शनिबारीय साहित्य : कविता
*** ***

कहिल्यै नभएको भेट हुने वाला छ
भन्दै नभनेर ऊ आउने वाला छ
अतिथिको आसन ग्रहण गर्न होइन
बेथितिलाई आगो जलाउने वाला छ ।

रुखो धर्तीमा धानैधानको कुइनो लगाउने भन्थ्यो
खाली आँगनमा विस्कुनको ओइरो लगाउने भन्थ्यो
रित्तो आँखाले अब जवाफ माग्नेवाला छ
कहिल्यै नभएको भेट हुनेवाला छ
भन्दै नभनेर ऊ आउने वाला छ ।

एक चोटी मात्र होइन सयचोटी मर्ने भन्थ्यो
मृत्यु भएर के भो विद्रोह अमर हुन्छ भन्थ्यो
अनेकोटको विद्रोह जाग्ने वाला छ
कहिल्यै नभएको भेट हुने वाला छ
भन्दै नभनेर ऊ आउने वाला छ ।

आकासको छानोमुनि खुसी जन्मिन्छ भन्थ्यो
सम्म फाँटमा मात्र होइन भीरपाखामा पनि फुल्छ भन्थ्यो
दोरम्भाको माटोले मूल्य सोध्नेवाला छ
कहिल्यै न भेटेको भेट हुनेवाला छ
भन्दै नभनेर ऊ आउने वाला छ
अतिथिको आसन ग्रहण गर्न होइन
बेथितिलाई आगो जलाउने वाला छ ।

प्रतिक्रिया

सम्बन्धित खवर