काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला कञ्चन नेतृत्वको नेकपा (बहुमत)बीच एकता अधिवेशन सम्पन्न भएको छ । दुवै पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्पका साथ पार्टी एकता अधिवेशन सम्पन्न गरेका हुन् । पार्टी एकता अधिवेशनबाट पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ राखिएको छ । नवगठित पार्टीको अध्यक्षमा मोहन वैद्य किरण र महासचिवमा धर्मेन्द्र बास्तोला कञ्चन चयन हुनु भएको छ ।
दुई क्रान्तिकारी पार्टीको संयुक्त अधिवेशनले देशमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आम समस्याहरु समाधानका लागि वर्तमान दलाल पुँजीवादमा आधारित संसदीय सत्ता, व्यवस्था र संविधानको समूल अन्त्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । र, त्यसका लागि नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको दिशामा अगाडि बढ्ने संकल्प गरेको छ ।
साम्राज्यवाद र उत्पीडित राष्ट्रका बीचको अन्तरविरोध र दलाल पुँजीवादी राज्यव्यवस्था र शोषित तथा उत्पीडित वर्ग र समुदायबीचको अन्तरविरोधलाई प्रमुख अन्तरविरोधको किटान गर्दै काङ्ग्रेस, राप्रपा, एमाले, माकेलगायत दलाल पुँजीवादी सत्ताका पक्षधर पार्टीलाई प्रतिक्रियावादी वर्गको कित्तामा राखेको छ । सम्पन्न अधिवेशनले कार्यदिशा, कार्यक्रम र कार्ययोजनालाई विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सापेक्षतामा विकसित गर्दै लैजाने संकल्प गर्दै क्रान्तिको कार्यभार पूरा गर्न छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणमा आउन समेत आव्हान गरेको छ ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न आफू सम्पूर्ण रुपमा लागि पर्नेे प्रतिबद्धता व्यक्त गर्दै नवगठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरणले क्रान्ति सम्पन्न गर्ने अभियानमा लामबद्ध हुन सबै क्रान्तिकारीहरूलाई आह्वान गर्नुभयो । अध्यक्ष किरणले भन्नुभयो, “पार्टी एकता हुँदा धेरै खुसी लागेको छ । यो गौरवको क्षण पनि हो । नयाँ पार्टीले देश र जनतालाई क्रान्तिकारी विकल्प दिएको छ । जनताले खोजेको वैकल्पिक नयाँ सत्ता नयाँ पार्टीले दिने छ ।” उहाँले अगाडि भन्नुभयो, “मुक्ति र परिवर्तनका आन्दोलनहरूमा जनताको धेरै रगत बगिसकेको छ । क्रान्तिका अगुवाहरूले धोका दिँदा अन्तिममा देश र जनतालाई पनि धोका भएको छ । जनताको इच्छा र श्रमिक वर्गको आवश्यकता पूरा गर्न निर्णायक क्रान्ति आवश्यक छ र त्यो पूरा गर्न क्रान्तिकारीहरूबीच एकता भएको हो, गरिएको हो ।”
प्रतिक्रियावाद र संशोधनवादसँग निर्णायक लडाइँ लड्न आवश्यक रहेको भन्दै अध्यक्ष किरणले एकता–सङ्घर्ष–रूपान्तरणको विधिबाट अघि बढ्दै क्रान्तिकारीहरूबीच ध्रुवीकरण अभियान जारी रहने र क्रान्तिकारीहरूको काँधमा आएको क्रान्ति पूरा गर्ने ऐतिहासिक जिम्मेवारी बहन गर्ने चुनौतीपूर्ण कार्यभार पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संयुक्त अधिवेशनको अध्यक्षता गर्नुभएका पूर्वक्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य गौरवले जनताले व्यग्रतासाथ प्रतीक्षा गरिरहेको क्रान्तिकारी पार्टीहरूबीच एकता गर्न पाउँदा अत्यन्त हर्ष लागेको भन्दै एकता मात्र पर्याप्त नहुने र क्रान्ति सम्पन्न गर्नु मुख्य कुरा हुने कुरा राख्नुभयो । दुई पार्टीबीचको एकताले क्रान्तिकारी पार्टी, जनसमुदाय र विश्वकम्युनिस्ट आन्दोलनलाई पनि एक किसिमको सफलता प्राप्त भएको भन्दै नेता गौरवले प्रतिक्रियावादी वर्गबीच चलेको ध्रुवीकरणलाई धक्का दिँदै क्रान्तिकारी ध्रुवीकरण तीव्रतामा अघि बढ्ने र क्रान्ति सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
नवगठित पार्टीको प्रवक्तामा चयन हुनुभएका नेता कञ्चनले दुई क्रान्तिकारी पार्टीबीच एकताका लागि ठूलो चक्र पार गरेर देश र जनताले मागेको क्रान्तिकारी सत्ता निर्माण गर्न क्रान्तिकारी पार्टी गठन गरिएको बताउनु भयो । प्रवक्ता कञ्चनले अमेरिकी साम्राज्यवादले नेपालको राजनीतिमै लगानी गरिरहेको, एमसीसी, एसपीपीलगायत राष्ट्रघाती सम्झौता लादिरहेको उदाहरण दिँदै प्रवक्ता कञ्चनले भारतीय साम्राज्यवादले नेपालका प्राकृतिक संसाधन कब्जा गर्न लगानी गरिरहेको र राजनीतिक हस्तक्षेपसमेत बढाइरहेको तर दलाल पुँजीवादी शासकहरू भने निरोले जस्तै बाँसुरी बजाएर बसिरहेको बताउनु भयो । साम्राज्यवादी एजेन्टहरू जनताको वितृष्णाको परिणामस्वरूप रातारात बेलुनमा हावा भरेझैँ नयाँ रूपरङमा देखिएको भन्दै नेता कञ्चनले यी सबै समस्याको एक मात्र विकल्प क्रान्ति सम्पन्न गर्नु रहेको र त्यसका लागि सम्पूर्ण क्रान्तिकारी पार्टी र शक्तिहरू नयाँ क्रान्तिकारी अभियानमा लामबद्ध हुनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले दुई पार्टीले तयार पारेको अन्तरिम राजनीतिक प्रतिवेदन पनि वाचन गर्नुभएको थियो ।
एकता अधिवेशनको सञ्चालन गरेका पूर्व नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले समाजवादी क्रान्तिमा कसरी प्रतिक्रान्ति भयो, किन जित्न सकिएन, नेपाललगायत देशका विजयोन्मुख समाजवादी क्रान्ति किन पूरा हुन सकेनन् भन्ने विषयमा नयाँ पार्टीले गहिरो अनुसन्धान गरी जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति अघि बढाउने बताउनु भयो । माक्र्सवादको मौलिकताको रक्षा÷संरक्षण नगरी क्रान्ति सम्पन्न गर्न नसकिने भन्दै नेता सुदर्शनले लेनिनले रुसमा र माओले चीनमा कसरी माक्र्सवादको विकास र प्रयोग गर्नुभयो भन्ने उदाहरण पनि प्रस्तुत गर्नुभयो । ‘माक्र्सवादलाई जडसूत्रका रूपमा समातेर क्रान्ति सम्पन्न हुँदैन’, नेता सुदर्शनले भन्नुभयो, ‘विकसित परिस्थितिअनुसार माक्र्सवादको विकास गर्नुपर्छ । यो धर्मशास्त्र होइन ।’
अधिवेशनमा तत्कालीन नेकपा (बहुमत) सल्लाहकार समितिका अध्यक्ष असारे काका, नेकपा (क्रान्तिकारी माओवादी)का सल्लाहकार अध्यक्ष कमल चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा तत्कालीन नेकपा (बहुमत) सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ को समेत उपस्थिति रहेको थियो ।
एकता अधिवेशनले अध्यक्ष किरण र प्रवक्ता कञ्चन रहेको १५ सदस्यीय कार्यालय, ८७ सदस्यीय सचिवालय र २६७ सदस्यीय नवाँै महाधिवेशन आयोजक समिति चयन गरेको छ । अधिवेशनमा राजवीरले अन्तरिम विधान, प्रितमले २९ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले यही वैशाख १८ गते मे दिवसका दिन खुलामञ्चमा जनसमुदायका बीच पार्टी एकता घोषणा सभा गर्ने निर्णय पनि गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच भएको यो ऐतिहासिक एकताले आम क्रान्तिकारी पंक्तिमा एउटा उत्साह पैदा गरेको छ ।