हाम्रो
श्रम
समय
रगत र पसिना
पुँजीपति वर्गकै हितमा
खर्चेपछि
उन्नत सपना
उतै लहलायो
उतै फैलायो
उतै फूल्यो
उतै फल्यो र
उतै उतैका ढिकुटी
भरिपूर्ण भए
यता
ढिकुटिका के कुरा
पेटै खाली भए
आङ्गै सर्वाङ्ग भए
चुलो बल्नै छाडे
छानो उदाङ्गै भए
भोकले
विभेदले
अन्याय र अत्यचारले
रन्थनिएका मनहरु

भोक
विभेद
अन्याय र अत्यचार
निमिट्यान्न देख्न
नयन ओछ्याइए
झन झन बढ्दै गए
विभेदका खाडलहरु
अभावका छट्पटीहरु
शोषणका बाटाहरु
उत्पीडनका डोवहरु
एक मनले लाग्छ
सिङ्गो शरीर
हुर्हुर्ती जलाउ
हैन हैन
अर्को मनले लाग्छ
चिच्याउ
बेसरी चिच्याउ
दलाल, व्वाँसाहरु बस्ने
दरबार थर्काउने गरि
भन्न मन लाग्छ
ए व्वाँसाहरु हो
कति चुस्चौ गरिबको रगत
कति सोस्छौ गरिबको पसिना
कति लुट्छौ गरिबको जीवन
भो अब नलुट
भो अब नचुस
तिमिहरु
कहिल्यै पनि
अघाउने छैनौ
अब हामीले
आँधीवेरी सृष्टि गर्नुछ
ज्वालामुखी विष्फोट भए झैं
विष्फोट हुनुछ
मशाल बन्नुछ
तिम्रो कालो राज
ध्वस्त अनिवार्य छ
तसर्थ
हाम्रो
श्रम
समय
रगत र जीवन
तिम्रा चिहान खन्दै
सुन्दर राज्य निर्माणमा
खर्च गर्नुछ ।

प्रतिक्रिया

सम्बन्धित खवर