शनिबारीय साहित्य ः संस्मरण
*** ***
२०८० पुस २७ गतेको मध्यान्न हुँदै गरेको एक रात । काठमाडौंका लागि नेपालगञ्जबाट हिडेको नमस्ते यातायात प्रा. लि.को यात्रुबाहक बस । बसमा सवार यात्रुहरू कोही मस्त निद्रामा थिए त केही युवाहरू मोवाइलमा विभिन्न श्रब्यदृश्य हेर्दै र च्याट गर्दै थिए । यात्रुका हातमा बाँधिएका नाडिघडीले करिब रातको साढे दश बजेको जनाउ दिँदै थियो । दाङको लमहीदेखि नै राजमार्गमा चल्नुपर्ने गति भन्दा बढी तीव्र गतिमा हुइकिएको बस भालुबाङको चेकपोष्टमा पनि नरोकी अगाडि बढ्यो । राप्तीको पुलमा प्रवेश गरेको केही सेकेण्डमा बसले आफ्नो लेन छोडेर विपरीत लेनतर्फ हुइकियो । लगत्तै पुलको दायाँतर्फको रेलिङ भत्काउँदै राप्ती नदीबाट लगिएको पर्गन्ना कुलोको पानीमा उत्तानो परेर खस्यो । बसमा चालक सहित ३६ यात्रु सवार थिए । अगाडि क्याविनमा बसेका एक यात्रु बस खस्नु पूर्व नै पुलमा हामफालेर बचे । सम्भवत: चालक र सहचालक पनि बस खस्नु पहिला नै हामफालेर बचेको हुन सक्छ । दूर्घनापश्चात यात्रुहरू मध्य सात जनाको घटना स्थलमै मृत्यु भयो भने अन्य पाँच जना उपचारमा लैजाँदै गर्दा र अस्पतालमा पुर्याएपछि मृत्यु हुन पुग्यो । यसरी १२ जनाले चालकको लापरबाहीको शिकार बनेर मृत्यु रोज्नुपर्ने भयो भने अन्य यात्रु कोही सामान्य र कोही गम्भीर घाइते भएर जीवनभर तड्पिएर बाँच्नुपर्ने अवस्था सिर्जना भयो ।
सोही बसमा नेपाली समाजको निम्ति कम्तिमा अझै २० वर्ष बाँच्नुपर्ने निकै नै महत्वपूर्ण व्यक्तित्व पनि सवार थिए । क्रान्तिकारी धाराको नेपाली कम्युनिस्ट आन्दोलनका निम्ति वैचारिक स्कूलिङका प्रशिक्षकलाई उक्त बस दुर्घटनाले सदाका लागि हामीबाट चुडेर लग्यो । यस भौतिक जीवनबाट सदाका लागि विदा भएका व्यक्तित्व हुनुहुन्थ्यो हाम्रा प्रिय सहयोद्धा कमरेड ताराकान्त पाण्डे्य । प्रगतिवादी सिद्धान्तका प्रखर वक्ता, सादा जीवन र उच्च विचारका धनी, आपूmले बुझेको माक्र्सवादी ज्ञान चेतनालाई ब्यवहारमै लागू गर्नुपर्छ भन्ने र लागू गर्ने चरित्रका सरल व्यक्तित्व ताराकान्त पाण्ड्ेयको शरीर बससँगै राप्ती नदीमा खस्यो । कहिल्यै नब्युँझिने गरी आँखा चिम्लिएर हामीलाई बाँकी कार्यभार सुम्पिएर जानुभयो ।
पुस २८ गतेको बिहान । म भर्खरै उठेर आफ्नो नित्यकर्म सकेर किचेनमा गएको थिएँ । सादा पानी पिइसकेपछि चिया पकाउने तयारी गर्दै थिएँ । एक्कासी मेरो मोवाइलको घण्टी बज्यो । मैले फोन हातमा लिँदा जगदीशचन्द्रको कल रहेछ । यति विहानै किन फोन गर्नुभयो त भन्ने कुतुहलताका बिच फोन उठाएँ । फोन अप्रिय खबरका लागि आएको रहेछ । जगदीशजीले पहिला त नर्मल आवाजमै हालखबर सोध्नुभयो । त्यसपछि त उहाँ रुन पो थाल्नुभयो । मैले ‘किन सर के भयो ? कहाँ को के भयो’ भन्दै प्रश्न गरेँ । मलाई कोही महत्वपूर्ण मानिसको डेथ भएको हो भन्ने त लाग्यो नै तर कस्को पो हो भन्ने कुतुहलता तीव्र भयो । मैले उहाँलाई सम्हालिन आग्रह गर्दै भएको के हो भन्नुस् भन्दै पुन: सोधेँ । उहाँले ‘हिजो राती भालुबाङमा भएको बस दूर्घटनामा परेर ताराजीको डेथ भयो’ भन्नुभयो । खबरले मेरो शरीर पुरै लथ्य्राकलुथ्रुक भयो । टाउको रिङाएझैँ भयो । म थुचुक्कै कुर्सीमा बसेँ । त्यतिबेला मेरो जीवनसाथी देवी पनि किचेनमा आइसकेकी थिइन् । उनले पनि के भयो र भन्दै सोधिन् । मैले उनलाई ‘सबै बरबाद भयो, दाइने हातै भाँचियो, सांस्कृतिक आन्दोलनका निम्त निकै ठूलो क्षति भयो’ भनेँ । उनले को के भयो र भन्दै सोधिन् । हिजो राती भालुबाङको बस दूर्घटनामा हाम्रो ताराजीको डेथ भएछ भनेर जवाफ दिएँ । उनले ‘थैइयय् च्वच्वच्व ठूलो क्षेति भयो’ भनिन् । मलाई जनयुद्धका बेला आफ्नै आँखा अगाडि रोल्पाको मनिमारेमा सुनिलजी हवाई आक्रमणमा परी एलएमजीको गोली लागेर ढलेको जस्तै महसुस् भयो । आँखा वरिपरि ताराजीसँग विताएका दिनहरू एकपछि अर्को गर्दै पत्र पत्र खुल्दै गए ।
मैले तत्क्षेण ईश्वरीजीलाई फोन गरेँ । पहिलो घण्टी पुरै गयो तर फोन उठेन । म छटपटिँदै फेरी मोवाइलको बटन थिचेँ । ईश्वरीजीले फोन उठाउनुभयो । मैले तुरुन्तै मेरो घरमा आउनुस् लमही जानुपर्ने भयो भन्दै आग्रह गरेँ । उँहाले ‘आज त म भ्याउँदिन भोली जाउँला, आज मेरा जरुरी मिटिङहरू छन्’ भन्नुभयो । मैले त्यो भन्दा पनि जरुरी काम पर्यो तुरुन्त यहाँ आउनुस् यतै कुरा गरौँला भनेर फोन राखेँ र कपडा लगाउनतिर लागेँ । केही समयपछि ईश्वरीजी मेरो घरमा आउनुभयो । त्यसपछि रोटी चिया खाएर विलम्ब नगरी हामी ईश्वरीजीको बाइकमा लमहीका लागि हुइकियौँ ।
लमही पुग्दा स्थानीय मानिसको जमघट भइसकेको थियो । बस दूर्घटनामा परी मृत्यु भएका बाह«जनाको शव लमही अस्पतालको शवगृयको सानो कोठामा खचाखच पारेर सुताइएको थियो । प्रहरी पोष्टमार्टमका लागि मुचुल्का उठाउँदै गरेका प्रहरीहरूले ताराकान्त पाण्ड्यको आफन्त को हुनुहुन्छ भनेर सोधेपछि म र ईश्वरीजी ‘हामी हौँ’ भन्दै अगाडि गयौँ । चाङ लगाइएको मुचुल्का पानाहरूमा हामीले शीरपुछार सही गर्यौँ । त्यसपछि लास चिन्नुहोस् भनेपछि मैले ऊ त्यही हो भन्दै ताराजीको शवलाई सङ्केत गरेँ । त्यसपछिका थुप्रै प्रकृयाहरू पूरा गरेपछि ईश्वरीजीले प्रहरीमा जाहेरी दिन जानुभयो भने मैले पोष्टमार्टमका प्रकृयाहरूमा सामेल भएँ । अन्त्यमा दिउँसो १:३ण् बजे प्रहरीले दाहसंस्कार गर्ने अनुमति सहितको पत्र दिएर शव हामीलाई बुझायो । पत्रमा सही गरेर शव बुझिलियौँ । हाम्रो पार्टीका दाङ ज्ल्लिाका नेतृत्व सहितका धेरै कमरेडहरू उपस्थित हुनुभएको थियो । ताराजीका ससुराली तर्फका आफन्त, घरपरिवार सहित माओवादी केन्द्रका स्थानीय साथीहरू, साहित्यकारहरू, विभिन्न राजनीतिक पार्टीका साथीहरू तथा ब्यापारीहरूका बिचमा हामीले ताराजीलाई श्रद्धाञ्जली दियौँ र एक मिनेट मौन धारण गर्यौँ । मैले सङ्क्षिप्तमा ताराजीको परिचय, व्यक्तित्व र कृतित्व सहित उहाँको राजनीतिक सङ्लग्नताका बारेमा परिचय दिएँ । माओवादी केन्द्रबाट निर्वाचित लमही ५ का वार्डाध्यक्ष सागरजीले शव बाहनको व्यवस्था मिलाइदिनुभयो अनि हामी ताराजीको शव लिएर काठमाडौंका लागि लमहीबाट अगाडि बढ्यौँ । २९ गते बिहान त्रि.वि. शिक्षण अस्पतालको शवगृहमा ल्याएर राख्यौँ ।
ताराजीको एक मात्र सन्तान छोरी तितिक्षा पाण्ड्ेय अमेरिका थिइन् । माघ १ गते बेलुका ८ बजे छोरी र ज्वाइँ घरमा आइपुगे । अर्को दिन २ गते दिउँसो इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङ्गणमा ताराजीको पार्थिव शरीर राखेर अन्तिम श्रद्धाञ्जली दियौँ । त्यसैदिन पशुपतिको विद्युतीय शवदाहमा लगेर ताराजीलाई सदाका लागि विदा गर्दै खरानीमा परिणत गरेर हामी आआफ्ना निवासतिर फर्कियौँ । यसरी हामीबाट सदासदाका लागि पुन: भेट नहुने गरी ताराकान्त पाण्ड्ेयलाई विदाइ गरियो ।
ताराजी नेपालको क्रान्तिकारी माक्र्सवादी सांस्कृतिक आन्दोलन र समालोचना क्षेत्रका एक खम्बा नै हुनुहुन्थ्यो । साम्राज्यवादी थिङ्क ट्याङ्कहरूबाट माक्र्सवादलाई उत्तरवर्ती अवधारणा अन्तरगत व्याख्या गरेर माक्र्सवादको सारभूत कुरालाई विभ्रमित गर्ने प्रवृत्तिको खरो आलोचक हुनुहुन्थ्यो । उत्तरसंरचनावादी अवधारणाको सही रूपमा माक्र्सवादी कोणबाट चिरफार गर्ने अपवादका चिन्तकहरू मध्यका एक अब्बल चिन्तक हुनुहुन्थ्यो । समाजवादी यथार्थवादी साहित्य लेखनका बारेमा निकै स्पष्ट, वोधगम्य, लालित्यमय भाषामा प्रशिक्षित गर्ने अब्बल प्रशिक्षक हुनुहुन्थ्यो । क्रान्तिकारी माक्र्सवादी विचारलाई कलामा कसरी उतार्न सकिन्छ भनेर सरल र सुविचारित ढङ्गबाट प्रष्ट्याउन सक्ने सामथ्र्य नै उहाँको महत्वपूर्ण वैशिष्ट्य थियो । विचार र ब्यवहारको तादात्म्यता मिलाउने तथा आपूmले बुझेको भौतिकवादी ज्ञान सिद्धान्तलाई ब्यवहारमा लागू गर्ने एक इमान्दार भौतिकवादी हुनुहुन्थ्यो । कथनी र करणीमा उहाँमा कहिल्यै द्वीविधा रहेन । सबैसँग समान व्यवहार गर्ने, राजनीतिक क्षेत्रमा पद प्रतिष्ठाको भोक नराख्ने, निकै मृदुल भाषामा सम्वाद गर्ने उहाँको चारित्रिक विशेषता थियो ।
२०४८ सालमा प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन र तात्कालीन अखिल नेपाल जनसांस्कृतिक सङ्घको प्रथम भेला काठमाडौंमा थियो । म दुवै सङ्गठनको दा१बाट प्रतिनिधित्व गरेर काठमाडौं आएको थिएँ । ताराजीलाई त्यही सन्दर्भमा मैले पहिलोपटक देखेको थिएँ र हामीले परिचय आदानप्रदान गरेका थियौँ । हाम्रो पहिलो भेट क्षेत्रपाटी ढल्कोमा भएको थियो । दाङबाट प्रलेसमा तात्कालीन मशाल समुहबाट म र अमर गिरी, मसालबाट यज्ञबहादुर डाँगी तथा मालेबाट पद्मप्रसाद शर्मा गरी चारजना प्रतिनिधि भएर आएका थियौँ । प्रलेसको सम्मेलनबाट ताराजी केन्द्रीय कोषाध्यक्ष, इच्छुकजी पार्षद र अमर गिरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । हाम्रो तर्फबाट अरु को को चुनिनुभयो मैले त्यति मेसो पाइन यी तीनजना पात्रलाई मैले नजिकबाट चिनेको हुनाले त्यति मात्रै याद गरेको थिएँ । त्यसपछि लगत्तै किर्तिपुरको अडिटोरियम हलमा जनसांस्कृतिक सङ्घको प्रथम भेला भएको थियो । सो भेलामा मैले दाङको जिल्ला अध्यक्षका रूपमा रिपोर्टिङ गरेको थिएँ । त्यस भेलाले इच्छुकलाई अध्यक्ष चुनेको थियो भने ताराजी सचिवमा हो या सदस्यमा चुनिनु भएको थियो । अमर गिरी केन्द्रीय सदस्यमा चुनिनु भएको थियो । त्यसपछिका धेरै कार्यक्रमहरूमा ताराजीलाई सुन्ने र बुभ्mने अवसर पाएको थिएँ । २०५४ सालसम्म ताराजीसँग काठमाडौंका कार्यक्रम र जनादेशका कार्यालयमा भेट भइरहन्थ्यो । त्यसपछि त म पूर्णरूपले जिल्लामै भूमिगत भएर सङ्गठनको मुख्य जिम्मेवारीमा भएकाले युद्धकाल भरी ताराजीसँग भौतिक रूपमा भेट हुने अवसर मिलेन । परन्तु कलम, जनादेश आदि पत्रिकामा श्रीकान्त भण्डारीका रूपमा उहाँलाई थुप्रै पढियो ।
जब जनयुद्धलाई मुख्य नेतृत्व पङ्क्तिबाट कथित शान्ति प्रकृयामा अबतरण गराइयो तव जनसांस्कृतिक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा हामी पुन: किर्तिपुरको अडिटोरियम हलमा २०६३ भदौमा भेट भयौँ । उक्त सम्मेलनबाट हामी एउटै कमिटीमा चुनियौँ । यसबेला म कोषध्यक्षमा चुनिएँ भने ताराजी केन्द्रीय सदस्यमा रहनुभयो । त्यसपछि त हामी सांस्कृतिक साहित्यिक आन्दोलन, कलमको सम्पादन आदिमा सहकार्य नजिकबाट गर्ने अवसर प्राप्त भयो । इच्छुक सांस्कृतिक प्रतिष्ठान निर्माणमा ताराजीहरूले अग्रणी भूमिका निभाउनुभयो भने म २०६६ सालबाट मात्रै उक्त प्रतिष्ठानको कार्यसमितिमा जोडिएँ । त्यसपछि प्रतिष्ठानको भवन बनाउने, सांस्कृतिक साहित्यिक आन्दोलनहरूमा कहिले प्रतिष्ठान त कहिले जनसांस्कृतिक महासङ्घ र कहिले प्रलेसमा निकै नजिकबाट हामी सहकार्यमा जोडियौँ । पार्टी र जनवर्गीय सङ्गठनहरूमा म २०६३ पछि सँधै नेतृत्वमा रहेता पनि त्यो मेरा निम्ति प्राविधिक कुरा मात्रै थियो । मैले कहिल्यै पनि ताराजीलाई मेरो कार्यकर्ताका रूपमा लिइन र त्यस्तो महसुस नै भएन । मैले सदैव उहाँलाई आफ्नो नेताकै रूपमा लिएँ । वैचारिक, सैद्धान्तिक, सङ्गठनमा आवद्धता र उमेर तथा शैक्षिक योग्यताका हिसावले उहाँ म भन्दा धेरै नै सिनियर र परिपाक नेता हुनुहुन्थ्यो । उहाँसँग कार्यक्रमहरूमा जाँदा वा कार्यक्रम निमार्ण गरेर सञ्चालन गर्दा मलाई निकै ढुक्कताको महसुस हुन्थ्यो । हरेक कार्यक्रमहरूमा उहाँको उपस्थिति गर्विलो रहन्थ्यो । प्रतिष्ठानको सदस्यसचिव वा अध्यक्ष हुँदा पनि उहाँको सल्लाह लिएर नै मैले कार्यक्रम चलाउने गर्थेँ । उहाँले दिएको सुझाव सल्लाह अकाट्य हुन्थे । यस्ता अनेकौ दृष्टान्तहरू छन् उहाँसँग गरिएका सहकार्यका कार्यक्रमहरू ।
मैले प्रतिष्ठानको अध्यक्ष छोड्ने निर्णय गर्दा उहाँले त्यसो नगर्नुस् भन्नुभएको थियो । मैले अव तपाइँ बन्नुपर्छ भन्दा उहाँले मान्नु भएकै थिएन । ‘म सदस्यमै रहेर पनि प्रतिष्ठानको काम गरेकै छु । तपाइँ योजना बनाएर परिचालन गर्नुस् म जस्तो पनि सहयोग गर्छु तर तपाइँ अध्यक्ष छोड्ने कुरा नगर्नुस्’ भनेर उहाँकै घरमा भएको हाम्रो भेटमा भन्नुभएको थियो । मैले मेरा पनि आफ्नै समस्याहरू छन्, म पार्टी सङ्गठनमा जहाँ जे जिम्मा पनि पूरा गर्न सक्छु तर यो एकेडेमिक संस्थामा तपाइँहरूले नै नेतृत्व गर्ने हो भनेर मैले निकै सम्झाएपछि मात्रै उहाँ इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष बन्न तयार हुनुभएको थियो । उहाँकै घरमा बसेर शीलाजी सहितलाई सँगै राखेर मैले नै निकै कन्भेन्स गरेर बन्न प्रेरित गरेको घटना ताजै भएर आएको छ । गएको मङ्सिरमा जनसांस्कृतिक महासङ्घको एकता भेलाबाट म संयोजकमा चुनिएपछि पनि उहाँले अब मैले यही वर्षको कार्यकाल मात्रै प्रतिष्ठानको अध्यक्ष रहने हो त्यसपछि तपाइँ नै दोहोरिनु पर्छ है हिरामणिजी भन्नु भएको थियो । मैले त्यो कुरा त्यतिबेला नै सोचौँला भनेर जवाफ फर्काएको थिएँ । त्यसपछि हामी प्रतिष्ठान र लेखक सङ्घको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा लमजुङ गएका थियौँ । त्यतिबेला पनि उहाँको जोड मलाई काठमाडौं आउने र प्रतिष्ठान तथा महासङ्घ दुबैको नेतृत्व गर्नुपर्छ है भन्ने थियो । उहाँमा वौद्धिक, वैचारिक रूपले म श्रेष्ठ हुँ भन्ने घमण्ड कहिल्यै पलाएको मैले महसुुुस नै गरिन । वास्तवमा उहाँ माक्र्सवादी सौन्दर्य चिन्तन र समालोचनाका क्षेत्रमा सर्वश्रेष्ठ जस्तै हुनुहुन्थ्यो । अझ साहित्य लेखन र विशेषत: कविता लेखनका निम्ति सैद्धान्तिक प्रशिक्षकका रूपमा त उहाँ विर्लाकोटीमै पर्नुहुन्थ्यो । अब त्यो पूर्ती गर्न निकै कठिन छ । समालोचना लेखनका क्षेत्रमा त उहाँको चार दशक लामो साधना थियो ।
आज उहाँको अनुपस्थिति मेरा लागि आफ्नो दाहिने हात नै काटिएर अपाङ्गता भएको जस्तो महसुस भएको छ । यो लेख्दै गर्दा पनि किन हो मेरो मनले स्वीकार्नै सकेको छैन ताराजी अव हामी वीच हुनुहुन्न भनेर । मेरै सनाखतमा पोष्टमार्टम गरेर आएको छु । उहाँको पार्थिव शरीरलाई शव बाहनमा मेरै यी दुई हातले उचालेर राखेको छु र काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उचालेर राखेको छु । यिनै हातले माघ २ गते शिक्षण अस्पतालबाट शव बाहनमा हालेर प्रतिष्ठिानमा ल्याएर अन्तिम श्रद्धाञ्ली दिएका छन् । यिनै हातले फेरी उचालेर बाहनमा राखेर पशुपति घाटमा पुर्याएर अन्तिममा शब जलाउने विद्युतीय भट्टी भित्र पठाएर आगोको लप्काले जलाएको देखिएको छ । तर पनि यो लेख्दै गर्दा ताराजीको मोवाइलमा फोन लगाएर कुरा गरुँ गरुँ झैँ लाग्छ । ‘ताराजी म त दाङ फर्कन थालेँ है’ भनेर जानकारी गराउँ कि जस्तो लाग्छ । मलाई आफ्नै बुबा आमाको मृत्युले यति दु:खित तुल्याएको थिएन । जति ताराजीकोले बनाएको छ । किन मेरा बुबाआमा त दीर्घ रोगले गलाएर, परिपक्व उमेरमा भएको मृत्यु थियो । त्यो प्राणि जगतले व्यहोर्नुपर्ने अनिवार्य मृत्यु थियो । मेरा बुबाआमाले त त्यस यता बचेकै भएपनि मलाई अविभावकत्व दिनु बाहेक नेपाली समाजलाई कुनै योगदान दिन सक्ने अवस्थामा हुनुहुन्थेन । त्यसैले पनि उहाँहरूको मृत्युलाई मैले स्वाभाविक रूपमा लिएर पचाएको छु । परन्तु तारा जी अझै कम्तिमा २० वर्ष सक्रिय भएर नेपाली क्रान्तिलाई योगदान दिन सक्नुहुन्थ्यो । यस्ता मुर्धन्य व्यक्तित्वलाई अल विदा भनेर यी शब्द लेख्न बस्दा पनि हात काँपीरहेका छन् र हृदय धड्कीरहेको छ । अव शोकमग्न भइरहने भन्दा पनि त्यसलाई शक्तिमा रूपान्तरण गर्न र तपाइँले छोडेको अधुरो कार्य पूरा गर्न सङ्कल्प गर्नु र आफ्नो अध्ययन लेखनलाई कडा मिहिनेतका साथ अगाडि बढ्नुको विकल्प रहेन । म सकेसम्म आफ्नो क्षमताको विकास गर्ने सङ्कल्प गर्छु । हस् त अल विदा ताराजी ।
६ माघ २०८०, काेटेश्वर