लाल गाउँमा मेरो सरुवा

शनिबारीय साहित्य : संस्मरण

*** ***

मुलुकको ग्रामिण बस्ती ८० प्रतिशत भू–भाग तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको कब्जामा थियो । देशमा भिषण युद्ध चलेको थियो । हजारौं जनताका छोराछोरीले हाँसीहाँसी युद्धमा सम्लग्न हुँदै हजारौंले शाहदत प्राप्त गरि महान् सहिद बन्ने अबसर प्राप्त गरेका थिए । म जुन गाउँमा थिएँ त्यो गाउँ कम्युनिस्ट आन्दोलनको मुख्य गढ थियो । पञ्चायती शासकहरूले पनि समय–समयमा जनतालाई दमन गर्ने कडा निगरानीमा राख्ने गर्दथे । २०४६ को बहुदलीय ब्यबस्था आगमनसँगै प्रजातान्त्रिक समाजवादी भन्ने पार्टीको सरकारले व्यापक जनदमन, हत्या हिँसा र सरकारी भिजिलान्ते प्रयोग गरि आतङ्क मञ्चाउनेहरूको कमि रहेछ । जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जहाँ प्रतिरोध हुन्छ त्यहाँ बिस्फोट र युद्धको सुरुवात हुन्छ ।

सरकारी संयन्त्रबाट रोमियो अप्रेसन जस्ता कठिन दमन पार गर्दै अन्तत: २०५२ फागुन १ गते नेपालमा जनयुद्धको थालनी गरियो । देशका अनेकौं ठाउँहरूमा प्रचारात्मक पोस्टर टाँसिएको थियो भने गोरखा, रोल्पा, जाजरकोट, सिन्धुली लगाएतका जिल्लाहरूमा धावा बोल्दै प्रहरी चौकी सरकारी निकायहरू कब्जा गरिएको थियो । तत्कालीन सरकारले नरसंहार गर्दै फागुन १४ गते गोरखाका ११ वर्षीय बालक दिलबहादुर रम्तेललाई विद्यालयमा हत्या गरि सुरु गरिएको हत्याको सृङ्खला रुकुमको मेलगैरीमा छ जना खत्री बन्धुहरूको हत्यापछि देश अनन्त द्वन्द्वमा फस्यो ।

तत्कालीन सरकार र सरकारी भिजिलान्तेहरू निर्मम दमनमा उत्रिए । यो माओवादी आन्दोलन एक महिनामा सखाप पार्छौं भन्ने तत्कालीन सरकार र यो आन्दोलनको झिल्को हो भविश्यमा देशभरि डढेलो लगाइदिन्छौ भन्ने माओवादी लाठी र खुकुरी भरुवा बन्दुकबाट सुरु गरिएको युद्ध राइफल खोसेर बोक्न सक्ने क्षमतामा बृद्दी गर्दै जाने क्रममै ठुलाठुला हातहतियार बोक्ने लालसेनाहरू गाउँगाउँमा देखिन थाले । दिनभर घरभित्र लुकेर बस्नुपर्ने माओवादी कार्यकर्ता र नेताहरू झण्डै ८० प्रतिशत भू–भाग कब्जा गरि गाउँमा स्थानीय जनसरकार समेत गठन गरि छुट्टै शासन स्थापना गरेको थियो ।

म यस्तो जिल्ला र गाउँमा थिएँ जहाँ माओवादी आन्दोलनका क्रममा समग्र देशका चर्चित नेताहरू नपुगेको होस् । सबै केन्द्रीय नेताहरू त्यो गाउँमा नपुगेका कोही छैनन् होला । त्यस ठाउँमा मैले अध्यापन गर्ने स्कूल थियो । म २०४६ देखि २०५६ सम्म हालको त्रिबेणी गाउँ पालिका वडा नम्बर दुई पश्चिम रुकुम गाउँमा बसेको थिएँ । जुन ठाउँमा खारा हत्याकाण्ड भएको थियो । उक्त हत्याकाण्ड विश्व चर्चामा रहेको राज्यद्वारा गरिएको हत्या तथा गाउँ आगजनी गरि सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नाङ्गिएको थियो । त्यही खारा गाउँबाट पुर्बतर्फ पर्ने रुँघा दाङचुङ बल्लेजुरा भन्ने ठाउँमा थिएँ । जुन गाउँमा पार्टीको केन्द्रदेखि धेरै लामो समयसम्म डिएचक्यु रहेको थियोे । जुन गाउँबाट डिल्ली बुढाथोकी, नारायण बोहरा, कमला चन्द, कुल बहादुर बुढा, बिना पुन, बिस्वसिष्टर के सी लगाएतका मेरा प्रिय बिद्यार्थीहरू जनयुद्धको क्रममा सहिद भएका थिए । मैले त्यो गाउँ छोडेर सल्यान झरेको थिएँ ।

मैले त्यो गाउँ छोड्नु मेरो रहर थिएन बाध्यता थियो । मेरो सरुवा सल्यानको कुपिण्डेदह स्वारामा भएको थियो । मेरो सरुवा हुँदा रमाना लगेर आउँदा मेरो घनिष्ठ मित्र आन्दोलनले खारिएका शिक्षक साथी रुकुम कारागारमा जेलमा थिए । तत्काल वि.व्य.स. अध्यक्ष नरबहादुर चन्दलाई विद्यालयको सम्पूर्ण नगद तथा जिन्सी सामग्री जिम्मा लगाएर रमाना लिएर नयाँ ठाउँमा २०५७ साउनमा स्वाराको विद्यालयमा हाजिर हुन पुगेँ ।

जहाँ म सरुवा भएर आएँ त्यहाँको परिवेस फरक थियो । त्यस भेकका जनताले ‘यहाँ त कहिलेकाहीँ माओवादी आउँछन्, तपाईं त रुकुमको गाउँमा बसेर आउनु भएको मान्छे, कस्ता हुन्छन् सर लालसेनाहरू ?’ भन्दै प्रस्नहरू गर्थे । अनौठो लाग्थ्यो मलाई । देशभरका अधिकांश ग्रामिण एरिया माओवादीको कब्जामा थियो, तर त्यो गाउँ २०५७ सम्म एउटा पनि माओवादी जनयुद्धमा सम्लग्न थिएनन् । जनताको प्रश्नको सिधासिधा म छु तर पनि आपूmलाई माओवादी हुँ भनेर खुलेर जवाफ दिनसक्ने अवस्था थिएन । मैले अब म आएको छु हेर्दै जानुस् साथीहरू भनेर मनमनै जवाफ दिन्थे ।

एक दिन गाउँमा दस एघार जनाको समूह गाउँमा छिर्‍यो । को रहेछन् भनेको त तत्कालीन एरिया समितिका इञ्चार्ज जीवन, सेक्रेटरी हिमाल लगाएतको टिम गाउँमा आएको थियो । गाउँमा त्रास बढेको थियोे । सबै गाउँलेहरू खुलेर कुरा गर्न सक्दैनथिए । म पुगेको पहिलोपटक माओवादी नेता कार्यकतर्गहरूसँग भेटघाट हुने अबसर मिलेको थियो । शिक्षक स्टाप पनि मौन थिए । सबैले मलाई अगाडि सारे कुराकानी गर्न । स्कुलबाट पहिलोपटक आर्थिक सहयोग लिईंदै थियो । बार्गेनिङ गरेर साथीहरूले सोचे भन्दा अधिक आर्थिक सहयोग उठाए ।

सानोतिनो पहिलोपटक कोणसभा भयो । गाउँका मान्छेहरूले धेरै चासो चिन्ता सहित कुराकानी सुनिरहेका थिए । कार्यक्रम सकियो । बेलुकीपख पहिलोपटक सल्यानका केही कमरेडहरूसँग भेटघाट छलफल चिनजान इतिहास खोतल्ने काम गरियो । म आफु माओवादी पार्टी सदस्य भएको सम्पर्क आउँदै होला, सम्पर्क आयो भने जोडिन्छु भन्ने कुरा गर्दै अबेरसम्म कुराकानी गरेर कमरेड जीवन र कमरेड हिमालसँङ्ग निदायौँ ।

भोलिपल्ट अबेला उठ्यौँ । खाना पाकेको थियो । खाना खायौं । साथीहरू हिडनु भयो । म पनि स्कुलतिर लागेँ ।

२०५७ माघतिर मेरो सल्यान जिल्लामा सम्पर्क आएछ । जीवन जी आउनुभयो । सल्यानमा मेरो पनि पार्टी सम्पर्क जोडियो । २०५७ फागुनतिर अखिल नेपाल शिक्षक सङ्गठन एरिया नम्बर पाँच गठन गर्‍यौँ । म एरिया अध्यक्ष निर्बाचित भएँ । सहिद बासुदेव शर्मा उपाध्यक्ष बन्नु भयो । अन्य साथीहरूको नाम अहिले याद भएन । एघार जनाको एरिया समिति गठन गरियो ।
म आधिकारिक रुपमा सङ्गठनमा जोडिएपछि स्वारा गाउँबाट झण्डै दुई दर्जन युवाहरू एकसाथ जनयुद्धमा लामबद्ध हुनुभयो । गाउँमा माओवादी गतिविधि बढ्न थाले । यसरी एउटा श्वेत गाउँ लाल गाउँमा रुपान्तरण हुन धेरै समय लागेन ।
तुलसीपुर दाङ २०८०/११/५