषित र प्रशिक्षित
सत्तालाई स्वस्ति गरिरहेका कविहरू !
***
२०८१ जेठ ३०
सिनामंगल