हत्कडिमा जोल्टिएका हात–एक
आज फाल्गुण १५ गते मेरो लागि यो दिन विशेष लाग्छ । २०५२ सालको आजकै दिन चितवनको भरतपुरमा प्रहरीले पक्राउ ग¥यो । फाल्गुण १० गते हर्मी–६, को वडा अध्यक्ष भिमबहादुर भण्डारीमाथि सामान्य कुटपिट भएछ । हार गुहार लगाएपछि म पनि घटनास्थल पुगेको थिएँ । रातारात अस्पताल लगियो । बिहान घर पुगेर खाना खाएँ र विद्यालय गएँ । दिउँसो जीवनसाथी हतार हतार विद्यालय आइन् । घरमा प्रहरी पुगेछन् । घटनालाई त्यस भेकका एमाले साथीहरूले राजनीतिकरण बुझे । मेरो दाइ नरनाथ, खेमराज, माधव ढकाल, बेद शर्मा पोखरेलहरूलाई गिरफ्तार गरिसकेर मकहाँ पुगेका रहेछन् । त्यस अघि पूर्णकालिक बन्न साथीहरूको आग्रह आइरहेको थियो । मैले तत्काल निर्णय गर्नुपर्ने थियो, उनलाई भनेँ म अलिदिन आउदिन न आत्तिइ बस्नु । यति भनेर हाफ क्या बिको निबेदन लेखेर म निस्किएँ । तर जाने कता ? साथीहरू को कता छन् भुमिगत शैली के हो वा जेल लाइन के हो अन्यौलमा छु । चार दिनसम्म त्यही सेरोफेरो घुमेँ सम्पर्क पाइन्न । १५ गते बिहानै लमजुङ हुँदै चितवन आएँ । साँझ परेकोले भरतपुरमा भतिज दिवाकर मरहट्टाकोमा खाना खाएर उनी र म खड्ग बानियाको कोठामा गयौँ । त्यहाँ राजेन्द्र ढकालसित भेट भयो । राजेन्द्र पनि पूर्णकालिक हुने मानसिकतामा थिए । केही समयपछि एक्कासी प्रहरी त्यहाँ आइपुगे । हामी गिरफ्तार भयौँ । चितवनमा माओवादी गतिविधि खासै नउठेकोले चितवन प्रहरीले खासै दुव्र्यबहार गरेन । सामान्य सोधपुछपछि हामीलाई हिरासतमा राखियो । रातको दुई बजेतिर गोरखाको प्रहरी आएर हामीलाई हत्कडी लगायो । राजेन्द्र र म एउटै हत्कडिमा थियौँ । जीवनमा पहिलोचोटी प्रहरीले हत्कडी लगाएर रातको अँधेरोमा गोरखा पु¥यायो ।
माओवादी जनयुद्ध घनिभुत हुँदो हो त हामी गोरखा पुग्दैन थियौँ । बाटोभरी गोरखा प्रहरीले दुव्र्यबहार गर्दै लगे । हिरासतमा सबै चिनारु साथीहरू थिए । जब बिहान भयो मलाई केरकार शाखामा लगियो र लुगा खोल्न लगाइयो । यतिसम्म कि भित्री वस्त्र पनि जबरजस्त तानियो । मेरा दुबै हात पछाडी लगेर बाँधियो र एउटा गरालोमा अड्काएर माथिको चोकेमा झुण्ड्याइयो । पैतालामा लठ्ठिले हान्दै घटनाबारे सोधपुछ गरियो । कतिसम्म भयो भने घाइते बोकेर अस्पताल जाँदा कुन बेला लुगामा रगतको छिटा परेको रहेछ त्यसैलाई सबुद दसिको रूपमा प्रहरीले लियो । म नाङ्गो जीउ बाँसको गरालोमा झुण्डिएको छु । आक्रोशको आगो बलेको छ तर झुण्ड्याउन छोड्ने होइनन् । बिहान सात बजे लगिएको म दिउँसो बाह« बजेको घण्टी हानेपछि फुकाइएँ हातले लुगा लगाउन भएनन् । एउटा प्रहरीले भित्री लुगा उनिदियो र अरू लुगा पोको पारेर घिसार्दै हिरासत पु¥यायो ।
हत्कडिमा जोल्टिएका हात–दुई
हिरासतको कोठामा घचेटिएपछि म दाइ नरनाथको काखमा घोप्टिन पुगेँ । मेरो अवस्था देखेर सबै साथीहरू एकछिन स्तब्ध भए । बिहानीको खाना खाने समय टरिसकेको थियो । पेटमा भोक थिएन । प्रहरी यातनाको पहिलो अनुभव थियो । साथीहरूले लुगा लगाइदिनु भयो । सिमेन्टको चिसो भुइँको कुनामा म कुचुक्क ढलेँ । शिक्षक सङ्गठनका अध्यक्ष वीरबहादुर पनि त्यही कोठामा थिए । हिरासतमा पिउने पानी थिएन । साथीहरूले प्रहरी मार्फत् पानी मगाउनु भएछ एक मुठी जति पानी पिएर म ढलेँ । सङ्गै समातिएका राजेन्द्र ढकाललाई बिहानै डि एस पि जगत बहादुर बिष्टले आफ्नो क्वाटरमा लगेका थिए । उनलाई तीन बजे तिर हिरासतमा घुचुटेर प्रहरीहरू फर्किए । बेलुका चारबजेदेखि जिउमा ज्वरो बढ्यो । बेलुकाको खाना आयो, आफ्नो हातले खान सकिन । दाइले खुवाइदिनु भयो । खाएको थाल अरू साथीले सफा गर्नु भयो । म सुतेँ । हरेक घण्टा प्रहरीको पालो फेरिने रहेछ । अर्ध निद्रामा परेका थुनुवालाई उठ बस गराउँथे । जो थुनुवा उठेको हुँदैन प्रहरी आएर लात्तिले हान्थ्यो । म उठ्न नसकेकोले प्रत्येक घण्टा लात्ती खाएर रात कटाएँ । भोलिपल्ट बिहान आठ बजेदेखि बयान लिने र यातना दिने क्रम शुरु भयो । हामी सबै आतङ्कित छौँ । कसलाई कतिबेला नाम भनेर बोलाउँछ अन्यौलमा सबै छौँ ।
दोश्रो दिन म बयानमा डाकिइन । फाल्गुण १६ गते तान्द्राङतिरबाट केही साथीहरू गिरफ्तार गरेर ल्याए । त्यो टोलीमा महिला विद्यार्थी थिइन् उनलाई म राम्रोसित चिन्दथेँ । १७ गते सोधपुछको क्रममा ती बहिनीलाई हप्की दप्की गरेर सोधेछन् ‘तँलाई अखिल कसले बनायो’ अत्यासको बेला उनले भनिछिन् मोदनाथ सरले हो । बस, पुलिसलाई के चाहियो मलाई बोलावट आयो । म मुस्किलले भ¥याङ उक्लिएर माथिल्लो कक्षमा पुग्दा ती बहिनी सर्वाङ्ग नाङ्गै कामिरहेकी छिन् । त्यहाँको दृश्य देख्दा र अहिले सम्झँदा मेरा हात कामेका छन् । त्यो समय हामी दुईले पाएको यातना शब्दमा व्यक्त गर्न असहज हुन्छ । एउटी निर्वस्त्र महिलाको अगाडि मलाई उभ्याएर लुगा खोल्न दबाब दिइरहेछन् । जबरजस्त मेरा बाहिरी लुगा तानेपछि भित्री बस्त्र फुकाल्न मैले प्रतिरोध गरेँ । पटक पटक मेरो अर्ध नाङ्गो शरीरमा कटबाँस र रबरको पाइपले हिर्काउँदा पनि मैले बाँकी बस्त्र खोलिन । एउटा जुँगे हवल्दारले मेरो गुप्ताङ्गमा लात्तिले पटक पटक हानेपछि म भित्तामा ठोकिन पुगेछु । कतिबेर म अजाक परेँ होसमा आउँदा मुद्दा फाँटको स इ कागजमा के के लेख्दै थियो । प्रहरी नीरिक्षकको सङ्केत छातिमा टाँसेको वाचस्पती रेग्मिले आजको मर्मत सकियो भनेर उसका प्रहरीलाई आदेश ग¥यो र त्यही अल्के हवल्दारले भ¥याङको टाउकोबाट तल घचेट्यो ।