नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले पार्टी एकता गरेका छन् । २०८० बैशाख १६ गते दुवै पार्टीले एकता अधिवेशन भव्य रुपमा सम्पन्न गरिसकेका छन् । र, २०८० बैशाख १८ गते सोमबार (आज) सार्वजनिक रुपमा पार्टी एकताको घोषणा सभा सम्पन्न गर्दै छन् ।
नेपालका यी दुई क्रान्तिकारी पार्टीबीच एकता भएर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपालको समग्र कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व गरेको छ । र, यो एकताले आम क्रान्तिकारी पार्टी पंक्ति र जनपंक्तिमा एउटा उत्साह पैदा गरेको छ । यो एकताले क्रमशः आम क्रान्तिकारीहरुको बीचमा एकता र ध्रुवीकरणको लहर पैदा गर्दै जाने छ ।
माक्र्सवाद–लेनिनवाद–माओवादलाई पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दै नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्पका साथ पार्टी एकता गरेका दुवै पार्टीका शीर्ष नेताहरुले ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’लाई समग्र नेपाली राजनीतिमा अग्रगामी र क्रान्तिकारी वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गरिने उद्घोष गरेका छन् । यो पार्टी नै आमूल परिवर्तनका निम्ति भएका विभिन्न कालखण्डका संघर्ष, आन्दोलन र युद्धको खासगरी २८ सालको झापा विद्रोह र २०५२ देखि २०६२ सम्म सञ्चालित दशवर्षे जनयुद्धको सच्चा उत्तराधिकारी हो । यसले पार्टी स्थापनाकालदेखिका समग्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई प्रमुखताका साथ उठाउँदै आएको छ र शनिबार मात्र सम्पन्न दुवै पार्टीको एकता अधिवेशनले पनि यिनै जनपक्षीय मुद्दाहरु उठाउने प्रतिबद्धता जाहेर गरेको छ ।
आजको युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको रुपमा परिभाषित गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नेपाललाई अर्ध सामन्ती, अर्ध मुख्यतः नवऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गरेको छ । अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवाद र उत्पीडत राष्ट्र र देशभित्र सामन्त, दलाल नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्था र नेपाली जनताबीचको अन्तरविरोधलाई प्रधान अन्तरविरोधको विश्लेषण गर्दै विकसित अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको सापेक्षतामा कार्यदिशाको विकास गरेर नयाँ जनवादी क्रान्ति पूरा गर्ने र वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने संश्लेषण गरेको छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भ पारेर पार्टी एकताको घोषणा गर्ने निर्णयबाट पनि स्पष्ट हुन्छ कि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नै आम मजदुर, किसान, भूमिहीन सुकम्बासी लगायत नेपाली सर्वहारावर्गको अग्रदस्ता हो । युद्धको विरोध गर्न र युद्ध भडकिए पछि त्यसलाई क्रान्तिकारी युद्धमा परिणत गर्न सक्षम एकमात्र सामाजिक शक्ति सर्वहारा वर्ग हो । मजदुर दिवसका दिन विश्वका १३ वटा पार्टीले संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा भनिएको छ, “साम्राज्यवादी देशहरूमा यस्तो अन्यायपूर्ण युद्धमा सेना तथा हतियारको तैनाथी र सर्वहारा वर्गलाई सेनामा गरिने भर्ती हुनबाट रोक्न आवश्यक छ । साम्राज्यवादद्वारा उत्पीडित देशहरूमा साम्राज्यवाद विरोधी सङ्घर्ष र जनयुद्धलाई तीव्र बनाउनु पर्छ । विश्वका सर्वहारा तथा जनताको एकता र क्रान्तिकारी सङ्घर्षले साम्राज्यवादी युद्धको तयारीलाई र युद्धलाई नै क्रान्तिकारी गृहयुद्धमा बदल्न, साम्राज्यवादी वर्चस्वलाई नष्ट गर्न र पुँजीको शक्तिलाई सबैतिर परास्त गर्न जनताको जनयुद्धमा परिणत गर्न सक्छ ।”
निरन्तर क्रान्ति, वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व, बलप्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, क्षेत्रीय लगायत समग्र समस्याको वास्तविक समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले क्रान्तिलाई नयाँ ढंगले संगठित गर्दै अगाडि बढ्ने छ । वास्तविक अर्थमा आगामी दिनमा यो पार्टी नै नेपाली राजनीतिको अग्रगामी वैकल्पिक राजनीतिक शक्तिका साथ अगाडि आउने छ । त्यसले नै नेपालमा संघीय जनगणतन्त्र स्थापित गर्ने छ र विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाको दीर्घकालीन समाधान गर्नेछ ।