कम्युनिष्ट एकता र देशको बर्तमान अवस्था

कम्युनिष्ट एकता र देशको बर्तमान अवस्था

क्रान्तिकारी माओवादी र नेकपा(बहुमत) का बीचमा भएको पार्टी एकताले नेपालको कम्युनिष्ट राजनीतिमा बिशेष अर्थ राखेको छ । रक्षात्मक अवस्थामा पुगेका नेपालका कम्युनिष्ट पार्टीहरुमा एक प्रकारको रक्तसञ्चार गरेको छ । पछिल्लो समयमा बिभिन्न कम्युनिष्ट समूहहरुका बीचमा एकताको चर्चासँगै केही प्रयास र पहलसमेत हुन थालेका छन् । क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) को एकता बिचारधारात्मक हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अगाडि बढाइएको समाजवादी मोर्चा बनाउने अभियान गैह्रसैद्धान्तिक र अस्पष्ट रहेको छ । जसमा नयाँ एमालेकारुपमा रहेको एकीकृत समाजवादी, जसपा र नेसपालगायतका गैह्र कम्युनिष्ट पार्टीहरुलाई बढी प्रमुखता दिएको देखिएको छ । पछिल्लो सायमा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा पनि क्रमशः माओवादी केन्द्रको संशोधनवादी बाटोमा अगाडि बढ्न खोजेको देखिन्छ । सो समूहसँग पछिल्लो समयमा एकीकृत समाजवादी र नेसपाजस्ता पार्टीहरु निकट बन्दैगएका छन् । माओवादी केन्द्रले बिभिन्न कम्युनिष्ट पार्टीभित्र ‘मिशन’ सञ्चालन गरेका कारण एमालेका नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा पुगेको देखिएको छभने वामदेव गौतमहरु राजनीतिबाटै किनारा लाग्ने अवस्थाहरु सिर्जना भएका छन् । अब आएर चन्द समूहलाई पनि फेरी बिभाजनतर्फ अगाडि बढाउन खोजिएको देखिएको छ । पछिल्लो समयमा माओवादी केन्द्रले लिएको कांग्रेसपरस्थ गलत नीतिका कारण नेपालका सबै कम्युनिष्ट समूहहरुलाई जनताका माझमा आफ्नो अलग्गै अस्थित्व देखाउन असहज हुँदैगएको छ । यस्तो अवस्थामा क्रान्तिकारी माओवादी र बहुमतबीचको एकताले केही गति दिन खोजेको देखिएको छ । दुई पार्टीको यही बैशाख १६ गते भएको एकता अधिवेशनले जेजस्ता नीति तथा कार्यक्रमहरु पारित गरेको छ, त्यसले अन्य कम्युनिष्ट पार्टीहरुलाई पनि नयाँ र बिचारधारात्मक ढंगले सोच्न र अगाडि बढ्न बाध्यगराउने देखिएको छ । माओवादी केन्द्रलगायतका केही समूहहरुले समाजवादी मोर्चाहुँदै एकताको प्रयास गरेपनि बिचारधारात्मक अस्पष्टता र पार्टीमा मौलाउँदै गएको अवसरवादको बोलवालाका कारण त्यो गत केही बर्षदेखि संभव भैरहेको छैन । कतिपय संख्यात्मक र संगठनात्मक हिसावले साना कम्युनिष्ट पार्टीका नेताहरुलेभने तत्काल कम्युनिष्ट एकताको सम्भावना नरहेको बताउने गरेको देखिन्छ । त्यसैगरी बिभिन्न कम्युनिष्ट पार्टीबाट कारवाहीमा परेका र असन्तुष्ठहरुले नयाँ पार्टी बनाउने र जनताका माझमा भ्रमको सिर्जनागर्ने क्रमपनि जारी नै छ । जसलेगर्दा नेपालमा कम्युनिष्ट नामका पार्टीहरुको संख्या दर्जनभन्दा बढी रहेको देखिएको छ । एउटा पार्टीले कारवाही गर्नासाथ अर्कोले आफ्नो पार्टीमा संगठितगर्ने प्रचलन रहेका कारण अधिकांश कम्युनिष्ट पार्टीहरुमा पूर्बाग्रह बढ्दैगएको देखिन्छ । यति हुँदाहुँदै पनि अधिकांश नेताहरु कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरणको आवश्यकता रहेकोमाभने सहमत रहेका छन् र बिभिन्न कोणबाट प्रयासहरु पनि भैरहेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी र संशोधनवादीगरी दुईवटा धार स्पष्टरुपमा देखिएका छन् । संशोधनवादीहरुसँग सत्ता र शक्ति रहेको तर क्रान्तिकारीहरुसँग बिचारमात्र रहेकाले क्रान्तिकारीहरुलाई तुलनात्मकरुपमा आफ्नो पार्टी संगठन अगाडि बढाउन केही कठीनाइहरु पनि रहने गरेका छन् । ठूला कम्युनिष्ट पार्टी भनिएका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीहरु एकातिर र बाँकी रहेका साना कम्युनिष्ट पार्टीहरु अर्कोतिर रहेको अवस्था छ । कम्युनिष्ट नामधारी माओवादी केन्द्रलगायतका पार्टीहरु सत्ताकेन्द्रित राजनीति गरिरहेका छन् । जसमा उनीहरुले सत्ताका लागि ‘गठबन्धन’ र ‘पदीय भागबण्डा’ तथा राजनीतिका लागि ‘मोर्चा’ बनाउने नीति लिएको देखिएको छ । क्रान्तिकारीहरुले पनि बिचारमिल्नेसँग मोर्चा, कार्यगत एकता, सहकार्य र पार्टी एकताको नीति लिएको देखिएको छ । तत्काल सवै कम्युनिष्ट पार्टीहरुका बीचमा एकताको सम्भावना छैन तर कुनै न कुनैरुपमा एकता नगरी नहुने अवस्था पनि छ । कम्युनिष्टहरुकै बीचमा बिभिन्न राजनीतिक, बैचारिक र कार्यनीतिक भिन्नताहरु रहेका छन् । जसको समयसापेक्ष हल नगरिकन कुनैपनि किसिमको एकताको संभावना रहँदैन । पछिल्लो समयमा माओवादी केन्द्र केन्द्रित केही समूहहरुको एकता कस्तो हो त्यो प्रष्ट छैन । राष्ट्र र राष्ट्रियता तथा नेपालका बढ्दो वैदेशिक हस्तक्षेपका बिरुद्ध कम्युनिष्ट पार्टीहरुका बीचमा कार्यगत एकता हुनुपर्ने आबश्यकता रहेको छ । तर केही समूहहरुको संलग्नता नेपालमा आबश्यकताभन्दा बढी चासो राख्दैआएका भारत र अमेरिकासँग रहेकाले राष्ट्र र राष्ट्रियताको मामिलामासमेत उनीहरुसँग एकता हुन नसकिरहेको अवस्था छ । कतिपयले त नेपालमा साम्राज्यवादी मुलुकहरुका नेपाल नीतिको कार्यान्वयन गर्ने÷गराउने प्रयास गरिरहेकाले अन्य देशभक्त कम्युनिष्टहरु समेतलाई अप्ठेरो परेको छ । गत मंसिर चारमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन र त्यसपछि भएको उप निर्वाचनमासमेत जनसहभागिता कम देखिएको थियोभने कतिपय कम्युनिष्ट नामधारी समूहले कांग्रेस र जसपाजस्ता दक्षिणपन्थी पार्टीहरुको खुलेयाम प्रचार गरेका कारण कम्युनिष्ट पार्टीहरुको बदनाम भएको छ । त्यसैले पछिल्लो उपनिर्वाचनका कारणले संसदवादी कम्युनिष्टहरुबीचमा समेत फाटोको अवस्था सिर्जना भएको छ । बैचारिक÷सैद्धान्तिकरुपमा स्पष्ट नभएसम्म कम्युनिष्ट एकता टाडाको बिषय हुन्छ । जसकाबारेमा नेताहरु स्पष्ट हुनु जरुरी छ । नेपालका सबै कम्युनिष्टहरुका बीचमा एकतागर्ने वा एउटै कम्युनिष्ट केन्द्र बनाउने कुरा आफैमा काल्पनिक हो । किनकी नेपालका कम्युनिष्ट नामधारी कतिपय समूहहरु कम्युनिष्ट पार्टीका विश्वब्यापि मूल्य, मान्यता र आदर्शभन्दा बाहिर रहेका छन् ।
त्यसैले कम्युनिष्ट नाम धारणगर्नासाथ एकता हुन्छभन्ने कुरा होइन । क्रान्तिकारी कम्युनिष्ट र संसदवादी कम्युनिष्टबीचको भेदलाई बिचारधारात्मक संघर्षका माध्यमबाट हल गरिनुपर्दछ । बेलाबखत बैचारिक÷ सैद्धान्तिक र कार्यनीतिक सवालमा छलफल चलाइनु पर्दछ । एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जसरी करिव अढाई बर्षकै अवधीमा भंग भयो, त्यसले नेपालका कम्युनिष्टहरुका लागि ठूलो सन्देश दिएको छ । स्वार्थका भरमा पार्टी एकता गरिनु हुँदैनभन्ने यो ताजा र ज्वलन्त उदाहारण हो । सो फुटमा बैचारिक भिन्नता, अन्तराष्ट्रिय संलग्नता र अवसरवाद प्रमुख कारण रहेको छ । पछिल्लो गतिविधिले नेपाली कम्युनिष्ट आन्दोलनमा रहेका र सवै कम्युनिष्ट नाम गरेका पार्टीहरु एउटै केन्द्रमा आउने सम्भावना नरहेको स्पष्ट हुन्छ । ०७५ जेठ तीतगतेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहेकाहरुका बीचमा त कार्यगत एकतासमेत हुन सकिरहेको छैनभने अन्य कम्युनिष्टहरुका बीचमा सहजै एकता कसरी हुनसक्छ ? भन्ने गंभिर प्रश्न उठेको छ । गत पुस १० गते एमालेको साथ सहयोगमा प्रधानमन्त्रि हुनुभएका पुष्पकमल दाहालले नेपाली कांग्रेससँग मिलेर एमालेलाईनै सरकारबाट हटाएको बिषय आगामी धेरै लामो समयसम्म अवसरवादको उदाहारणकारुपमा रहनेवाला छ । कम्युनिष्ट पार्टीका नेताबाट पनि यति ठूलो ‘धोखाघडी’ होलाभनेर कसैले पनि सोचेका थिएनन् होला तर आफ्नै अगाडि देखे । यो घटना कम्युनिष्ट नैतिकता बाहिरको कुरा हो ।
माओवादी केन्द्र र एमालेकाबीचमा बैचारिक÷राजनीतिक अन्तर्विरोध नभए पनि चरम स्वार्थ रहेको छ । बैचारिक÷राजनीतिक दृष्टिकोण एउटै भएपनि उनीहरुलाई अवसरवादी प्रबृत्तिलेगर्दा एकै ठाउँमा रहन दिइरहेको छैन । यसअघि पनि उनीहरु स्वार्थकै आधारमा मिलेका थिएभने स्वार्थकै आधारमा फुटेका थिए । ०७७ फागुन २३ को अदालतको एक फैसलालाई दोष दिएर एमाले र माओवादी केन्द्र अलग हुनु एउटा बहानाबाजी मात्र थियो । उनीहरु त्यसअघि नै एक प्रकारले भित्रभित्रै बिभाजित भैसकेका थिए । एमाले र माओवादी केन्द्रकाबीचमा फाटो हुनुमा गुटबन्दीले सबैभन्दा धेरै काम गरेको थियो । पार्टी आफ्नो नीति र कार्यक्रमका आधारमा चल्न नसकेपछि गुटबन्दी जन्मिने र गुटबन्दीले पार्टीलाई बिभाजनमा पु¥याउने त्यो ज्वलन्त उदाहारण रहेको थियो । माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादी चुनावी कम्युनिष्ट भएको कुरा दिनको घाम जतिकै छर्लङ्ग भैसकेको छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले क्रान्तिकारी रहेको भ्रम दिने प्रयास गरिरहेका छन् । हालैको एकता अधिवेशनबाट दुई पार्टीले जसरी बिचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे स्पष्ट गरेका छन्, त्यसैगरी अन्य कम्युनिष्ट पार्टी पनि स्पष्ट हुनु जरुरी छ । क्रान्तिकारी माओवादी र नेकपा(बहुमत) का बीचमा पार्टी एकता भएर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टी एकताको अभियानलाई अझै अगाडि बढाएर लानुपर्ने र क्रान्तिकारी खेमामा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्नुपर्ने आबश्यकता रहेको छ ।