शहीदगाथा
*** ***
आफ्नो जीवनको लामो समय गरीबहरूको पक्षमा लड्ने र नयाँ जनवादी व्यवस्था स्थापनार्थ अहोरात्र खट्ने एउटा अथक योद्धा शहीद हुनु भएको छ । सिन्धुलीको माटोमा जन्मिएर, हुर्केर र जनताको सङ्घर्षमा, जनयुद्धमा विभिन्न भूमिका र विभिन्न स्थानहरूमा भूमिका निभाउने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको काख सोलुखुम्बुमा उहाँले आफ्नो प्राणोत्सर्ग गर्नु भएको छ । क. कमल देवकोटा जो पार्टीभित्र कमरेड पिकेको नामले चर्चित हुनुहुन्थ्यो, ले आफ्नो अथक सङ्घर्षको जीवनको ४४औं वर्षमा शहादत प्राप्त गरेर जनगणतन्त्र नेपालको निर्माणको अभिभारा बाँचेकाहरूलाई छाडेर जानुभएको छ । त्यही महान् शहीदको छोटो जीवनगाथा यहाँ प्रस्तुत गर्न लागिएको छ ।
शहीद कमल देवकोटाको जन्म २०१७ साल चैत्रमा सिन्धुली जिल्लाको अमले गाजस–३ मा मध्यम परिवारमा भएको थियो । औपचारिक शिक्षाका रुपमा एसएलसी उत्तीर्ण गर्नुभएका शहीद देवकोटाका चार सन्तान मध्ये एक छोरी निर्मला देवकोटालाई ०५५ चैत्र ५ गते प्रहरीको आततायी जत्थाले काभ्रे जिल्लाको अनेकोटमा घरै आगो लगाई हत्या गरेको थियो । उहाँकी जीवनसंगिनी, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
राजनैतिक रुपमा ऋषि देवकोटा (आजाद) बाट प्रभावित भएर उहाँ कम्युनिष्ट आन्दोलनमा आकर्षित र संलग्न हुनुभएको थियो । वि.सं.२०३३ सालतिर विद्यार्थी संगठन मार्फत् उहाँले आफ्नो राजनैतिक र साङ्गठानिक जीवन शुरु गर्नुभएको थियो । उहाँ सिन्धुलीमा तात्कालीन पञ्चे र मण्डलेहरूको विरुद्धको सङ्घर्षमा सहभागी हुनुुुभएको थियो । वि.सं. २०३३ सालमा नै उहाँले नेकपा चौमको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । त्यसको करिव १ बर्षपछि नेकपा (चौम)को अवसरवादको विरोध गर्दै अन्त्यमा सो पार्टी परित्याग गर्नुभयो । क्रान्तिकारी पार्टीको खोजीमा तात्कालीन नेकपा (माले)मा उहाँ आबद्ध हुनुभयो । तर केही वर्षमा नै माओ विचारधारा समेत परित्याग गर्ने उक्त पार्टीमा समेत उहाँ अडिन सक्नु भएन र वि.सं. २०४० सालमा ने.क.पा.(मशाल) बनेपछि उहाँ मशालमा आबद्ध हुनुभयो । तर २०४१ सालमा मशालबाट मोहनविक्रम सिंहको निष्काशनपछि एम. वी. सिंहले नेतृत्व गरेको मसालको कथित क्रान्तिको भ्रममा परेर उहाँ त्यसमा लाग्नुभयो । २०४७ सालमा मसाल समूहबाट विद्रोह गरेर अन्य क्रान्तिकारीहरूसँगै उहाँ पनि नेकपा (एकता केन्द्र) मा आबद्ध हुनुभयो । उहाँले ०४७ सालदेखि ०५१ सम्म सिन्धुली जिल्लाको जिल्ला पार्टी सदस्य र किसान संघको जिल्ला सदस्यको रुपमा निरन्तर क्रान्तिकारी आन्दोेलनमा सक्रिय हुनुभयो । ०५१ मा पार्टीको नामाकरण नेकपा (माओवादी) भएपछि उहाँ नेकपा (माओवादी) ले जनयुद्धको तयारीको क्रममा गठन गरेको सिन्धुली जिल्लाको लडाकु दलको कमाण्डरको रुपमा भूमिका निर्वाह गर्नुभयो ।
०५२ सालमा जनयुद्ध शुरु भएपछि उहाँ त्यसबेला जिल्लामा बनेको सेनाको स्क्वायडको कमाण्डर हुनुभयो र पछि जिल्लाको लडाकु दलको कमाण्डर हुनुभयो । आफ्नो राजनैतिक हैसियतलाई बृद्धि गर्दै लाने क्रममा उहाँ २०५६ मा नेकपा (माओवादी) सिन्धुली जिल्ला सेक्रेटरी भएर सिन्धुलीको नेतृत्व गर्नुभयो र विभिन्न प्रकारका अराजकता र अवसरवाद विरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०५८ सालमा उदयपूर र सप्तरीको संयुक्त जिल्ला समितिको सेक्रेटरीको रुपमा कार्यरत रहँदा सोही सालको मंसिरमा गिरफ्तार हुनु भई १३ महिना काठमाडौंको भद्र बन्दी गृहमा व्यतित गर्नुभयो । जेल बसाइको क्रममा अध्ययन, साहित्य/कला सम्बन्धी लेखन तथा गीत/संगीतको रचनामा उल्लेख्य प्रगति गर्नुभयो ।
पुरानो सत्ता र नेकपा (माओवादी)बीच भएको युद्धविरामको अवधिमा २०५९ चैत्रमा रिहा भएपछि उहाँले पुन जनयुद्धको अभियानमा आफूलाई समाहित गर्नुभयो । २०६० सालमा नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्ड अन्तर्गतको विशेष क्षेत्रीय व्यूरो सदस्य हुँदै सोलुखुम्बु जिल्लाको इञ्चार्जको भूमिका निभाउन थाल्नुभयो । २०६० आश्विन २५ गते सांगठानिक कामको सिलसिलामा हिंडिरहेको बखत सोलुको सल्यान गाजसअन्तर्गत ख्याम्पू भन्ने स्थानमा शाही सेनाको एउटा हत्यारो जत्थासँग जम्काभेट हुँदा शाही सेनाले गोली हानी उहाँको हत्या गर्यो । यसरी जनताको एउटा अथक योद्धाको भौतिक अन्त्य भयो ।
एउटा मिलनसार, हँसिलो र जनयुद्धको एउटा प्रतिबद्ध सदस्यले यसरी जनताको युद्धमा निरन्तर लडिरहँदा शहादत प्राप्त गर्नुभयो । आफ्नो भौतिक अवसानसँग जनगणतन्त्र नेपालको निर्माणको अभिभारा बाँचेकाहरूलाई छाडेर देवकोटा तमाम क्रान्तिकारीहरूको बीचबाट बिदा हुनुभएको छ ।
शहीद देवकोटाले थुपै गीतहरू रचना गर्नुभएको छ र केहीमा संगीत समेत भर्नुभएको छ । उहाँको साहित्य/कलासम्बन्धी एउटा अप्रकाशित कृति जेल बसाइको क्रममा रचना गर्नुभएको थियो । साथै उहाँ हार्मोनियम, मादल, गितार जस्ता वाद्यवादन बजाउन, गीत गाउन, नाच्न समेत निपुण हुनुहुन्थ्यो । सङ्गठन निर्माण कलामा पनि उहाँ अत्यन्तै निपूर्ण हुनुहुन्थ्यो । जनताका बीचमा समेत अत्यन्तै लोकप्रिय जननेता देवकोटाको भौतिक शरीर दुश्मनले हामीबाट खोसे पनि उहाँको विचार मरेन र गलेन । आज लाखौंलाख योद्धाहरू कमल देवकोटाको सपना साकार पार्ने कसम खाइरहेका छन् । अजम्मरी मृत्युवरण गर्ने वीर सहिद कमल देवकोटा प्रति रातो सलाम अर्पण गर्दछौं ।
(पूर्वी केन्द्रीय कमाण्डअन्र्तगत विशेष क्षेत्रीय व्यूरो कार्यालयद्वारा उपलव्ध)
जनादेश साप्ताहिक, वर्ष– १२, अंक–२९, २०६० मंसिर ९ गते मंगलबार बाट लिइएको