(पञ्झटिका छन्द)
एकान्त वनकी सुन्दर चरी ं
भाँचियो हाँगो भुइमा झरी
एकछिन ता त्यो चिर्विर गरी
बाँच्दथी कहाँ र बिचरी मरी ।१।
झिम्झिम पानी दर्किरहेको
गडङ्ङ बादल गर्जिरहेको
बिचरा बच्चा खोज्थे आमा
हाल न मुखमा केही खाना ।२।
तर को दिन्थ्यो मुखमा चारो
आफै खोज्दा सारै गाह्रो
चिरबिर गर्दै बोलिरहन्थे
आँसु खसाली रोइरहन्थे ।३।
कति दिन टिक्थे भोका प्राणी
केवल हावा भरमा खाली
घाँटी सुकेर खोज्थे पानी
हाय ! दुखियाको जिन्दगानी ।४।
आकाशमाथि पङ्ख उचाली
घुम्दथ्यो खुनी बाज सिकारी
गुँडमा देख्यो बबुरा बच्चा
मनका निर्मल , बलका कच्चा ।५।
तलतल झर्दै खोल्यो नङ्ग्रा
गुँडका बच्चाहरू विचारा
आमा ! आमा !! कराउँदैथे
क्षणमै ज्यान गुमाउँदैथे ।६।
चीँः चीँः गर्दै गरे पुकारा
नमार बरु ए ! देउ सहारा
देख्ने र घुम्ने मन छ हाम्रो
आहा ! आहा !! धरती राम्रो ।७।
बाँचेर विश्व देख्नु छ अच्छा
नमार हामी कलिला बच्चा
आखिर आँफै मरेर जान्छौँ
जतिदिन बाँच्छौँ निश्छल बन्छौँ ।८।
हामी टुहुरा शक्ति विनाका
लाटा सोझा कपट नभाका
न राज्य हाम्रो न फौज हाम्रो
न शस्त्र नङ्ग्रा न राज हाम्रो ।९।
निर्बल प्राणी खोजी खोजी
शासन गर्छौ रोजी रोजी
टुहुरा हाम्रो छैन सहारा
तैपनि गर्छौँ आज पुकारा ।१०।
दुख्ने जहाँ छ छानी छानी
ठुङ्दछ त्यहीँ दया नमानी
कमजोर तनमा तिखा नङ्ग्रा
गाड्दछ दुस्मन शासक नङ्गा ।११।
विचरा बच्चा रोइरहेछन्
निष्ठुरी बाज ठुङ्छ दनादन् ।१२।
एकोहोरो बाजको हमला
टिक्न सकेनन् मरे बचेरा
सहनै गाह्रो बाजको झम्टी
जाग जाग हे वनका पन्छी
आखिर पन्छी राज थियो त्यो
शक्तिकै भरमा टिकिरहेको । १३।
२०७९/११/१४
टोखा, काठमाण्डौ