शनिबारीय साहित्य : कविता
*** ***
कमरेड,
अझै चुनाव आएको छैन
बिर्सेर पनि नफर्कनुहोला, हाम्रो गाउँतिर !
चुनावअघि
तपाईं आउँदा जस्तो छैन बाटो
उसै सालको वर्षातले बगायो कालोपत्रे
काँडा बढी माटो कम छ,
भोकको क्यान्सर र गरिबीको पहाडले थिचिएर
यही समयमा थला परेको छ रामे माइलो
राजधानी झरेपछि, टीभीमा हरबखत देख्छु
दोब्बर बढेको छ तपाईंको तौल
कसले बोकेर घुमाउँला तपाईंलाई हाम्रो गाउँ
कमरेड, अझै चुनाव आएको छैन
बिर्सेर पनि नफर्कनुहोला, हाम्रो गाउँतिर ।
कमरेड,
बजारमा के जाति लकडाउनु छ रे
नुन, तेल, बेसार र चामलले
गाउँ आउने बाटो नै बिर्सिए
कसरी टक्राउँला हजुरलाई लोकल कुखुरा र बियर
कमरेड, साबुन पनि आएको छैन गाउँमा
धूलोमाटो र गोबरसँग खेल्ने हाम्रा हातहरू
कोरोनाभन्दा पनि बढी खतरनाक छन्
उभिएर नजिकै कसरी भर्नुला लालसलाम ?
र, कसरी मिलाउँला जोडजोडले हात ?
कमरेड, अझै चुनाव आएको छैन
बिर्सेर पनि नफर्कनुहोला, हाम्रो गाउँतिर !
कमरेड,
चुनावताका भन्नुहुन्थ्यो,
‘गाउँगाउँमा सिंहदरबार आउँछ ।’
म त यहाँ हरबखत मैमत्त भएर हिँडिरहेका
सिंह र साँढेहरू मात्रै देख्छु
इन्टरनेटकै गति नाघेर फैलेथ्यो
तपाईंको फ्री वाइफाइको भाषण
यदि त्यस्तो हुन्थ्यो हो त
यो सङ्कटको समयमा म कसरी हेर्दाे हुँ ?
साउदी र कतारमा
भोकले तड्पिरहेका दाजु र भाइको अनुहार ।
कमरेड, अझै चुनाव आएको छैन
बिर्सेर पनि नफर्कनुहोला हाम्रो गाउँतिर !
कमरेड,
तपाईं आउनु पनि हामीलाई
आँधी आए जस्तो हुन्छ
कमरेड, तपाईं आउनु पनि हामीलाई
अर्काे महामारी आए जस्तो हुन्छ
कमरेड, भो आएको छैन चुनाव
आएको त केवल सङ्कट न हो गाउँमा
बिर्सेर पनि नफर्कनुहोला, हाम्रो गाउँतिर !
०००