
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चार माओवादी घटकले शनिबार अनामनगरस्थित संवाद डवलीमा अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), माओवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी)ले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हुन् ।
संसदीय व्यवस्थाको अन्त्य गरी नेपालमा नयाँ जनवादी राज्य व्यवस्था स्थापनाका लागि दशवर्षसम्म सञ्चालित तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको जनयुद्ध १२ बुँदे समझदारी र विस्तृत शाान्तिसम्झौता हुँदै शान्तिप्रक्रियामा आएपछि संक्रमणकालीन न्याय निरुपण सत्य निरपण तथा मेलमिलाप आयोगबाट गर्ने सहमति माओवादी र राज्य (सात दल)बीचमा भएको थियो । शान्ति सम्झौताको मर्म, भावनाका विरुद्ध गएर जनयुद्धकालीन मुद्दालाई नियमित अदालतले हेर्न थालेपछि त्यसको विरोधमा अन्तक्र्रिया कार्यक्रम राखिएको नेकपा (क्रानितकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेलले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रम भोलि १२ बजेबाट सुरु हुने पनि उहाँले बताउनु भयो ।




संक्रमणकालीन न्यायका सम्बन्धमा चलिरहेको चर्चाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै चार कम्युनिस्ट पार्टीले यसअघि एक अपिल जारी गर्दै तत्कालीन विद्रोही नेकपा (माओवादी) र नेपाल सरकारबीच विस्तृत शान्तिसम्झौताको उद्देश्य राजतन्त्रको अन्त्य र आर्थिक, सामाजिक रुपान्तरणसहितको जनपक्षीय लोकतन्त्र स्थापना गर्नु भएपनि प्रथम संविधानसभाको विघटनसँगै त्यसमाथि गम्भीर कुठाराघात भएको बताएका छन् ।
जारी संयुक्त अपिलमा जनयुद्धकालीन मुद्दामा कैयौँ साथीहरु अझै जेलमा रहेको अवस्था हुँदाहुँदै राज्यले गतकालमा विभिन्न राजनीतिक पक्षहरुसँग गरेका सहमतिहरुसमेत कार्यान्वायन नगरेको भन्दै सरकारसँग ती सम्पूर्ण सहमतिहरुको कार्यान्वयन गर्न चारपार्टीले सरकारसँग माग गरेका थिए ।