काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि निरन्तर रुपमा सडक संघर्ष गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले माघ १६ देखि चैत्र २४ सम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । माघ ३ गते बसेको पार्टीको संघर्ष परिचालन समितिको बैठकले माघ १६ देखि चैत्र २४ सम्मका लागि संघर्षको कार्यक्रम निर्धारण गरेको पार्टीका केन्द्रीय कार्यालय सचिव कमरेड बसन्तले जानकारी दिनुभएको छ ।
उहाँले दिएको जानकारी अनुसार माघ १६ देखि फागुन २१ सम्म केन्द्रीय संघर्षका कार्यक्रम अन्तरगत राजनीतिक प्रचारात्मक एवम् संघर्षका कार्यक्रमहरु निर्णय गरिएको छ । बैठकले संघीय राजधानी काठमाण्डौ उपत्यकामा– राष्ट्रिय गौरव भनिएका ठुला आयोजनाहरुमा भएका भ्रष्टाचारका विरुद्ध प्रदर्शन र विरोध गर्ने, नेपाल वायुशेवा निगम ल्ब्ऋ मा भएको भ्रष्टाचारको विषयलाई उठाउने र प्रदर्शन एवम विरोध गर्ने, एनसेल ल्ऋभिि मा ताला लगाउने, सहकारी संस्थाहरुको लुटपाट विरुद्ध सहकारी केन्द्रीय बोर्डमा प्रदर्शन गर्ने, बैदेशिक रोजगारीमा जाने मजदुरमाथि भएको ठगी विरुद्ध वैदेशिक रोजगार कार्यलयमा प्रदर्शन र विरोध गर्ने र आगामी माघ १५ गते प्यालेस्ताइनमाथि भएको इजरायली आक्रमणको विरोधमा प्रदर्शन गर्ने लगायतका विषयलाई लिएर संघर्षका कार्यक्रम गर्ने तय गरिएको छ ।
त्यसैगरी प्रदेश र जिल्लाहरुले आ–आफ्नो प्रदेश र जिल्लाको सापेक्षतामा कार्यक्रम तालिका बनाई केन्द्रीय कार्यक्रमलाई समेत मद्दत पुग्ने माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्ने, फागुन १ गते जनयुद्ध दिवश मनाउने, फागुन २ देखि १३ सम्म जनयुद्धकै सन्दर्भमा विभित्र रचनात्मक कार्यक्रम गरी कार्यकर्ता तथा जनता परिचालन गर्ने– गोष्ठी, सभा, चियापान, सरसफाई आदि कार्यक्रमहरु गर्ने, फागुन १४ देखि २१ सम्म शहिद सप्ताह कार्यक्रम मनाउने– शहिद परिवार, बेपत्ता परिवार, घाइते अपांगहरुसँगको भेटघाट, सम्मान, लगायत विविध कार्यक्रमहरु गर्ने, सबै जिल्ला तथा प्रदेशहरुले चैत्र २४ गते काठमाण्डौ केन्द्रित गर्न “काठमाण्डौ जाआंै” अभियान अन्तरगत सबै जिल्लाहरुमा तालिका बनाई सभाहरु गर्ने निर्णय गरिएको छ ।
यो अभियान अन्तरगत केन्द्रीय कार्यक्रमको रुपमा सबै प्रदेशहरुमा जनसभाका कार्यक्रमहरु गर्ने समेत निर्णय गरिएको छ । जस अन्तर्गत प्रदेश ७ मा फागुन २२, प्रदेश ६ मा फागुन २४, प्रदेश ५ मा फागुन २७, प्रदेश ४ मा फागुन ३०, प्रदेश २ मा चैत्र २ र प्रदेश १ मा चैत्र ६ गते जनसभा गर्ने मिति तय गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आगामी पार्टीको महाधिवेशनलाई संघर्षपूर्ण महाधिवेशन बनाउनका लागि काठमाण्डौमा विशाल जनशभाका आयोजना गर्ने तयारी गरेको छ ।