अतित तिर नियाल्दा

अतित तिर नियाल्दा

शनिबारीय साहित्य : स‌स्मरण
*** ***

गुलरीया जाने गाडीको खोजीमा धम्बोजीतिर लागेँ । त्यहाँ हाम्रो एउटा आन्तरिक बसाई थियो । नेपालगञ्जमै रहँदा हामीले त्यो योजना सेट गरेका थियौँ । झन्डै दस वर्ष भएछ म बाँके बर्दियाको सेक्रेटरी भएको । सुर्खेत, जाजरकोट, डोल्पा विशेष जिल्लाको ईन्चार्ज हुँदै सेनाको कमिसारबाट बर्दियाको ईन्चार्ज भएर जान लाग्दा मनभरि नानाथरीका तर¨हरू तछाडमछाड गरिरहेका थिए ।

२०५५ साल जेठतिरको घटना याद आयो । जतिबेला हामीहरू बाँके बर्दियाको बैठक बस्न बर्दियाको धोवियामा जुटिरहेका थियौँ । साथमा क. दिवाकर हुनुहुन्थ्यो । कमरेड दिवाकरले बिष्णुजी कहाँ हुनुहुन्छ भनेर मलाई उहाँले सोध्नुभयो । मलाई थाहा थिएन । केही समय पहिले मात्र मैले बिष्णुजीलाई दुश्मनले दमन बढाएको र अब घरमा बस्न उचित नहुने भनेको थिएँ । उहाँलाई केही कुरा सम्झाएर म हिँडेको थिएँ । खासगरी जुना र गुरूप्रसाद कठरीयालाई हत्या गरेपछि खतरा बढेको महशुस भएको थियो ।

दिवाकरले पछि उहाँलाई लिन पठाउनु पर्‍यो भन्नुभयो । हामीले विष्णु पोख्रेललाई भेट्नका लागि साथीहरू पठायौँ । तर, साथीहरू केही समयपछि रित्तै फर्कनुभयो । बिष्णु पोख्रेल र धनिराम चौधरीको हत्या भएको खबरले हामी अप्रत्यासित रूपमा स्तब्ध भयौँ । मैले एउटा अभिभावकको कमीको महशुस गरे । मलाई त्यो परिस्थितिको सामना गर्न निकै गाह्रो भयो । बर्दियामा हत्याका घटनाहरू झन्झन् बढिरहेका थिए । रोएर बस्ने समय हामीसँग थिएन । दुश्मनले हामीलाई कुनै मानवता र सहानुभूति देखाउन सक्दैनथ्यो । जतिसक्यो हामीलाई आक्रमण गर्नु र परास्त गर्नु नै उसको जित हुन्थ्यो । त्यसमै त उसको आयु रहन सक्थ्यो । त्यसैले जतिसक्यो त्यति छिटो त्यसको काउन्टरमा हामीले नयाँ योजना बनाउनु जरुरी थियो । त्यसबाहेक अरू बिकल्प हुन सक्दैनथ्यो ।

केही समयमा नै हामी भएतिर दुश्मन आइरहेको खबर पनि आयो । सायद हामी त्यहाँ भएको खबर पुग्यो होला । हामीले खाना खाएर साँझ नै धोबिया छोड्यौँ । रातभरी बबईको बगरमा बस्यौँ र बिहान होइन भनेपछि सोही व्यवस्थापनमा फर्कियौँ । अर्कोदिन उहाँहरूको शवहरू गुलरिया अस्पतालमा भएको खबर आयो । हामीले त्यसका विरुद्ध एउटा आन्दोलन उठाउने योजना बनायौँ । शव प्राप्तिको लागि गरिने आन्दोलन नै सबैभन्दा राम्रो हुन सक्दथ्यो । तुरुन्त नै हामीहरू त्यसतर्फ लाग्यौँ ।

त्यस आन्दोलनले हत्याराहरू र त्यसका योजनाकारहरूलाई नैतिकरूपमा, वैचारिकरूपमा हामीले सधैँ सधैँ परास्त गर्न सफल भयौँ । हामीले उहाँहरूका बिभत्स बोरामा कोचेका शवहरू प्राप्त गर्न सफल भयौँ । यो दुश्मनको नग्न हारको बलियो प्रमाण थियो । यसले घरमा बसिरहेका र राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा जनचेतना जगाउने जनताका नेताहरूसँग कसरी प्रतिकृयावादीहरू आतङ्कित रहेछन् र कति कमजोर रहेछन् भन्ने कुरा घाम जस्तै छर्र्लङ्ग भयो । यस घटनाले देसैभरी लाखौ जनसमुदायलाई स्पष्ट पार्‍यो । किनभने ती नेताहरू देसैभरी स्थापित भएका जनप्रिय नेता थिए । फेरि त्यसै वर्ष भाद्र ८ गते ठाकुरद्वाराबाट काममा जुटिराख्नु भएको बर्दियाली नेता वेदप्रसाद योगीलाई गिरफ्तार गरी वेपत्ता बनाउने प्रपन्च बुने, त्यसै वर्षको चैत्र २६ गते कृष्ण चौधरी (विक्री) लाई नेपालगञ्जबाट वेपत्ता बनाए र राप्तीमा लगेर हत्या गरे भन्ने रिपोर्ट आयो । २०५६ को बैसाख ३ गते ढाकाराम पाठकलाई धोबियाबाट गिरफ्तार गरी हत्या गरे । कमानको बैठकबाट जाँदै गर्दा फच्कवाबाट ईन्चार्ज कमरेड अमरजी (जोख बहादुर महरा) र म फर्केका थियौँ । २०५८ को मङ्सिर २६ गते आयामलाई गिरफ्तार गरेर माघ २८ गते हत्या गरेर दोहोरो भिडन्तको गोयवल्स शैलीमा प्रचार गर्‍यो ।

मेरो यात्राको क्रममा यिनै घटनाहरू स्मृतिमा आउँदा मन गह्रौँ भइरह्यो । भावनाहरू दौडिरहे । गाडी चल्यो र खजुरा पुग्यो । १५ मिनेट गाडी रुक्यो । त्यहाँ मेरो मन पनि रुक्यो डम्बरमा, विपिनमा अनि वैनी कोपिलामा । जतिवेला हजारौँ महिलाहरूले वलात्कार, थुप्रै यातना र अपमानहरू खेपि रहेको बेला कथित महिला नेताले बोलेको टि.भी.मा देखाई रहेको बेला वैनीले “ती महिला, ती रेखा कसरी नेता भइन सारा मुक्तिकामी महिलाहरूले यो अपमान खेपिरहेको बेला, हामी भरखरै जेलबाट थुप्रै सैनिकका बिभत्स अपमान खेपेर आएका छौं, त्यसको विरुद्ध बोल्न सकेको खोइ दिदी” भनेर मलाई भनिरहनु भएको थियो । मैले भनेकी थिएँ “यथार्थताको छानविन हुने नै छ । रेडियो, टिभिको समाचारबाट प्रभाबित भएर बोलिहाल्ने स्थिति छैन । पार्टीले यस विषयलाई वैज्ञानिक ढङ्गले निकास छिट्टै दिने छ । हामी यस विरुद्ध लड्न आँट गर्नु पर्दछ ।”

“पार्टीले यसको जवाफ दिएन भने कसरी हामी माओवादी हुन सक्छौं ?” वैनीले भनिरहनु भएको थियो । छिट्टै नै त्यसको जवाफ आयो, वैनीहरूमा विश्वास र आसाको स्प्रिड नयाँ उचाइमा पैदा भयो । भरखरै जेलबाट निस्कनुभएकी अनि निकै कमजोर भएपनि उहाँ पूर्वतिर पोखरा हानिनुभयो, सानी छोरीको मायामा डोरिएकी कोपीला बात्सल्यतालाई जनयुद्धबाट जबाफ दिईरहनु भएको अनुभूति हुन्थ्यो । उहाँले पोखरा मजदुर मोर्चामा काम गर्नुहुन्थ्यो । उहाँको उच्च विद्रोह विशेष त श्रीमानसँगको परिवारसँगको तिर मेरो मन केन्द्रित भैरह्यो । किनभने त्यो विद्रोहको घाउ कति गहिरो हुन्छ अनि त्यसको दुखाई कति बल्झिरहन्छ । सायद सैन्य खटिरोको दुखाई पनि त्यति गहिरो हुँदैन । ती सबै बन्धनहरू अनि दुखाईका अगाडि पनि उहाँ ती दुश्मनसँग झुक्नु भएन । गाडी गुड्यो, मनपनि गुड्यो, बढैया देखियो । जहाँ कमल दाहालले मलाई साइकलमा जि गाउ‘बाट लिएर आउनु भएको थियो, त्यसको साथमा राजनको यादले सतायो । जतिवेला उहाँ शिक्षकबाट राजिनामा दिएर दुनिया बदल्न होमिनु भएको थियो । गाडी सोरहवा प्रवेश गर्‍यो । जतिवेला क. जीवन, रमन, कृष्ण, बादलसँग हिँडेका र उहाँहरूले स्वाभीमानको उत्तर दिइसक्नु भएको घटनाहरू कालीकासम्म याद आइरह्यो । दुश्मनले यसलाई सहन सक्दैनथ्यो र सकेन । गाडी कालीका प्रवेश गर्‍यो, गणेशपुर जहॉ क. जित लगायत दर्जनौ कमरेडहरूको सहादत विरता पूर्ण लडाईका आर्कहरू यस मानसपटलमा घुमि रह्यो । गाडी भादा पुग्यो – भादामा जतिवेला विष्णु पोख्रेल र धनीराम चौधरीको शव र श्रद्धाञ्जली अनि विचारलाई उचाईमा उठाउन वर्गवैरी प्रति आक्रोसको तुफानहरू बर्षीरहेका थिए । त्यतिवेलाको दिनेश श्रेष्ठ, सन्तोष, सुधा, विष्णु चौधरी ती नेताहरू जस्ले त्यस तुफानको नेतृत्व गरिहेका थिए । मन बलियो र चौडा बन्यो म गुलरीया पुगेँ ।

त्यहाँ क्याम्पस स्कूलहरू विशेषत: शिक्षा, विकास निर्माण, बजार, विचार नीति विद्यार्थी, सङ्गठन लगायतका हाम्रो कार्यक्रमहरूमा हामी केन्द्रित भयौँ । एक जना ने.का.का इमान्दार कार्यकर्तासँग भेट भयो –“सरलाजी तपाईहरूको हस्तक्षेप पुगेको छैन, पुराउन योजना बनाउनु पर्‍यो । यहाँ त कतिसम्म झुट अनि दिनलाई रात बनाउँछन् । आफ्नै कार्य, आफ्नै पार्टीप्रति पनि विश्वास घट्न थालेको छ । हेर्नुस् न “क्याम्पसको संस्थापक विष्णुजी हो कि होइन ? हो नी, तर त्यहाँ बनाएको पार्कमा उहाँलाई संस्थापकको रूपमा राखेनन् । हो त्यसलाई जे हो त्यही गराउन र गर्न सकिएन । यस प्रति खेद छ, मलाई क्षमा दिनु होला ।” तपाई त भरखरको छोरी जस्तो ।” मलाई स्तब्ध बनायो ।

मैले भनेँ, “हेर्नुस दाइ, हो हामीहरू ठूलो क्षतविक्षत भएर आएका छौं, कपाल त नपूmले पनि थोरै पूmल्न थालेको छ । लाग्छ विष्णु, वेद, कृष्ण, सगुन, भिम, लेखनाथ, आयाम, शशिहरूका महान् झोला बोक्ने हामी नै भएका छौं । छोरी जस्तो भए पनि विचारले राजनीतिले, जिम्मेवारीले आमा बन्ने परिस्थितीले बनाएको छ । तपाईहरूले बनाउनु भएको छ । वास्तविकतामा उमेरले आमा बुबा बन्न नसकिदो रहेछ । सैद्धान्तिक रूपमा यस्तै लाग्छ दाई ।” उहाँ केही बोल्नु भएन, म कामतिर लागेँ । आन्तरिक बसाईहरू भेटघाट, छलफल सबैतिर सबैठाउँमा एउटा विषय खड्किरह्यो अभाव भएको महशुस भइरह्यो । ‘आज भौतिक रूपमा उहाँहरू भएको भए’ यस्तै कल्पनाहरू दौडिरहे मनमा ।

यो बिचमा कार्यक्रम लिएर राजापुर गएँ । ओहो ! राजापुर त बलिदानको हिसाबले पनि एउटा उचाईमा समर्पित भएछ । अझ खुसी त त्यसमा लाग्यो यौन अराजकतातिर उन्मुख कार्यकर्तालाई जनताले पार्टीले कार्वाही गर्नुभन्दा अगावै जनकारवाही गरेछन् । त्यस प्रकृयालाई हामीले पार्टीबाट हल गर्‍यौँ । त्यहॉ जमिन्दार फाटाहाको जमिन कब्जा अनि भकारी फोर आन्दोलनको कुराले गर्दा “पार्टीले दिए पनि हामीले दिने पक्षमा छैनौँ । सबै कुरा माओवादीका कुरा मान्ने पक्षमा हामी नरहेको स्थिति छ । हामीले हाम्रो निर्णय गर्न पाउनु पदर्छ । तपाईहरूको राजनीतिक सन्तुलन के के हो गर्नुस् ? तर त्यसको पक्षमा छैनौँ हामी घुमाउरो जान्दैनौ । हामी त किसान, सोझो मात्र जानेका छौं । हिजो वेदहरू, आयामहरू, ढाकारामहरू यस्तै भन्नु हुन्यो । तपाईहरू त अर्कै भइरहनु भएको छ, हामीलाई मन परेको छैन ।” मनाउका एकजना किसान भाइले भन्नु भयो । “तपार्ईहरूले निर्णय गर्न पाउनु हुन्छ, त्यो वैज्ञानिक हुनु पर्छ, वस्तुको गतिलाई देख्न सक्नु पर्छ किनभने एउटा वस्तु गति गतिमा छ । हिजो जनता तपाइँहरू यस्तो हुनु हुन्थ्यो । आज धेरै माथि उठ्नु भएको छ । बल्ल अधिकार खोज्न र लिन हामीसँग पनि जुधिरहनु भएको छ । जुध्नुपर्छ, यस्मा हाम्रो समर्थन मात्र होइन सहयोग पनि रहने छ ।” मैले भनँे ।

ओहो यो ५, ६ वर्ष म बच्चादेखिको भूमिका लिएर पार्टीमा अन्य कामहरू गर्दै यतिबेला बाँके–बर्दियामा आएदेखि कोहलपुर ढकेरी फेरि घुमियो । क. ज्वालाको मेडममा गएर अडियो । जतिवेला देश जनआन्दोलनमय भइरहेको थियो त्यतिबेलाको भेटमा भन्नुहुन्थ्यो “शहर बजारमा सहिदहरूका रगत, वलिदानहरू प्रष्फुटित भइरहेका छन् । ज्वाला दन्किरहेको छ । मलाई कार्यक्रममा जान मन लागिरहेको छ । म पनि तपाईहरूसँग जान्छु । सहिदहरूको लक्ष्य र मर्म हामीहरूले बुझ्नु पर्छ र बुझ्न सक्दछौं ।” उहाँ जुलुसमा जुट्न आफ्नो भूमिका निर्वाह गरिरहनुभएको थियो । क. सङ्कल्प सुशीलको घरको अवशेष मात्र थियो, हेर्न गयौँ । साँच्चै त्यो घरले, त्यो माटोले ठूलो बलिदान खेप्दै स्वाभीमानको उच्चता कायम गर्‍यो । हाम्रो वर्गमाथिको नैतिक बलका अगाडि कोही रहन सकेनन् ।