तारा खस्यो

तारा खस्यो

शनिबारीय साहित्य : कविता
*** ***

बिहान हुन नपाउँदै
एउटा तारा खस्यो
अँध्यारोका विरुद्ध चम्किदा चम्किदै
एउटा तारा झर्‍यो

ऊ शान्त थियो
सलाईको काँटीजस्तै
बिद्रोहको मसाल सल्काउँदा सल्काउँदै
सलेदो बालेर ऊ निभ्यो

ऊ पथप्रदर्शक थियो
मुक्तियात्राको एक यायावर
अनेकौँ मुसाफिर जिन्दगीलाई
पाइतालाको डोब छोडेर उ हिँड्यो

ऊ देख्नेहरूका लागि सिङ्गो आकाश थियो
टेक्नेहरूका लागि फैलिरहेको धर्ती थियो
ऊ उज्यालो नहुँदै खसेको तारा थियो
आवाजहरूको पनि चर्को आवाज
सिर्जना र संवादको शालिन विद्रोही
ऊ सबैको कान्त थियो
अर्थात् चम्किलो तारामा जोडिएको कान्त ।